भक्तपुर : भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको वडा नं. ९ निकोसेरामा दुई दिने कौसी खेती तालिम सम्पन्न भएको छ । मध्यपुर थिमी नगरपालिकाको कृषि शाखाले तालिमको आयोजना गरेको हो । तालिममा वडा नं. ९ का ३० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । कौसी खेती मार्फत फोहोर व्यवस्थापनमा सघाउ पुर्याउने र खाद्य सुरक्षामा टेवा पुर्याउने हेतुले तालिमको आयोजना गरिएको मध्यपुर थिमी नगरपालिकाको सामुदायिक विकास शाखा अधिकृत कृष्णा कुमारी श्रेष्ठले बताउनुभयो ।
तालिममा कौसी खेतीको महत्व, बेर्ना उत्पादन गर्ने तरिका, घरेलु बिषादी बनाउने र गोडमेल गर्ने तरिका, घरमै उत्पादन हुने फोहोरलाई मल बनाउने तरिका, गड्यौला मल बनाउने तरिका लगायत बिषयलाई प्रयोगात्मक विधिबाट सिकाइएको थियो । तालिम आफूहरुको लागि धेरै उपयोगी भएको तालिमका सहभागी कल्पना खनालले बताउनुभयो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो रिपोर्ट :
तालिमका अर्का सहभागी बिन्दा प्रजापतिले आफूले हालसम्म तालिम बिनै कौसी खेती गरिरहेको र तालिम लिएपछि अझ सुधार गरेर खेती गरिने उहाँले बताउनुभयो । ‘तालिम नलिई खेती गर्नु र तालिम लिएर गर्नुमा धेरै फरक हुनेरहेछ’ उहाँले भन्नुभयो ‘कतिपय त हामीले गल्ती पनि गरिरहेका रहेछौं, तर अब ती गल्तीहरु दोहोरिने छैन ।’
मध्यपुर थिमी नगरपालिकाले कौसी खेतीको प्रबर्द्वनका लागि विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ । यसअघि वातावरण जनस्वास्थ्य संस्था एन्फोको सहयोगमा ५ चरणमा तालिम सञ्चालन गरिसकेको नगरपालिकाले आफ्नै लगानीमा छ्रैटौं समूहलाई तालिम दिएकोे हो । नगरपालिकाको विभिन्न वडामा कौसी खेती सम्बन्धी तालिमको माग धेरै आएकोले तालिमको व्यवस्था गरिएको हो । यो बर्ष मात्र ५ सय जना महिलालाई तालिम दिने नगरपालिकाको योजना रहेको नगरप्रमुख मदन सुन्दर श्रेष्ठले बताउनुभयो ।
कौसी खेतीबाट घरमै उत्पादित फोहोरको व्यवस्थापन हुने, आयआर्जनमा टेवा पुग्ने, उद्यमशीलतको विकास हुने, खाद्य सुरक्षामा टेवा पुग्ने, शारीरिक तन्दुरुस्ती हुने लगायत बहुआयामिक नतिजा देखिन थालेका छन् । मध्यपुर थिमी नगरपालिकाले कौसी खेतीलाई वैकल्पिक खेतीको रुपमा विकास गर्ने र आगामी १० बर्षभित्र असी प्रतिशत घरमा कौसी खेती प्रबर्द्वन गर्ने लक्ष्य लिएको छ ।