काठमाडौं : ललितपुरको गोदावरी नगरपालिका क्षेत्र भित्र रहेका पाँच वटा ढुंगेधाराको जीर्णोद्वार गर्न डिपीआर तयार पारिएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) द्वारा सञ्चालित ‘सार्वजनिक सेवाको केन्द्रमा एकीकृत शहरी पानी व्यवस्थापन परियोजना (IUWM)’ ले धाराको पुनःस्थापनाका लागि डिपीआर तयार पारिएको हो । डिपीआर तयार भएका धाराहरुमा अंगेरी कुवा, भुजुरे धारा, क्वा गाँ हिटी, माझको धारा र सीमाको धारा छन् ।
ती मध्ये सीमाको धाराको जीर्णोद्वार गरी नमुनायोग्य बनाएको छ । अन्य नगरपालिकाले समेत अनुकरण गर्न सकियोस भन्ने हेतुले सीमाको धाराको जीर्णोद्वार गरी उदाहरणीय र प्रदर्शनयोग्य बनाएको प्रोजेक्ट कोअर्डिनेटर भिन्तुना श्रेष्ठले जानकारी दिनुभयो । दोस्रो चरणको परियोजना समापन कार्यक्रममा परियोजनाद्वारा सञ्चालित क्रियाकलाप तथा उपलब्धीहरु जानकारी गराउँदै प्रोजेक्ट कोअर्डिनेटर श्रेष्ठले किर्तिपुर नगरपालिकाको एकीकृत सरसफाइ सेवा, गोदावरीको सीमाको धारा, चापा गाउँमा सुधार गरिएको सार्वजनिक शौचालय र किर्तिपुरको गोरखनाथ सेकेण्डरी स्कुलको हात धुने स्टेशनलाई अन्यत्र समेत अनुकरण गर्न सकिने गरी निर्माण गरिएको बताउनुभयो ।
साना तथा मझौला नगरपालिकाहरुलाई सुधारिएको नगरस्तरीय खानेपानी र सरसफाइको सुविधाहरु प्रदान गर्ने उद्देश्यले सन् २०२१ को जनवरीदेखि ललितपुरको गोदावरी र काठमाडौको किर्तिपुर नगरपालिकामा ‘सेवाको केन्द्रमा एकीकृत शहरी पानी व्यवस्थापन परियोजना (IUWM)’ कार्यान्वयन भईरहेको छ ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
यी हुन् परियोजना अन्तर्गत भएका मुख्य मुख्य कामहरु :
प्रोजेक्ट कोअर्डिनेटर भिन्तुना श्रेष्ठले परियोजना अवधिमा नगरपालिकाको आवश्यकता र मागको आधारमा परियोजनाका कार्यक्रमहरु निर्धारण गरी कार्यान्वयन गरिएको जानकारी गराउनुभयो । परियोजनाले ५ वटा ढुंगेधाराको डिपीआर निर्माण गरी नगरपालिकालाई वित्तिय स्रोतको खोजी गर्न दुईवटा वित्तिय प्रस्तावना बनाउन समेत सहयोग गरेको उहाँले जानकारी गराउनुभयो ।
यस्तै नगरपालिकाका लागि आवश्यक पर्ने तालिमको लेखाजोखा गरिएको र १० वटा जत्ति तालिमको सूची तयार भए पनि तीन वटा तालिम सञ्चालन गर्न सफल भएको जानकारी गराउनुभयो । उहाँले वाटर सेफ्टी प्लान निर्माणका लागि र ग्राभिटी वाटर सिस्टमका लागि डिजाइन तालिम समेत सम्पन्न भएको जानकारी गराउनुभयो । यस्तै परियोजना अन्तर्गत नै विकेन्द्रित फोहोरपानी प्रशोधन प्रणाली (डिवाट्स) सञ्चालन र मर्मत सम्भार सम्बन्धी तालिम पनि सञ्चालन गरिएको छ ।
किर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काको प्रमुख आतिथ्य एवं वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठको सभापतित्वमा परियोजना समापन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा गोदावरी र किर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, विभिन्न नगरपालिकाका इन्जिनियर, वास फोकल पर्सन, विभिन्न खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदधिकारी एवं खानेपानी तथा सरसफाइ उपभोक्ता समेत उपस्थित हुनुहुन्थ्यो ।


999 पटक हेरिएको 

