डोटी : धार्मिक हिसाबले महत्वपूर्ण मानिएको सेती नदीमा शौचालयको ढल सोझै सोझै मिसाउने र फोहोर फाल्ने कामले दुर्गन्धित बन्न थालेको छ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्लाको प्रमुख व्यापारी केन्द्रबाट निस्किने फोहोर सिधै सेती नदीमा फालिने गरेका कारण बर्षेनी फोहर तथा दुर्गन्धित बन्दै गएको हो। प्रदूषणकै कारण अहिले नदीको पानी पिउन र स्नान गर्न नसकिने अवस्था रहेको स्थानीयबासी बताउँछन्।
‘सदरमुकाम दिपायल, पिपल्ला किनारका बस्तीका सबै फोहर नदीमै जान्छ’ स्थानीयबासी तथा व्यापारी रामबहादुर विष्टले भन्नुभयो । उहाँका अनुसार बजार क्षेत्रको फोहर सेतीमै विसर्जन गरिन्छ। किनारका बस्तीको ढल निकास पनि नदीमै छाडिएको छ। अझ कतिपय ठाउँमा मलमूत्र समेत नदीमै मिसाइएको सहजै देखिन्छ। यसले सेती नदी दिन प्रतिदिन दूषित बन्दै गएको हो। कुहिने नकुहिने सबै प्रकारका फोहोर सेतीमा मिसाउँदा पानी दूषित बन्दै गएको हो।
‘यहाँका व्यापारी तथा स्थानीयबासीले घरको ढल र प्लास्टिकजस्ता फोहोर सधैं नदीमा फाल्ने गरेका कारण दिन प्रतिदिन दुर्गन्धित बन्न थालेको छ’ उहाँले भन्नुभयो ‘नगरपालिकाले ढल निकासको व्यवस्थापन गर्न नसक्दा बजारमा निस्किने फोहर तथा स्थानीयबासीले ढल सिधै नदीमा फाल्ने गरेका छन्, यसले बर्सेनि सेती नदी दुर्गन्धित बन्दै गएको छ।’
बजारबाट निस्किने फोहर तथा ढल नदीमा मिसाउने विषयमा पटक/पटक दिपायल सिलगढी नगरपालिकामा जानकारी गराउँदा समेत व्यवस्थापनका लागि नगरपालिकाले खासै चासो नदेखाएको स्थानीयबासीको आरोप छ। बजारबाट निस्किने फोहर व्यवस्थापनका लागि जमिन नपाएका कारण समस्या हुँदै आएको नगरपालिकाले जनाएको छ।
धार्मिक आस्था बोकेका पवित्र सेती नदीमा फोहर थुप्रिन थालेपछि पानीको शुद्धता हराउँदै क्षारियपना बढ्दै गएको अर्का स्थानीयबासी घनश्याम पाठकले बताउनुभयो।
‘सेती नदी हिमालबाट बगेर आउँछ, यो पवित्र नदी हो, यसैमा फोहर मिसाउँदैछन्, यो क्रम नरोकिए अबका केही वर्षमा यो नदी बागमती नदीजस्तै फोहर हुनेछ।’ उहाँले भन्नुभयो । फोहरको मात्रा बढ्दै जाँदा नदीमा बस्ने जलचर प्राणी हराउँदै जान थालेको उहाँको भनाइ छ। यतिमात्र होइन, गर्मी होस् वा जाडो, यहाँका नागरिक सेती नदीको पानी खानका लागि प्रयोग गर्ने भएकाले फोहर तथा दुर्गन्धित हुन थालेपछि विभिन्न खाले रोगको संक्रमण देखिने अवस्था रहेको शैलेश्वरी अस्पताल दिपायलका निर्देशक आइजङ् कुँवरले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘दिपायलमा पानीको समस्या हुन्छ, यहाँका नागरिकले प्रायः खानका लागि सेती नदीकै पानी प्रयोग गर्छन, त्यही पानी फोहर भए रोगको संक्रमण बढ्ने नै भयो।’ यहाँका स्थानीयबासीले नदीको पानीमा नुहाउने, गाईवस्तुलाई खुवाउने, बालुवा झिक्ने र दाउरा संकलन गर्ने जस्ता काम गर्दै आएका छन्।
यहाँको शिखर नगरपालिकाको बानीडुग्रीसैनदेखि दिपायल सिलगढी नगरपालिकाको नारिदाङसम्मका नागरिकले सेती नदीको पानी प्रयोग गर्दै आएका छन्। खोला तथा नदीको संरक्षण र सरसफाइको जिम्मेवारी स्थानीय तहको भए पनि यहाँका दुई स्थानीय तह दिपायल सिलगढी र शिखर नगरपालिकाले नदीमा फोहर व्यवस्थापनका लागि पहल नचालेकाले यस्तो समस्या उत्पन्न भएको दिपायलका स्थानीयबासी कर्णबहादुर द्वारियाले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘फोहर व्यवस्थापनका लागि नगरपालिकाले कुनै पहल चाल्दैन, बजारको फोहर र घरका ढल जति नदीमा छन्, कसरी सेती नदी सफा र शुद्ध हुन्छ।’ उहाँका अनुसार नदी किनारका कयौं घरको शौचालयको सेप्टिक ट्यांकी अहिले पनि छैनन्। मदिराका बोतल जथाभावी फालिएका देखिन्छन्।
घर तथा बजारबाट निस्किने फोहर नदी तथा खोलामा सिधै फाल्न नपाउने कानुनी व्यवस्था भए पनि त्यसको वास्ता नगरी नदीमा फोहर फाल्ने गरिएकाले समस्या भएको कानुन व्यवसायी शङ्करदीप मडैले बताउनुभयो । ‘नदी तथा खोलामा सिधै फोहर व्यवस्थापन गर्न नपाइने कानुनी व्यवस्था छ तर त्यसको कार्यान्वयन नहुँदा समस्या भएको देखिन्छ।’ उहाँले भन्नुभयो ।
सेती नदीमा फोहरको मात्रा बढ्दै जाँदा भविष्यमा विकराल समस्या आउने वातावरणविज्ञको भनाइ छ। ुघरभित्र र घर बाहिरबाट निस्केको फोहरका कारण महाकाली नदीको पानीमा प्रदुषणको मात्रा बढ्दै गएको छ। यसको असर जलचर तथा मानव स्वास्थ्यमै पर्छ, वातावरणविज्ञ भन्छन्, ‘यसतर्फ सबैले समयमै सोच्नुपर्छ।’