शौचालयको सुधार गरी धमाधम अपाङ्गतामैत्री बनाईदै, ५० भन्दा बढी शौचालयको सुधार

कपिलवस्तु : कपिलवस्तुमा अपाङ्गता भएकाहरुले प्रयोग गर्ने शौचालयलाई मर्मत गरी अपाङ्गतामैत्री बनाउन सुरु गरिएको छ। कुष्ठरोग तथा हात्तीपाइले रोग प्रभावित र शारीरिक अपाङ्गता भएका ५० भन्दा बढी शौचालय अपाङ्गतामैत्री बनाएको कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापा मगरले जानकारी दिनुभयो ।

थापाका अनुसार अपाङ्गता भएकालाई शौचालय पुग्न र्‍याम र प्रयोगकर्तालाई उठ्न बस्न सहज बनाउन हातले समाउने स्टिलको पाइप राखी मर्मत गरिएको छ । अपाङ्तामैत्री शौचालय नहुँदा अपाङ्गता भएका व्यक्तिहरु शौचालयसम्म पनि पुग्न सक्दैनथे । जसका कारण खुला ठाउँमै दिसापिसाब गर्न बाध्य थिए । अपाङ्ता भएका व्यक्तिहरुको घरमा अपाङ्तामैत्री शौचालय बनेपछि खुला दिसापिसाबबाट मुक्ति मिलेको छ । यसले खुला दिसामुक्त अवस्थाको दिगोपनामा सघाउने र पूर्ण सरसफाइमा बल पुग्ने कार्यकारी निर्देशक मगरले बताउनुभयो ।

एउटा शौचालय मर्मत गर्न १० हजार रुपियाँ खर्च गरिएको उहाँले बताउनुभयो । यस्तै ८ स्वास्थ्य संस्थाको शौचालयलाई पनि अपाङ्तामैत्री बनाइएको छ । अपाङ्गतामैत्री शौचालयमा रुपान्तरण गरेपछि उपचारका लागि आउने अपाङ्गता भएका बिरामीलाई सहज भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताउनुभयो । कपिलवस्तुमा अपाङ्गता भएका नागरिकलाई जीवन यापनमा सहयोगका लागि तीन वर्षदेखि आधारभूत स्वास्थ्य परियोजना सञ्चालनमा छ ।

कालिका स्वावलम्बन सामाजिक केन्द्र र स्थानीय सरकारको संयुक्त लगानीमा अन्य स्वास्थ्य संस्थाका शौचालयलाई समेत अपाङ्तामैत्री बनाईने भएको छ । अपाङ्तामैत्री शौचालय बनाउन शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका र शुद्धोधन गाउँपालिकाले आर्थिक सहयोग गरेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार