सेप्टिक ट्याङ्क सफाइ व्यवसायबाट घर, घडेरी र गाडी (भिडियो)

काठमाडौ : सेफ्टिक ट्याङ्क सफाइ व्यवसायका प्रणेता मानिनुहुन्छ गुहेश्वरी काठमाडौका कृष्ण प्रसाद ढुङ्गाना । उहाँ भन्दा अगाडि नुवाकोटका भोज बहादुर केसीले उक्त व्यवसाय सुरु गरेको भएपनि ढुङ्गानाले मात्र यो व्यवसायलाई निरन्तरता दिनुभयो । उहाँ आज पर्यन्त पनि सेफ्टिक ट्याङ्क सफाइ व्यवसायमै संलग्न हुनुहुन्छ ।

सेप्टिक ट्याङ्क सफाइ व्यवसाय थाले यता ढुङ्गानाले पछाडि फर्केर पनि हेर्नु परेको छैन । त्यस अघि शौचालय सफा गर्ने क्लिनो बिक्री गर्ने, मैन बत्ती बनाउने, च्याउ खेती गर्ने लगायत काम गर्नुभएका कृष्ण प्रसाद ढुङ्गानाका लागि सेप्टिक ट्याङ्क सफाइको काम बरदान साबित भयो ।

सुरुमा सेप्टिक ट्याङ्क व्यवसायको सम्भावना अध्ययन गर्ने शीलशीलामा भोजबहादुर केसी कहाँ पुग्दा ट्रयाक्टर पनि छुनु हुँदैन कि भनेर संकोच मान्नु भएका ढुङ्गानाले अन्ततः सफाइको कामलाई नै दिर्घकालीन रुपमा अंगाल्नुभयो । भोजबहादुर केसीले भने उक्त काम छाडेर प्रेस तिर हात हाल्नुभयो ।

सफाइको क्षेत्रमा खासै चासो नभएपनि एक जना निकट साथीको सल्लाहमा सेप्टिक ट्याङ्क सफाइ व्यवसाय सुरु गर्ने सल्लाह भयो । ट्रयाक्टर किन्न साथीले लगानी गर्ने र आफूले स्टाफको रुपमा काम गर्ने सल्लाह बमोजिम काम गर्न त सुरु भयो, तर चार महिना पनि राम्रो सँग टिकेन ।

साथीले चार महिना पछि ट्रयाक्टर लिलाम गरेपछि उहाँ इन्तु न चिन्तु हुनुभयो । ‘तिमी चिताउ म पुर्‍याईदिन्छु’ भने झैं उहाँको भेट दामोदर रेग्मी सँग भयो । जसले उहाँलाई इतिहास लगायत बिषय पढाउनुभएको थियो । उहाँ काठमाडौ फाइनान्सको डाइरेक्टर हुनुहुँदो रहेछ । ढुङ्गानाले रेग्मीकै फाइनान्सबाट ऋण लिएर व्यवसायलाई निरन्तरता दिने निधो गर्नुभयो ।

साढे ६ लाख रुपैयाँ ऋण माग गरी आफ्नो व्यवसायिक योजना समेत सुनाएपछि फाइनान्सले सहजै ऋण स्वीकार गर्‍यो । फाइनान्सबाट प्राप्त भएको साढे ६ लाख रुपैयाँ ऋण बाट उहाँले एउटा गाडी र ट्याङ्कर हालेर पुनः सेप्टिक ट्याङ्क व्यवसाय सुरु गर्नुभयो ।

२०५० सालदेखि सुरु भएको उहाँको व्यवसाय आज पर्यन्त चलिरहेको छ । अहिले उहाँका दुई वटा गाडी छन् । एउटा गाडीमा दुईजना कर्मचारी हुन्छन् । उहाँले सुरुवात गर्नुभएको व्यवसाय विस्तार भएर काठमाडौ उपत्यकामा करिब ५० को हाराहारीमा पुगेका छन् भने तराईका जिल्लाहरुमा पनि फैलिएका छन् ।

हेर्नुहोस् सेप्टिक ट्याङ्क व्यवसायबाट उदाएका ढुङ्गानाको संघर्षको कथा :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार