काठमाडौ : औपचारिक रुपमा खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने पहिलो देशको रुपमा विश्वमै नाम कमाएको नेपालले व्यवहारमा १५ प्रतिशत घरमा चर्पी बनाउनै बाँकी रहेको छ । खुला दिसामुक्त अवस्थाबारे विभिन्न चरणमा गरिएको अध्ययनले नेपालमा बसोबास गर्ने विभिन्न समुदाय र आर्थिक रुपमा विपन्न वर्गमा अझै आधारभूत सरसफाइको अभाव देखिएको हो ।
काठमाडौमा केही समय अघि भएको कार्यक्रममा ‘नेपालमा खुलादिसामुक्त अवस्थाको दिगोपना’ बारे कार्यपत्र प्रस्तुत गर्दै युनिसेफ नेपालका सरसफाइ विज्ञ सिद्धि श्रेष्ठले विश्वव्यापी रुपमा आधारभूत सरसफाइमा नेपालले हासिल गरेको उपलब्धी गर्व गर्न लायकको भए पनि नेपालका गाउँहरुमा बसोबास गर्ने विभिन्न जातजाति तथा वर्ग समुदायमा चर्पी नै नभएको पाईएको बताउनुभयो ।
उहाँले विभिन्न अध्ययनले समेटेको सरसफाइ सम्बन्धी आँकडा प्रस्तुत गर्दै भन्नुभयो ‘ग्लोबल स्यानिटेसन रिपोर्टमा सन् २०१५ देखि २०२० सम्म खुला दिसा कम गर्ने विश्वका १७ मुलुकहरु मध्ये नेपाल दोस्रोमा परेको छ । १८ प्रतिशत खुला दिसा कम गर्दै कम्बोडिया पहिलो र नेपाल र भारतको समान १४/१४ प्रतिशत छ ।’
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफले संयुक्त रुपमा प्रकाशित फ्याक्ट सिटमा समेत ४ वटा केस स्टडी मध्ये एउटा केस स्टडी नेपालले खुला दिसामुक्त घोषणा गरेको बिषय उल्लेख रहेको उहाँले बताउनुभयो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
आधारभूत सरसफाइमा नेपाल संसारमै पहिलो
नेपालले आधारभूत सरसफाइमा संसारमै सबैभन्दा बढी अर्थात ७९ प्रतिशत उपलब्धी हासिल गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफले संयुक्त रुपमा हरेक दुई बर्षमा प्रकाशन गर्ने जोईन्ट मनिटरिङ प्रोग्राममा समेत नेपालले आधारभूत सरसफाइमा संसारमै उच्च प्रगति हासिल गरेको उल्लेख छ ।
तर सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइको पहुँच भने ४९ प्रतिशत नागरिकमा मात्र पुगेको उल्लेख छ ।
१५ प्रतिशत घरमा शौचालयकै अभाव
खुला दिसामुक्त अवस्थाको दिगोपनाको अवस्थाबारे गरिएको एक अध्ययनले साढे ३ प्रतिशत घरमा चर्पी नै नभएको, ९ प्रतिशत घरपरिवारले संयुक्त शौचालय प्रयोग गर्दै आएको र ३ प्रतिशत नागरिसँग नसुधारिएको शौचालय रहेको पाइएको छ । युनिसेफ नेपालका सरसफाइ विज्ञ सिद्धि श्रेष्ठका अनुसार नेपालको सात वटै प्रदेशका २१ सय घरधुरीमा गरिएको सर्वेक्षणले यस्तो नतिजा देखाएको हो ।
उहाँका अनुसार ७ वटै प्रदेशका २५ घरधुरी रहेको ७० वटा क्लस्टरका २१ सय घरपरिवारमा गरिएको अध्ययनले साढे ३ प्रतिशत घरमा चर्पी नै नभएको, ३ प्रतिशतमा नसुधारिएको (कच्ची) शौचालय रहेको र ९ प्रतिशतले साझा चर्पी प्रयोग गर्ने गरिएको भेटिएको छ ।
राष्ट्रिय तथ्याङ्क विभाग भन्छ : ६२ प्रतिशत समुदायको घरमा मात्र चर्पी
सन् २०१९ मा गरिएको एक अध्ययनले ६२ प्रतिशत समुदायहरुमा मात्र चर्पी भएको देखाएको छ । राष्ट्रिय तथ्याङ्क विभागले ५१२ वटा क्लष्टरमा गरेको अध्ययनले ९ प्रतिशत आर्थिक रुपमा विपन्नको घरमा चर्पी नै नभएको देखाएको छ । यस्तै २८.५ प्रतिशत तराई दलितको घरमा पनि चर्पी नभएको देखाएको छ । सोही अध्ययनले प्रदेश १ र ३ मा सबै भन्दा कम १.१ प्रतिशत घरमा चर्पी नभएको र प्रदेश २ मा १५.८ प्रतिशत नागरिकको घरमा चर्पी नै नभएको देखाएको छ ।


1006 पटक हेरिएको 

