काठमाडौं : ढलमा जे पायो त्यही पदार्थ फ्याँक्दा गुहेश्वरी ट्रिटमेन्ट प्लाण्टका मेसिनहरु बिग्रन थालेका छन् । ढलमा दिसापिसाब र पानी मात्र बगाउनु पर्नेमा बोरा, थोत्रा कपडा, निर्माण सामग्रीहरु, ढुंगा, ईटाका टुक्रा तथा कुखुराको भुत्ला समेत हालिदिँदा छिटो छिटो मेसिनहरु बिग्रन थालेको आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का प्रोजेक्ट म्यानेजर चन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।
मासु व्यापारीहरुले कुखुराको भुत्ला समेत ढलमै हाल्दा ढल जाम हुने र ट्रिटमेन्ट प्लाण्टका मेसिनहरुमा अड्किने जस्ता समस्या आएको उहाँले बताउनुभयो । ढलमा हाल्नै नहुने पदार्थहरु हालेकै कारण ढल जाम भई ट्रिटमेन्ट प्लाण्टमा आउनुपर्ने फोहोरपानी पनि वाग्मतीमै बगिरहेको उहाँको भनाइ छ ।
हेर्नुहोस् यो भिडियो :
ट्रिटमेन्ट प्लाण्ट सञ्चालनमा देखिएको यो समस्या समाधानका लागि स्थानीय सरकारले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, ढलमा जथाभावी फोहोर फाल्नेको पहिचान गरी दण्डित गर्नुपर्ने, ढल मंगाल सफा गर्न बजेट विनियोजन गर्नुपर्ने उहाँले बताउनुभयो ।
गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्र सञ्चालन हुन थालेको १ बर्ष भन्दा बढी भईसकेको छ । गुहेश्वरी भन्दा माथि तिरका बस्तीहरु चावहिल, बौद्ध, जोरपाटी लगायतका ठाउँमा बसोबास गर्ने ३ लाख जनसंख्याको मानव मलमूत्रलाई प्रशोधन गर्ने गरी यो फोहोरपानी प्रशोधन केन्द्र बनाइएको हो ।
दैनिक ३ करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन गर्ने क्षमता रहे पनि अहिले २ करोड लिटर जत्ति मात्र पानी प्रशोधन हुँदै आएको प्रोजेक्ट म्यानेजर श्रेष्ठले बताउनुभयो ।


798 पटक हेरिएको 

