छाउप्रथा विरुद्ध जुरुक्कै जुर्मुराए जुम्लाका महिला, ३० वटा गाउँ छाउगोठमुक्त घोषणा

जुम्ला : जुम्लाको तिला गाउँपालिकाका ३० वटा गाउँ छाउगोठमुक्त घोषणा भएका छन् । तिला गाउँपालिकाको ९ वटा वडा भित्र रहेका ३२ वटा गाउँ मध्ये ३० वटा गाउँलाई छाउगोठमुक्त घोषणा गरिएको हो । बाँकी रहेको थापागाउँ र लुम्सेरालाई पनि छाउगोठमुक्त घोषणा गरेपछि चालू आर्थिक वर्षभित्र गाउँपालिकालाई नै छाउगोठमुक्त घोषणा गर्ने नगरपालिकाको तयारी छ ।

छुइगोठ मुक्त घोषणा गर्नु अघि गाउँगाउँमा पुगेर धामीझाँक्रीसँग सुझाव संकलन गरिएको थियो । यस्तै स्थानीय अगुवा, महिला बुद्धिजीवी, शिक्षक, शिक्षिका, युवा स्वास्थ्यकर्मी, विद्यार्थीहरुको बीचमा छलफल तथा अन्तरक्रिया चलाएको थियो । तिला गाउँपालिकालाई छाउगोठ मुक्त घोषणा गर्ने तयारी अनुसार तिला गाउँपालिकाको समन्वयमा गैरसरकारी संस्था सर्वोदय नेपालले अभियानलाई तीब्र बनाएको तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले बताउनुभयो । स्वयम महिलाहरु नै अग्रसर भएकोले छाउगोठ मुक्त अभियान सफल भएको उपाध्यक्ष बुढाले बताउनुभयो । उहाँका अनुसार रासा मालापानी, सुडी,पोख्री, रारा लिही, घोडे, जुम्लाकोट, पुरु लगायत गाउँ छाउगोठमुक्त घोषणा भईसकेका छन् ।

जिल्लाकै पहिलो छाउगोठमुक्त गाउँपालिका घोषणा गर्ने तयारी अनुसार महिला, धामीझाँक्री स्वयम् अभियानमा सक्रिय भएकोले सहज भएको उपाध्यक्ष बुढाको भनाइ छ । उपाध्यक्ष बुढाका अनुसार छाउपडी प्रथा महिलाको वृद्धि विकासको बाधक हो । महिला सशक्तीकरण, लैंगिक समानता र विभेद अन्त्यका लागि छाउगोठमुक्त अभियान कोसेढुंगा सावित हुने आशा गरिएको छ ।

तिला गाउँपालिकाका ३० गाउँका ९ सय ५६ घरपरिवारका ३ हजार ५ सय १२ जना महिलाहरु छाउ भएको समयमा घरमै बस्ने गरेको पाइएको छ । सर्वोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमलराज खत्रीले हजारौंको संख्यामा ग्रामीण महिला छाउ भएको बेला घरमै बस्न थालेको बताउनुभयो । उहाँका अनुसार २ हजार २ सय ८२ जना पुरुषले छुइ भएको समयमा घरमै बसाल्ने सहमति गरेका छन् । समाजमा विकृतिका रुपमा जरो गाडेर बसेको छाउपडी प्रथा न्यूनीकरणका लागि छाउगोठमुक्त अभियान थालिएको हो ।

“शिक्षा जनचेताकै कारण आफु माथि भएको अन्याय विरुद्ध वकालत गर्न सकेका थिएनौ । तर सर्वोदय नेपालको शसक्तिकरण र स्थानीय सरकारको समन्वयले छाउप्रथाविरुद्ध बोल्न सक्षम भएका छौं । छाउ भएको समयमा सरसफाइ गरेर सुरक्षित तवरले घरमै बस्न ज्ञान मिलेको छ ।” स्थानीय लछुमा बस्नेतले भन्नुभयो । सरकारले बनाएको छाउपडी निर्देशिका २०६४ लाई आधार बनाएर गाउँमा छुइगोठ मुक्त अभियान चलेको थियो । सर्वोदय नेपालले स्थानीय सरकार सँग समन्वय गरेर जुम्लाको तिला र पातारासी गाउँपालिकामा छाउगोठमुक्त अभियान सञ्चालन गरिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार