ललितपुर : ललितपुर जिल्लाको लुभुमा बनेको दिसाजन्य लेदो प्रशोधन केन्द्र काठमाडौ उपत्यका भरिको एक मात्र प्रशोधन केन्द्र हो । २०७२ वैशाखको भूकम्प पश्चात आपतकालीन एवं अस्थायी शौचालय निर्माण भएपछि त्यसबाट उत्पादित दिसाजन्य लेदो प्रशोधनका लागि यो प्रशोधन केन्द्रको निर्माण भएको थियो ।
महालक्ष्मी नगरपालिका, शालिग्राम बालगृह, सि.डि.डि. सोसाइटी, वातावरण र जनस्वास्थ्य संस्था एन्फो तथा बोर्डाको सहकार्यमा निर्माण गरिएको यो प्रशोधन केन्द्र स्रोत पुनर्लाभ गर्न सक्ने प्रणालीको रुपमा स्थापित छ ।
मानवमलमूत्र, चिन्न नसक्नेका लागि मात्र फोहोर हो । यसलाई चिनेर स्रोतको रुपमा प्रयोग गर्दा यसबाटै खाना पकाउन बायोग्याँस, बालीनालीका लागि कम्पोष्ट मल र सिँचाईका लागि पानी उत्पादन हुन्छ । हप्तामा ६ हजार लिटर अर्थात २ ट्याङकर दिसाजन्य लेदो प्रशोधन गर्दा लुभुको प्रशोधन केन्द्रबाटै ७९९ घनमिटर बायोग्यास उत्पादन हुन्छ भने ६९ घनमिटर प्राङ्गरिक मल र ५२४ घनमिटर प्रशोधित पानी निस्कन्छ । जुन पानी बोटविरुवाका लागि अति पोषणयुक्त हुन्छ ।
ललितपुरको लुभुमा जस्तै स्रोत पुनर्लाभ गर्न मिल्ने दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गर्न सके यसको सञ्चालन खर्च पनि कम हुन सक्छ । प्रशोधनको क्रममा हुने खर्च प्रशोधन पछि उत्पादन हुने मल, बायोग्यास र प्रशोधित पानीले पुनर्लाभ दिने हुँदा अब बन्ने दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु पनि यस्तै प्रविधिमा निर्माण गर्न सके स्रोत खेर नजाने पक्का छ ।
हेर्नुहोस् राजधानीको एक मात्र मानव मलमूत्र प्रशोधन केन्द्रको ड्रोन शट :