काठमाडौ : यत्तिखेर स्वयम्भुको बुद्ध पार्कमा निर्मित स्मार्ट शौचालयको देशभित्र र देशबाहिर पनि निक्कै चर्चा छ । विश्वभरका शौचालयहरुको प्रतिस्पर्धामा टप फाइभमा पर्न सफल उक्त स्मार्ट शौचालय ‘टोइलेट टुरिज्म’ को रुपमा विकास भईसकेको छ । स्वयम्भुको बुद्ध पार्कमा निर्मित स्मार्ट शौचालयलाई आफ्नो क्षेत्रमा पनि अबलम्बन गर्न सकिन्छ कि भनेर अहिले दैनिक जसो अवलोकनका लागि टाढा टाढा देखिका जनप्रतिनिधीहरु समेत आउने गरेका छन् ।
तर विदेशमा समेत ख्याति कमाएको स्मार्ट शौचालय निर्माणको भित्री कथा भने फरक छ । काठमाडौ महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले अडान नलिनु भएको भए विश्व सम्पदा स्वयम्भु क्षेत्रभित्र कुनै हालतमा शौचालय बन्ने थिएन । शौचालय नै नबनेपछि यसको चर्चा त हुनै कुरै भएन ।
काठमाडौमा केही समय अघि भएको कार्यक्रममा महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १५ का अध्यक्ष डंगोलले पुरातत्व विभागले नमाने पनि आफूले आवश्यकताको आधारमा जबरजस्ती शौचालय बनाउन लगाएको बताउनुभयो ।
पुरातत्व विभागले स्मारक संरक्षण ऐन अनुसार त्यहाँ एउटा इटा पनि हाल्न नमिल्ने बताए पनि स्वयम्भुको बुद्ध पार्कमा देशैभरिका आन्तरिक पर्यटक आउने र सार्वजनिक शौचालय नभई नहुने भएकाले आफूले जबरजस्ती बनाउन लगाएको उहाँले बताउनुभयो ।
‘तपाईले हुँदैन भन्नुहुन्छ, म हुन्छ भन्छु, म बनाउँछु । जसरी पनि म बनाउँछु’ शौचालय बनाउने क्रममा पुरातत्व विभागका महानिर्देशक सँग भएको कुराकानी सम्झिदै डंगोलले भन्नुभयो ‘यो आवश्यकता हो भन्दा पनि अलि – अलि भनाभन पनि भयो, पुरातात्विक रुपमा बनाउँछौं, कुनै पनि जंगल मासिदैन त्यो हिसाबले बनाउँछौं भन्दा पनि हुँदैन भन्यो । जबरजस्ती गरेरै बनाईयो ।’
शौचालय निर्माण गरी सञ्चालनमा आएपछि विभागका महानिर्देशक लगायतको टोलीलाई बोलाएर अवलोकन गर्न लगाएको र विभागको टोली समेत सन्तुष्ट भएको उहाँले सुनाउनुभयो । ‘उहाँहरुलाई पनि अस्ति भिजिट गराएको थिएँ । यस्तो भनेको भए त भईहाल्थ्यो नि भन्नुभयो ।’ डंगोलले सुनाउनुभयो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
विरोध आउँला कि भनेर आफैले शिलान्यास गरें
विश्व सम्पदा क्षेत्रभित्र पुरातत्व विभाग सँग स्वीकृति नै नलिई शौचालय बनाउँदा विवाद आउन सक्ने सम्भावनालाई ख्याल राख्दै आफैले शौचालयको शिलान्यास गरेको उहाँले सुनाउनुभयो ।
खासमा काठमाडौं महानगरपालिकाले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनका लागि महानगरपालिकाकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको संयोजकत्वमा २०७५ सालमै ‘अधिकार सम्पन्न स्मार्ट शौचालय निर्माण तथा सञ्चालन समिति’ गठन गरेको थियो ।
उक्त समिति अन्तर्गत वडा नं. १५ का अध्यक्ष डंगोलको संयोजकत्वमा पनि एक कार्यदल गठन गरिएको थियो । स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्नका लागि कार्यविधि तयार जिम्मेवारी उक्त कार्यदलको थियो भने सार्वजनिक निजी साझेदारी इकाइका तत्कालनि प्रमुख धुर्वकुमार काफ्लेको संयोजकत्वमा गठित कार्यदलल शौचालय निर्माणका लागि स्थान पहिचान र स्थान अनुसारको डिजाइन प्रस्ताव गर्नुपर्ने थियो ।
उक्त कार्यदलको अध्ययनले काठमाडौ महानगरपालिका भित्र ४५ देखि ६० वटा पब्लिक टोइलेट बनाउनुपर्ने आवश्यकता पहिचान गरेको थियो । महानगर प्रवक्ता डंगोलका अनुसार जग्गा उपलब्ध गराए शौचालय बनाईदिने दाता पनि निस्केको थियो । तर प्रशासनिक निकायले लगानीको स्रोत के हुने ? डिजाइन नै राम्रो छैन, प्रस्ताव नै राम्रो भएन जस्ता कारण देखाउँदै पन्छाए पछि शौचालय बनाउने योजनाले मुर्त रुप पाउन सकेको थिएन ।
प्रशासनिक निकायको कुरा सुनेर रन्थनिएका वडा अध्यक्ष डंगोल आफ्नो क्षेत्रमा भने जसरी भए पनि शौचालय बनाउन चाहनुहुन्थ्यो । शौचालय बनाउने बारेमा एरोसानका कार्यकारी निर्देशक प्रकाश अमात्य सँग बेला बेलामा भलाकुसारी पनि भईरहेको थियो । नमुना खालको शौचालय बनाउन आफूले वडाको तर्फबाट आर्थिक एवं अन्य सहयोग गर्ने वाचा गरेको कुरा उहाँले सो कार्यक्रममा सम्झिनुभयो ।
‘मैले प्रकाश सर लाई भनें एउटा स्वयम्भुमा बनाउन त, म वडाको तर्फबाट त सहयोग गर्छु नै कहाँ जानुपर्छ, के गर्नुपर्छ ? तपाई अलिकति रकम खोज्नुहोस्, म पनि वडाको तर्फबाट केही लगानी गरौंला तर देखाउने गरी चाहिं बनाउनुपर्छ है भनेर भनें ।’
उहाँले आर्थिक बर्ष २०७८/२०७९ मा महानगरको हरेक वडामा २/२ वटा सार्वजनिक शौचालय बनाउने नीतिगत व्यवस्था भएपनि स्थानीयको विरोध र जग्गा उपलब्ध नहुँदा अहिलेसम्म पनि अधुरै रहेको बताउनुभयो । आफूले विदेश भ्रमणका क्रममा पुरातात्विक क्षेत्रमा समेत शौचालय निर्माण भएको देखेको र हररर बास्ना आएको भन्दै पुरातत्व विभागले प्राचीन स्मारक रहेको क्षेत्र भन्दै शौचालय बनाउन नदिएको बसन्तपुरको डबली लगायत क्षेत्रहरुमा समेत शौचालय बनाउन सकिने बताउनुभयो ।
स्मार्ट शौचालयको विशेषता
एरोसान हवद्वारा स्वयम्भुमा निर्माण गरिएको स्मार्ट शौचालय अत्याधुनिक, स्वच्छ, महिलामैत्री, अपाङ्गतामैत्री र समुदायमा आधारित छ । उक्त शौचालयहरुमा महिलाहरुको लागि स्वचालित मेसिनबाट स्यानिटरी प्याड किन्ने व्यवस्था गरिनुका साथै प्रयोग भएको प्याडको व्यवस्थापनका लागि प्याड जलाउने मेसिन पनि जडान गरिएको छ । यस्तै बालबालिकाहरुको डाइपर फेर्ने ठाउँ पनि शौचालय भित्रै पाउन सक्नुहुन्छ ।
स्मार्ट शौचालयमा सरसफाइका लागि आकाशे पानी संकलन गरी प्रयोग गरिएको छ । शौचालयबाट निस्कने ठोस तथा तरल फोहोरलाई ढलमा नफाली उर्जाको रुपमा वाँयोग्यास निर्माण गरिएको छ भने शौचालयमा प्रयोग भएका ८० प्रतिशत पानी प्रशोधन गरी पुनः शौचालयमै प्रयोग गरिन्छ । अर्थात दिसा पखालेको पानी विभिन्न माध्यमबाट प्रशोधन भएर ट्याङ्कीमा जम्मा हुन्छ र सोही पनि ओभरहेड ट्याङ्कमा जम्मा गरी फेरि फ्लस गर्न प्रयोग गरिन्छ ।
हेर्नुहोस् यो भिडियो :
स्वीडेनमा भएको एक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा यो शौचालय टप फाइभमा पर्न सफल शौचालय हो । ‘सीवी वर्ल्ड वाटर विक’ महोत्सवमा सञ्चालित ‘सरफाती सेनिटेसन च्यालेन्ज’ सत्रमा विश्वभरबाट निवेदन दिइएका ८० सरसफाइ संस्था मध्येबाट एरोसान शौचालय टप फाइभमा छानिएको थियो ।
स्वयम्भुको उक्त शौचालयलाई सन् २०२० मा बनेका सार्वजनिक शौचालय मध्येमा उत्कृष्ट ठहर गरी संयुक्त राष्ट्रसंघले समेत दिगो विकास अवार्ड प्रदान गरेको थियो ।
यो भिडियो पनि हेर्नुहोस् :


830 पटक हेरिएको 

