खानेपानीको गुणस्तरमा भक्तपुर डिभिजन एक कदम अगाडि : पुरानो आयोजनामा प्रशोधन प्लान्ट थप, नयाँको डिपीआरमै समावेश

भक्तपुर : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय (५ नंं.) भक्तपुरले खानेपानीको गुणस्तर अभिवृद्धिमा जोड दिन थालेको छ । कार्यालयले खानेपानी आयोजनाहरुमा ट्रिटमेन्ट प्लान्ट अनिवार्य बनाएर प्रशोधित पानी मात्र वितरण गर्ने नीति अख्तियार गरेको हो ।

यसका लागि विगतमा सम्पन्न भईसकेका पुराना खानेपानी आयोजनामा ट्रिटमेन्ट प्लान्ट बनाउन थालेको र नयाँ खानेपानी आयोजनाहरुको डिपीआरमै अनिवार्य समावेश गरिरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका डिभिजन प्रमुख अनिल केसरीले बताउनुभयो ।

डिभिजन कार्यालय भक्तपुरको कार्यक्षेत्रभित्र पर्ने काठमाडौ, भक्तपुर र ललितपुरको अधिकांश खानेपानी भूमिगत पानीको स्रोतमा निर्भर रहेको र ती पानीमा आइरन, अमोनिया, धमिलोपन जस्ता विभिन्न रसायनहरु मिसिएको हुनाले प्रशोधन गर्नुपर्ने उहाँले बताउनुभयो । ‘पानीको प्रशोधनको माग अत्यधिक बढेर आएकाले हरेक बर्ष कम्तीमा ८/१० वटा योजनामा ट्रिटमेन्ट प्लान्टहरु बनाएर व्यवस्थित गर्दैछौं’ डिभिजन प्रमुख केसरीले भन्नुभयो।

उहाँले आधारभूत पानी भएर मात्र नहुने र त्यसलाई गुणस्तरयुक्त र पिउन योग्य बनाउनुपर्ने दायित्व सरकारकै भएकाले त्यो काममा अगाडि बढेको बताउनुभयो । ‘पहाडी क्षेत्रमा मूलको पानी भएकाले त्यत्ति समस्या छैन । तर काठमाडौ उपत्यकामा भूमिगत पानी बढी प्रयोग भएकाले पानीमा रसायनको समस्या छ । तसर्थ यस डिभिजनको प्रयास गुणस्तरतर्फ जाँदैछ’ उहाँले भन्नुभयो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरले हाल करिब सयको हाराहारीमा खानेपानी योजनाहरु सञ्चालन गरिरहेको छ । ती मध्ये संघबाट हस्तान्तरित ६५ वटा र वाग्मती प्रदेश सरकारको करिब ७५ वटा खानेपानी आयोजना सञ्चालित छन् । कार्यालयले केही नयाँ खानेपानी आयोजनाहरुको सर्भे गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार