भक्तपुर : धनियाँ, प्याज र लसुनको पत्ता । मसलाजन्य यी हरियो तरकारी प्रायः भान्छामा चाहिरहन्छ । साना साना तरकारीका लागि पसल धाईरहन भने निक्कै झन्झट । यस्तै झन्झटले भक्तपुर लोकन्थलीकी शान्ता मैनाली चुडाललाई तरकारी नै फलाउने जाँगर प्रदान गरेछ । त्यो पनि आफ्नै घरको छतमा । अरु केही नभएपनि धनियाँ, प्याज र लसुन चाहिं घरको छतमै फलाउने निधो गर्नु भएकी शान्ताले सुरुमा माछा बोक्ने काटुन संकलन गर्नुभएछ ।
कुरा ८ बर्ष अगाडिको हो । त्यत्तिबेला भर्खर भर्खर घरको छतमा तरकारी फलाउने चलन शुरु भएको थियो । प्रायःले माछाको काटुनमा तरकारी फलाउँथ्यो । यही अभ्यासलाई उहाँले पनि अबलम्बन गर्नुभयो । कुहिने फोहोरलाई घरमै व्यवस्थापन गरी मल बनाउन कम्पोष्ट बिन पनि ल्याउनुभयो ।
त्यसबेला ९ वटा माछाको काटुनबाट सुरु भएको कौशी खेतीले अहिले उहाँको घरको छत ढाकिएको छ । केही व्यवस्थित गरेर अन्य जातका तरकारीहरु समेत फलाउन थाल्नु भएको छ । झनै केही समय अघि मध्यपुर थिमी नगरपालिका र वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) बाट कौशी खेती सम्बन्धी तालिम प्राप्त भएपछि उहाँले तरकारी लगाउने तरिकामै फेरबदल गर्नुभएको छ ।
कौशी खेतीबाट भान्छामा अर्गानिक हरियो तरकारी आपूर्ति हुने त छँदैछ । शारीरिक तथा मानसिक स्वास्थ्य तन्दुरुस्त हुने, तरकारी किन्दा खर्च हुने रकम जोगिने, फोहोरको सही व्यवस्थापन हुने जस्ता कैयौं फाइदा पुग्ने उहाँको अनुभव छ ।
विस्तृतमा हेर्नुहोस् शान्ता मैनाली चुडालको कौसी खेती अनुभव :