काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेश प्रसाद खत्रीले खानेपानी र सरसफाइको सुविधाले नेपालीको समग्र आयु बढ्न गएको बताउनुभएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले स्थापनाको ५० बर्ष पूरा गरेको अवसरमा आयोजित स्वर्ण जयन्ती समारोहमा विभागका महानिर्देशक खत्रीले बालमृत्युदरमा कमी आएको, नेपालीको समग्र आयु बढ्न गएको, ग्रामीण परिवेशहरुमा पानी बोक्ने समयको बचत भएको जस्ता उपलब्धी हासिल भएको बताउनुभयो ।
’नेपालको अधिकांश खानेपानीको आधारभूत सेवा पुर्याउन सकेको कारणले नै नेपाल भरि नै जनताको स्वास्थ्य स्थितिमा उल्लेखनीय सुधार भएको, बालमृत्युदरमा कमी आएको, नेपालीको समग्र आयु बढ्न गएको, ग्रामीण परिवेशहरुमा पानी बोक्ने समयको बचत भएको, र जीवन स्तर सहज बनेको, उत्पादन क्षमतामा अभिवृद्धि भएको, महिलाहरुको कार्यबोध कमी भएको, केटाकेटी र बालबालिकाको स्कुल हाजिरीमा अनुकुल सुधार भएको र ग्रामीण र सहरी क्षेत्रहरुमा जीवनयापनको लागि आवश्यक पानीको जोहो गर्न सरल बन्दै गएको जस्ता उपलब्धीहरु हासिल भएका छन्’ महानिर्देशक खत्रीले भन्नुभयो ।
उहाँले नेपाल र नेपालीको समग्र विकासमा खानेपानी तथा सरसफाइ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै खानेपानी र सरसफाइ आयोजनाले रोजगारीको सिर्जना गरेको, स्थानीय व्यवस्थापकीय क्षमताको अभिवृद्धि गर्न सहयोग गरेको र केही मात्रामा भएपनि नेपालभित्रै विभिन्न उद्योगधन्दा र व्यवसायिक क्रियाशीलतामा सहयोग पु¥याएको समेत बताउनुभयो ।
सम्बोधनका क्रममा महानिर्देशक खत्रीले जलस्रोतमा नेपाल धेरै धनी भएपनि भौगोलिक असमान अवस्थिति र मौसमी उतारचढावको कारणले सबैलाई भरपर्दो सेवा उपलब्ध गराउने कार्य चुनौतीपूर्ण रहेको प्रष्ट पार्नुभयो । ‘आर्थिक स्रोतको परिचालन, प्राविधिक र व्यवस्थापकीय क्षमताको अभाव, अव्यवस्थित सहरीकरण, बढ्दो जल प्रदुषण, स्रोतहरु माथिको अधिकारको विवाद, बदलिदो जीवनस्तर अनुकुल बढेको मागको व्यवस्थापन तथा जलवायु परिवर्तनको प्रभाव जस्ता कारणले खानेपानी तथा सरसफाइ प्रवाहको बिषय जटिल र दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ’ उहाँले भन्नुभयो ।
हेर्नुहोस् महानिर्देशक खत्रीको मन्तव्यको पूरा भिडियो :
९४ प्रतिशत जनतामा आधारभूत खानेपानीको पहुँच : उपमहानिर्देशक कँडेल
खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक सूर्यराज कँडेलले हाल ९४ प्रतिशत जनतामा आधारभूत खानेपानीको पहुँच पुगेको बताउनुभयो । स्वर्ण जयन्ती समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै उहाँले विभाग स्थापना हुनु भन्दा अगाडि ७ प्रतिशत जनताहरुलाई खानेपानी एवं नगन्य सरसफाइ सेवा उपलब्ध गराएको विभागले पचासौं स्थापना दिवससम्म आईपुग्दा ९४ प्रतिशत जनतालाई आधारभूत खानेपानी तथा शत प्रतिशत जनतालाई आधारभूत सरसफाइ पुर्याएको बताउनुभयो ।
‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनी नेपालको संविधानको धारा ३५ को उपधारा ४ मा मौलिक हकको रुपमा उल्लेख गरिएको हुँदा अनेकौं चुनौतीको सामना गर्दै यस क्षेत्रको विकासमा थप जागरुकताका साथ निरन्तर रुपमा कार्य गर्दै जानुपर्ने जिम्मेवारी हाम्रो सामु विद्यमान छ’ उहाँले भन्नुभयो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
यस्तै कार्यक्रममा खानेपानी मन्त्रालयका पूर्व सचिव एवं लोक सेवा आयोगका सदस्य माधव बेल्बासे, निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौड्याल, राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङ, खानेपानी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, पूर्व महानिर्देशक रामचन्द्र देवकोटा, पूर्व खानेपानी सचिव दिपेन्द्रनाथ शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व खानेपानी सचिवहरु, खानेपानी तथा ढल व्यवस्थापन विभागका पूर्व महानिर्देशकहरु, पूर्व कर्मचारीहरु, समयमै खानेपानी आयोजना सम्पन्न गर्ने निर्माण कम्पनी, सरसफाइ उपभोक्ता समिति एवं संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलामलाई सम्मान गरिएको थियो ।
नेपालमा खानेपानी र ढल व्यवस्थापन सम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न वि.सं. २०२९ सालमा खानेपानी तथा ढल व्यवस्थापन विभागको स्थापना भएको थियो ।


1069 पटक हेरिएको 

