काठमाडौ : काठमाडौ उपत्यकामा खपत हुने मः मः, छोइला, सेकुवा, सुकुटी जस्ता मासुजन्य पदार्थका लागि दैनिक ८ सय राँगाभैंसी बध गरिन्छ । यस्तै १५ सय खसीबोका, ७० हजार किलो कुखुरा, २ सय सुँगुर र ७ हजार किलो माछा खपत हुन्छ । राँगाभैंसीको जिउँदो तौलबाट करिब ४०/५० किलो त लादी मात्र निस्किन्छ ।
काठमाडौमा खपत हुने चौपाया तथा पखेरुबाट थपिने दैनिक ५० टन फोहोरमैलाको भार हटाई काठमाडौको नदीनाला स्वच्छ बनाउने हो भने नदी किनारको बधशाला नै हटाउनुपर्ने काठमाडौ महानगरपालिका, वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठको तर्क छ ।
यसै सन्दर्भमा हामीले काठमाडौ उपत्यकामा पशु बधका कारण उत्सर्जन हुने फोहोरमैला र यसको व्यवस्थापनका लागि नगरपालिकाको योजना लगायत बिषयमा वातावरण विभाग प्रमुख श्रेष्ठसँग भिडियो सम्वाद गरेका छौं ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो सम्वाद :
नदी किनारको मासु उद्योग हटाऔं
हालसम्म सबै जनावर तराईबाट ल्याएर उपत्यकाका नदीखोलाको बगरमा वध गरिन्छ । त्यसपछि छरिएर रहेका पसलहरूमा पुर्याइन्छ । राँगाभैंसी ट्रकमा लोड गरेर काठमाडौँ सम्म ल्याउने सार्वजनिक स्थानमा बध गर्ने र खुल्ला रूपमा पसलमा लगेर बेच्ने प्रक्रिया अवैज्ञानिक र स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालको छ ।
वातावरण विभाग प्रमुख श्रेष्ठ पशु बध गर्दा उत्पादित दैनिक ५० टन फोहोरलाई एकत्रित गरेर मेशिनबाट कुखुराको दाना निकाल्न सक्ने भएपनि काठमाडौमा सम्भव नहुने बताउनुहुन्छ । हड्डी मीलबाट दुर्गन्ध आउने र रेन्डरिंग प्लान्टका लागि प्रशस्त पानी चाहिने कारण काठमाडौमा यो काम सम्भव नहुने उहाँको भनाइ छ ।
नदी किनारको मासु उद्योग नहटाई सरकारका धेरै परियोजना अगाडि बढाउनै नसक्ने वातावरण विभाग प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।
काठमाडौमा तयारी मासु मात्र बेचौं
पशु बधका कारण काठमाडौमा थुप्रिने दैनिक ५० टन फोहोरलाई विस्थापन गर्नका लागि तराईमा नै बध गरी तयारी मासु ल्याउनुको अर्को विकल्प नभएको वातावरण विभाग प्रमुख श्रेष्ठको ठम्याई छ । यसो गर्न सके दुवानी मुल्य सस्तो पर्छ भने चिस्याएको स्वस्थ मासु मात्र काठमाडौमा आइपुग्छ । जनावरलाई कम दुःख हुन्छ र उपत्यकाले सभ्यताको परिचय दिन्छ ।
त्यसपछि पूर्वमा सुनसरीदेखि पश्चिममा बर्दिया सम्ममा रहेका आधा दर्जन बधशालाबाट भेटेरेनरी डाक्टरबाट निरिक्षण गरिएको स्वस्थ मासु मात्र काठमाडौ भित्रिनेछ । अहिले भन्दा सस्तो मूल्यमा उच्च गुणस्तर र स्वस्थ मासु पाइनेछ । खोला किनार, बाटो, पसल, टेम्पो आदिमा असरल्ल मासु देखिने छैन ।
वधशालाबाट चिस्यानयुक्त ट्रकमा काठमाडौँ ल्याई पुनः चिस्यान केन्द्रबाटै पसलहरूलाई वितरण गर्न सकिनेछ । उपभोक्ताले स्वस्थ, स्वच्छ र गुणस्तरीय मासुको उपभोग गर्न पाउनेछन् ।


1049 पटक हेरिएको 

