
स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिकामा पनि मानवमलमूत्र प्रशोधन प्लान्ट सञ्चालनमा आएको छ । बजार क्षेत्रमा चुनौतीको रुपमा देखा परिरहेको मानव मलमूत्र व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । मानव मलमूत्र प्रशोधन प्लान्ट सञ्चालनमा आएपछि नगरक्षेत्रको बासिन्दाको शौचालयको सेफ्टिक ट्याङ्क भरिएपनि समस्या नहुने भएको छ ।
सेफ्टक ट्याङ्क भरिए नगरपालिकालाई ६ हजार ५ सय शुल्क तिरेपछि ट्याङ्की खाली गरिदिने नगरपालिकाले जनाएको छ । सेफ्टी ट्यांकी भरिएपछि बाहिरी खुल्ला ठाउँमा लगेर आफूखुसी फाल्ने गरेका कारण ढल, खोलानाला तथा पानीका स्रोत प्रदूषित हुने गरेको थियो । त्यसैको व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याइएको प्रमुख खाँणले बताउनुभयो ।
अब नगरपालिकाले सञ्चालनमा ल्याएको प्लान्टमा सस्तो र सहज रूपमा व्यवस्थापन गर्न सकिने नगर प्रमुख खाँणले बताउनुभयो । नगरपालिकाले सञ्चालन गरेको प्लान्टबाट बायोग्याँस र कम्पोष्ट मल बनाउनुका साथै त्यहाँबाट निस्केको पानीलाई प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने बनाइएको छ ।
“प्लान्टबाट आधुनिक कम्पोष्ट मल बनाउने, बायोग्याँस निकाल्ने र पानीलाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने बनाउँछौं, सञ्चालनमा आएको यो प्लान्ट एकीकृत फोहरमैला व्यवस्थापनका क्षेत्रमा नगरपालिकास्तरमा नेपालकै पहिलो हो ।” नगर प्रमुख खाँणले भन्नुभयो ।
दिसापिसाबको व्यवस्थित संकलन देखि सुरक्षित विसर्जन सम्मको चरणबद्ध प्रक्रिया सरसफाइ प्रणाली हो । यो प्रणाली अन्तर्गत संकलन, भण्डारण, रित्याउने र ढुवानी गर्ने, प्रशोधन र पुनः प्रयोग वा सुरक्षित विसर्जन रहेको वालिङ नगरपालिकाका ईञ्जिनियर दीपेन्द्र मल्लले बताउनुभयो । “घर घरमा निर्माण भएका सेफ्टी ट्याङ्कीहरु भरिएपछि त्यसको विसर्जनका लागि समस्या थियो” ईञ्जिनियर मल्लले भन्नुभयो “नगरपालिकाले प्लान्ट सञ्चालन गरेसँगै निजी ब्यवसायीहरुबाट भन्दा सस्तो शुल्कमा त्यसको उचित ब्यवस्थापन गर्न थालिएको छ ।”
घर घरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि ब्यवस्थापनमा निक्कै समस्या हुने गरेकोमा नगरपालिकाले उठाएर त्यसको उचित ब्यवस्थापन गर्ने भएपछि सहज भएको वालिङ ८ कटौंजेका शिवप्रसाद पाण्डेले बताउनुभयो । “निजी ब्यवसायीबाट यस अघि ट्याङ्की खाली गर्नु पर्दा महङ्गो र मनपरी दररेट थियो” पाण्डेले भन्नुभयो “एकलौटी ब्यवसाय हुँदा महङ्गो पर्न गएपनि अब नगरपालिकाले सञ्चालन गरेपछि सस्तो र सहज हुने भएको छ ।”
नगरपालिकाले नेपाल नगरपालिका संघसँग समन्वय गर्दै वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राविधिक डिजाइन सहयोग, राष्ट्रिय योजना आयोग, संघीय मन्त्रालय, सिटी नेट, एसप्याक, युएनडिपी, बिल एण्ड मेलिण्डा खेट्स फाउण्डेसनको सहयोगमा एकीकृत फोहर व्यवस्थापन कार्यक्रम अन्तर्गत प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको हो ।


986 पटक हेरिएको 

