नौमुले खानेपानीको कोषमा १ करोड ६८ लाख मौज्दात, तीन आर्थिक बर्षमै थपियो १ करोड २२ लाख (भिडियो)

काठमाडौ : किर्तिपुर नगरपालिकाको वडा न. ६ मा रहेको नौमुले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कोषमा १ करोड ६८ लाख ६८ हजार १६६ रुपैयाँ मौज्दात रहेको छ । समितिले तीन आर्थिक बर्षमै १ करोड २६ लाख ६८ हजार ७७६ थप्न सफल भएको हो ।

पुरानो कार्यसमितिले आर्थिक बर्ष २०७३/०७४ मा नयाँ समितिलाई ४१ लाख ९९ हजार ३९० रुपैयाँको कोष हस्तान्तरण गरेको थियो । त्यसपछिको समितिले तीन आर्थिक बर्ष नेतृत्व गर्दा कोषको आकार बढाएर १ करोड ६८ लाख ६८ हजार १६६ रुपैयाँ पुर्‍याएको हो ।

उपभोक्ता समितिको आठौं साधारण सभामा निवर्तमान कोषाध्यक्ष संगम शर्माले आर्थिक बर्ष २०७४/०७५ देखि २०७७/०७८ सम्मको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ठूलो प्रयासबाट समितिलाई आर्थिक रुपमा मजबुत बनाएको बताउनुभयो ।

आर्थिक बर्ष २०७३/०७४ मा ४१ लाख ९९ हजार ३९० रुपैयाँको कोष जिम्मा लिएको नयाँ कार्यसमितिले आर्थिक बर्ष २०७४/०७५ मा मात्र ३७ लाख ६७ हजार ८६८ रुपैयाँ आर्जन गरी ७९ लाख ६७ हजार २५८ रुपैयाँ पुर्‍याएको थियो ।

लेखापरिक्षण प्रतिवेदन अनुसार आर्थिक बर्ष ०७५/०७६ मा २३ लाख २६ हजार ४१३ रुपैयाँ खुद आर्जन गरी १ करोड २ लाख ९३ हजार ६ सय ७२ को कोष बनाएको थियो ।
यस्तै आर्थिक बर्ष ०७६/०७७ मा समितिको नगद मौज्दात १ करोड ३४ लाख ५९ हजार ७९१ रुपैयाँ पुगेको थियो । समितिले आर्थिक बर्ष ०७७/०७८ मा खुद ३४ लाख ८ हजार ३७४ रुपैयाँ आर्जन गरी कोष आकार बृद्धि गरी १ करोड ६८ लाख ६८ हजार १६६ रुपैयाँ पुर्‍याएको हो ।

२०३० साल देखि उपभोग गर्दै आएको खानेपानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न ३३ बर्ष पछि २०६३ सालमा स्थानीयबासीको भेलाबाट वासुदेव केसीको अध्यक्षतामा नौमुले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति विधिबत रुपमा दर्ता गरिएको थियो । नौमुले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले हाल चारघरे, भुत्तखेल, नेपालटोल, कार्कीगाउँ, महतगाउँ, लप्सीबोट, टौदह, नगरकोटीटोल, खरिबोट, चुइगाउँ, जलबिनायक, खत्रीछाप लगायत गरी १ हजार ५० घरधुरीमा खानेपानी सेवा प्रदान गर्दै आएको छ । यसै सन्दर्भमा हामीले समितिका कोषाध्यक्ष संगम शर्मालाई सोधेका छौं १ हजार उपभोक्ता बाट यत्ति ठूलो कोष कसरी सिर्जना भयो ?

हेर्नुहोस् यो भिडियो :

कुन बैंकमा कति रकम ?

नौमुले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सबै कारोबार बैंकिङ प्रणाली मार्फत गर्दै आएको छ । जे जत्ति रकम आर्जन गरेको छ, ती सबै बैंक तथा वित्तिय संस्थामा बचत गरेको छ । नौमुले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको बैंक तथा वित्तिय संस्थामा मौज्दात रहेको रकमको विवरण :

• कृषि विकास बैंक २० लाख ६१ हजार १५९

• सनराइज बैंक २८ हजार ८०० रुपैयाँ

• सनराइज बैंक मुद्दती खातामा २० लाख रुपैयाँ

• नौलो अभियान वचत तथा ऋण सहकारी संस्था लि. १ करोड १४ लाख २१ हजार २७८ रुपैयाँ

• फुकादाम वचत तथा ऋण सहकारी संस्था लि. १९ हजार ७२८ रुपैयाँ

• टौदह वचत तथा ऋण सहकारी संस्था लि. १३ लाख ३७ हजार २०० रुपैयाँ

सबैभन्दा ठूलो आम्दानी सेवा शुल्क

खानेपानी उपभोक्ता समितिको सबैभन्दा ठूलो आम्दानीको स्रोत सेवा शुल्क रहेको छ । यस्तै महसुल आम्दानी र विभिन्न वैंक वित्तिय संस्थाबाट प्राप्त व्याज पनि समितिको ठूलो आयस्रोत बनेको छ । समितिका निवर्तमान कोषाध्यक्ष संगम शर्माका अनुसार समितिको प्रत्यक्ष खर्च (विद्युत महसुल, पाइप खरिद, धाराको सामान खरिद, निर्माण तथा सुधार, ढुवानी, पाईप लाइन निर्माण ज्याला) कर्मचारी खर्च (कर्मचारी तलब भत्ता, कोष कट्टी, कर्मचारी सुविधा खर्च) सञ्चालन खर्च (मर्मत सम्भार खर्च, स्टेशनरी मसलन्द तथा छपाई, टेलिफोन तथा सञ्चार, इन्धन, खाजा, लेखापरिक्षण खर्च) लगायत क्षेत्रमा खर्च हुँदै आएको छ ।

२०६३ सालमा वासुदेव केसीको अध्यक्षतामा स्थापना भएको नौमुले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आठौ साधारण सभाले शनिबार सोबित राम कार्कीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार