फोहोरबाट मध्यपुरथिमीले कमायो ३ करोड, यस्तो छ फोहोरबाट कमाउने काइदा (भिडियो)

भक्तपुर : सहरी स्वच्छताको चुनौतीको रुपमा रहेको फोहोरमैलाबाट भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले ३ करोड भन्दा बढी रकम आर्जन गरिसकेको छ । नगरपालिकाले कुहिने फोहोरबाट बनाएको मल विक्रीबाट ३ करोड रुपैयाँ भन्दा बढी रकम आर्जन गरेको हो । गन्धरहित, विरुवाका लागि उच्च पोषणयुक्त प्रमाणित भएपछि मलको माग बढेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठका अनुसार यसबर्ष मात्र डेढ करोड भन्दा बढीको अर्डर आईसकेको छ । चार बर्ष अघि देखि नै जापानिज प्रविधिद्वारा फोहोर व्यवस्थापन गर्दै आएको मध्यपुरथिमीले हाल करिब ६ हजार घरपरिवारको कुहिने फोहोरलाई खेर जान दिएको छैन ।

लगभग ८ हजार घरधुरीको फोहोरलाई मल बनाउन सकिने क्षमता कम्पोष्ट प्लान्ट भएपनि अहिले ६ हजार घरपरिवारको मात्र फोहोरबाट मल बनाईरहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

देशभरिका ४ नगरपालिकाले अबलम्बन गर्दै

जापानी प्रविधिबाट निर्मित मल बनाउने तरिकालाई देशका ४ वटा नगरपालिकाले समेत अबलम्बन गर्ने भएको छ । काभ्रेको पाँचखाल नगरपालिका, काठमाडौको चन्द्रगिरी नगरपालिका, चितवनको राप्ती नगरपालिका र दाङको तुलसीपुर नगरपालिकाले समेत अबलम्बन गर्ने तयारी गरेको हो ।

माटोलाई चाहिने सबै तत्व अर्थात सिएन्बीएम टेक्नोलोजीबाट यो मल निर्माण गरिन्छ । सी भनेको कार्बन, एन बाट नाईट्रोजन, बी बाट ब्याक्टेरिया र एम भनेको मिनरल हो । यो मल प्रयोग गरेर रामेछापको गोकुलगंगा गाउँपालिकामा आलु खेती गर्दा दोब्बर उत्पादन भएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार