महासचिव जोशीको अपिल : भूमिगत पानीको पुनर्भरणका लागि ट्यूबवेललाई रेष्ट दिऔं, हरेक घरले पुनर्भरण सिस्टम बनाऔं (भिडियो)

काठमाडौ : सतहमा आधारित पानीका स्रोतहरु सुक्दै गएपछि काठमाडौ उपत्यका एवं तराईका बासिन्दा भुमिगत पानीको स्रोतमा निर्भर हुँदै आएको छ । भूमिगत पानीमा निर्भरता बढेसँगै भूमिगत पानीको स्रोतमा समेत समस्याहरु देखिन थालेका छन् ।

सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स (सोफेन) का महासचिव राजीव जोशी भूमिगत पानीको स्रोतबाट बढी भन्दा बढी पानी निकाल्दा विभिन्न समस्याहरु आउन थालेको बताउनुहुन्छ । उहाँका अनुसार भूमिगत स्रोतबाट जत्ति परिमाण पानी निकाल्नुपर्ने हो, त्यो भन्दा बढी निकालिरहेको र बर्षातको समयमा जमिनलाई पुनर्भरण हुना दिनुपर्नेमा सो समयमा समेत भूमिगत पानी निकालिरहँदा समस्या बढेको हो । ‘अहिले १६ देखि १८ घण्टा सम्म ट्युबवेलहरु चलाईरहेका छन् । तर यो ८ घण्टा मात्र चल्नुपर्ने हो । आठ घण्टा मात्र चल्दा त्यो रेष्टमा हुन्छ ।’ उहाँले भन्नुभयो ।

यस्तै सुख्खा याममा खोलानालाहरु सुक्ने र सतहको पानी कम हुने भएकाले त्यो समयमा भूमिगत पानी बढी निकाल्नुपर्ने भएकाले बर्षातको समयमा भूमिगत पानीलाई पूरै रेष्ट दिनुपर्ने उहाँको भनाइ छ । ‘अहिले हामीले चाहिं बाह्रै महिना २४ सैं घण्टा पानी निकालिरहेका छौं, बर्षातको ४ देखि ६ महिनासम्म चाहिं पुरै बन्द नै गर्नुपर्ने हुन्छ । जसले गर्दा रिचार्ज सिस्टम राम्रो हुन्थ्यो तर त्यो छैन अहिले ।’ उहाँले भन्नुभयो ।

अहिले कंक्रिटले जमिन टालेर हरियाली क्षेत्र मास्दै गएको र रिचार्ज सिस्टमलाई सील गरिरहेको उहाँको भनाइ छ । ‘कंक्रिटले गर्दा रिचार्ज हुन पाएको छैन । आकाशबाट परेको पानी पुनर्भरण हुन नपाएर ड्रेन मार्फत काठमाडौ बाहिर गईरहेको छ’ उहाँले भन्नुभयो ।

हरेक घरले रिचार्ज गर्न सकिने र यसका लागि नगरपालिकाहरुले नक्सा पास गर्दा नै आकाशे पानी संकलन र पानीको पुनर्भरण सिस्टम राख्ने व्यवस्था गर्न सकिने उहाँको सुझाव छ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार