
काठमाडौ : सरसफाइको बिषयमा धेरै चर्चा सुन्ने गरिन्छ । सरसफाइ भनेको यत्रतत्र छरिएर रहेका ठोस फोहोरमैलालाई बढारेर सफाइ गर्नु हो भन्ने धेरैको बुझाई छ । तर सरसफाइ भन्ने वित्तिकै मानव मलमूत्रको कुरा अगाडि आउँछ । त्यसैले नै तपाई हामीले मानव मलमूत्रलाई व्यवस्थापन गर्न शौचालय बनाउनु परेको हो ।
हामीलाई अहिले चाहिएको सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ अर्थात सेफ्ली म्यानेज्ड् स्यानिटेशन हो । यसलाई डब्लु.एच.ओ. र युनिसेफको जोइन्ट मनिटरिङ प्रोग्राम (जेएमपी) ले परिभाषित गरिएको छ । तर त्यो भन्दा अगाडि हामीले नसुधारिएको (अन्इम्प्रुभ) र सुधारिएको सरसफाइ (इम्प्रुभ स्यानिटेशन) बारे बुझ्न जरुरी रहेको डब्लु.एच.ओ. का प्रोफेस्नल अफिसर डा. सुदन पन्थी बताउनुहुन्छ ।
के हो त नसुधारिएको सरसफाइ ?
डा. सुदन पन्थी भन्नुहुन्छ खुला ठाउँमा दिसा गर्ने, सबैभन्दा काम नलाग्ने कुरा नै यही हो । हेर्दा चर्पी जस्तो देखिने तर ढक्कन बिनाको खाल्डोमा मात्र दिसा गर्ने, सेफ्टी ट्याङ्की पनि नभएको तर एकै ठाउँमा दिसा गर्ने ठाउँ यो नै नसुधारिएको (अन्इम्प्रुभ) सरसफाइ हो। अब लिमिडेट वा सीमित सरसफाइ भनेको दुई वा दुई भन्दा बढी परिवारले संयुक्त रुपमा प्रयोग गरिएको शौचालय हो । पर्याप्त नभएको वा लिमिटेड स्यानिटेशन ।
सुधारिएको सरसफाइ
सुधारिएको (इम्प्रुभ) सरसफाइ भनेको चाहि अन्इम्प्रुभ भन्दा राम्रो अर्थात शौचालयमा दिसा गरेपछि पानी फ्लस गर्ने सुविधा भएको अवस्था हो । त्यो सीधै बटम थिच्दा फ्लस हुन पनि सक्छ अर्थात आफैले पानी खन्याएर पनि दिसालाई प्यानसेटबाट बगाउन सकिन्छ । काठमाडौ लगायत शहरमा भएका अधिकांश शौचालय यस्तै प्रकृतिका हुन्छन् । यो ढलमा मिसिएको हुनुपर्यो अर्थात सेप्टिक ट्याङ्कीमा जम्मा भएको हुनुपर्यो वा अलि पर लगेर खाल्डोमा ढाकिएको अवस्थामा हुनुपर्यो । हामीले खुला दिसामुक्त घोषणा गर्दा सबै इम्प्रुभ स्यानिटेसन (सुधारिएको सरसफाइ) लाई मात्र आधार मान्यौं । आधारभूत सरसफाइ भनेकै सुधारिएको अर्थात इम्प्रुभ स्यानिटेशन हो । जुन एउटै शौचालय धेरै घरपरिवारले प्रयोग गरेको चाहिं हुनु हुँदैन ।
सुरक्षित रुपमा व्यवस्थापन गरिएको शौचालय
अब हामीलाई सुधारिएको सरसफाइबाट सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइको स्तरमा उक्लिनु छ । तर नेपालमा अहिलेसम्म सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ (सेफ्ली म्यानेज्ड् स्यानिटेशन) को डाटा नै छैन । सेफ्ली म्यानेज्ड् हुनाका लागि सेफ्टी ट्याङ्कीमा भरिएको दिसाको लेदोलाई ढुवानी गरेर प्रशोधन गरेको हुनुपर्छ । कि त गुहेश्वरीको जस्तो प्रशोधन प्लान्टमा गएर प्रशोधित भएर मापदण्ड अनुसारको बनाएर मात्र नदीमा खसालेको हुनुपर्छ । अब काठमाडौको हकमा गुहेश्वरीको प्रशोधन प्लान्टमा शौचालय जोडिएका घर र ललितपुरको लुभुमा रहेको दिसाजन्य लेदो प्रशोधन केन्द्रमा प्रशोधन गरिएका घरहरु मात्र सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ मान्न सकिन्छ ।
मेरो घरमा शौचालय छ, राम्रो छ, प्लस पनि हुन्छ तर मेरो शौचालयको दिसा गुहेश्वरीको ढलमा त पुग्दैन । सेफ्टी ट्याङ्कीमा जम्मा पनि हुँदैन भने मेरो ढलको पानी कहाँ गयो रु पक्कै कतै न कतै गएर प्रशोधन नभई नदीमा मिसिएको छ भने त्यो सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ हुन सक्दैन ।
यसर्थ सेफ्ली म्यानेज्ड् स्यानिटेशनमा स्तरोन्नति गर्नका लागि शौचालयको दिसा सेफ्टी ट्याङ्कीमा जम्मा भएर त्यसलाई खाली गरेर ढुुवानी गरी प्रशोधन गरेर मात्र विसर्जन गरेको हुनुपर्छ । त्यो स्वास्थ्यका लागि खतरा हुनु हुँदैन । त्यसलाई प्रशोधन गरेर बालीनालीमा प्रयोग गरे पनि भयो वा वातावरणमा विसर्जन गरेपनि भयो । न कि सीधै ट्याङ्करले झिकेर नदीमा वा कुनै खाली ठाउँमा वा खेतमा विसर्जन गर्नु चाहिं भएन ।
अबको आवश्यकता
दिगो विकास लक्ष्य ६ हासिल गर्नका लागि अब सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ (सेफ्ली म्यानेज्ड् स्यानिटेशन) मा जानुको कुनै विकल्प छैन । अब हामीसँग भएका इम्प्रुभ स्यानिटेशनलाई स्तरोन्नति गर्नैपर्छ । यसका लागि नयाँ तथा पुराना घरमा पनि नचुहिने (शील्ड) सेप्टिक ट्याङ्की बनाउन लगाउनुपर्छ । त्यसपछि सेफ्टिक ट्याङ्कीमा जम्मा भएको दिसाजन्य लेदोलाई प्रशोधनशालाहरु मार्फत प्रशोधन गरेपछि मात्र विसर्जन गर्नुपर्छ ।
यस्को नमुना लुभु तथा बर्दिया लगायतका स्थानमा पनि हेर्न सकिन्छ । काठमाडौ जस्तो ठूला सहरहरुमा भने ढल प्रणालीमा आधारित फोहोरपानी प्रशोधन केन्द्र बनाउनुपर्छ । त्यसका लागि काठमाडौ उपत्यकामा केयूकेएलरपिआईडीले ठूला क्षमताका प्रशोधन प्रणालीहरु निर्माण गरिरहेको छ । आशा गरौं, समयमै सम्पन्न भई सञ्चालनमा आउनेछ । यस्तै काठमाडौ बाहिरका सहरहरुमा पनि यस्तै प्रकृतिका प्रशोधन केन्द्रहरु बनाउन सकिन्छ । साना सहरी खानेपानी आयोजना भएका सहरहरुमा अनिवार्य ढल प्रणाली निर्माण गरी प्रशोधन केन्द्र सहितको काम पनि गरिरहेको छ । यो गर्नैपर्ने मध्येको काम हो ।
नोट : डब्लु.एच.ओ. का प्रोफेस्नल अफिसर डा. सुदन पन्थीसँग गरिएको कुराकानीमा आधारित यो सामग्री सामान्य सम्पादन गरी पुनः प्रकाशन गरिएको हो । यसअघि २०७७ पुस ४ गते प्रकाशन गरेका थियौं । : सम्पादक


1145 पटक हेरिएको 

