पातारासीका सात गाउँ छाउ गोठमुक्त, छाउ नबार्ने २ जोडी सम्मानित

जुम्ला : जुम्लाको पातारासी गाउँपालिका भित्रका सात गाउँ छुईगोठ मुक्त भएका छन् । पातारासी गाउँपालिका वडा नम्बर ५ का माथिलोर्प र तलिलोर्प, वडा नम्बर ४ का लुम र भोटगाउँ तथा वडा नम्बर २ का तल्फी, परे र धोपगाउँलाई छुईगोठ मुक्त घोषणा गरिएको हो ।

सर्वोदय नेपाल, जुम्ला र पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाले महिला, पुरुष र धामीझाँक्रीलाई सचेतीकरण गर्दै छुईगोठ मुक्त घोषणा गरिएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा जुम्लाकी संयोजक भगवती गिरीले बताउनुभयो । छुई भएको अवस्थामा घरभित्रै बस्ने वातावरण सिर्जना भएपछि गाउँलाई छुईगोठ मुक्त घोषणा गरिएको उहाँले बताउनुभयो ।

सो अवसरमा गाउँपालिका अध्यक्ष लक्षीमान बोहराले महिनावारी भएका बेला गोठमा बसेका कारण धेरै महिलाले ज्यान गुमाएको भन्दै सुरक्षित कोठामा बस्न आग्रह गर्नुभयो । उहाँले महिला गोठमा बसेको देखेको खण्डमा पालिकाले कानुनी कारबाही गर्न बाध्य हुने चेतावनी दिनुभयो । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) मा रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख छ ।

यस्तो कसुर गरेको ठहर भए ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ । नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा छुईप्रथा मान्ने चलन छ । अघिल्ला वर्षमा नेपाल सरकार, गृह मन्त्रालयको आदेशमा प्रहरीले छुईगोठ भत्काएको थियो । समाजमा कुरीतिका रूपमा रहेको छाउपडी अन्त्य गर्न पातारासीले पनि छुईगोठ मुक्त गाउँ अभियान थालेको छ ।

छुईगोठमुक्त घोषणा कार्यक्रममा महिनावारी तथा रजस्वला भएको बेला घरैमा बस्ने साउनी बोहरा, उहाँका पति कालु बोहरा तथा वीरे सार्की र उहाँकी श्रीमती रेउली सार्कीलाई लाई गाउँपालिकाले सम्मान गरेको छ ।

महिनावारी भएको अवस्थामा घरैमा बस्ने तथा अरूलाई बस्न हौसला मिलोस् भन्ने उद्देश्यले सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत टेकबहादुर बुढ्थापाले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार