फेदीखोला गाउँपालिकाको २ गाउँका ८० घरमा लिफ्टिङ मार्फत खानेपानी वितरण

🔗
41
Shares

स्याङ्जा : फेदीखोला गाउँपालिकाले पालिकाकै लगानीमा लिफ्टिङको माध्यमबाट एक घर एक धाराको व्यवस्था गरेको छ । फेदीखोला गाउँपालिकाको वडा २ का कुडुले र जिटी टोलका ८० घरधुरीमा घरघरै पानीको धारा पुर्‍र्याएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । मुहानमा १० घनलिटरको ट्याङ्की निर्माण गरी २१२ भर्टिकल हाइटमा साढे दुई इन्चको जीआई पाइपको माध्यमबाट कुडुलेमा पानी लगिएको हो ।

कुडुलेमा ४० घन लिटरको ट्याङकीमा पानी सङ्कलन गरी कुडुलेको ५० घर र जिटी टोलमा १० घन लिटरको ट्याङ्की निर्माण गरी ३० घरधुरीमा मिटर सहितको धारा पुर्‍याएको सुवेदीले बताउनुभयो ।

एक किलोमिटर मुख्य लाइन र ५ हजार ८५२ मिटर सहायक लाइनको माध्यमबाट घर–घरमा पानी पुगेको इन्जिनियर तारानाथ पौडेलले बताउनुभयो । साढे सात हर्ष पावरको बिद्युतीय मोटरबाट कुडुलेमा रहेको मुख्य ट्याङ्कीबाट पानी तानिएको बताउँदै पौडेलले घर घरमा रहेको मिटरमा आउने महसुल ५० प्रतिशत पालिकाले तिर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

गाउँभन्दा तल सर्केटारीमा रहेको मुलबाट लिफ्टिङ गरेर दुई गाउँमा पानी लगेपछि स्थानिय हर्षित भएका छन् । एक बर्षभित्र काम सक्ने गरी २०७७ असोज २८ मा सम्झौता गरेको श्री क्रियटिम एन।एन।ए। जेभी पुतलीबजारले सम्झौता अवधिमै योजना निर्माण सम्पन्न गरेको हो । लिफ्टिङ खानेपानी योजना पालिकाको ८६ लाख ४८ हजार ५२५ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार