काठमाडौ : विश्व बैंकसँगको सम्झौता अवधि सम्पन्न भएसँगै अनिश्चयको भूमरीमा रुमल्लिरहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) लाई अझ सशक्त बनाएर सञ्चालन गर्ने खानेपानीमन्त्री उमाकान्त चौधरीले उदघोष गर्नुभएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको २६औं बार्षिकोत्सवको अवसरमा खानेपानी मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले खानेपानी र सरसफाइमा कोष विकास समितिले पुर्याएको योगदानलाई सराहना गर्दै कोष विकास समितिलाई मर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘२६ औं बर्ष पूरा गरिसक्दा यसको पनि इतिहास छ, यसको पनि लगानी छ । त्यसलाई त्यसै खेर जान दिने होइन, यसलाई व्यवस्थित गर्न जरुरी छ ।’ मन्त्री चौधरीले सँगै रहनुभएका खानेपानी सचिव सुरेश आचार्य तर्फ औल्याउँदै भन्नुभयो ‘सचिव ज्यू यही हुनुहुन्छ । यसलाई व्यवस्थापन गर्नका लागि तत्काल रकमान्तर गरेर हुन्छ कि, आउँदा दिनमा बजेट विनियोजन गर्दा कसरी व्यवस्थित गर्नुपर्छ ? त्यसलाई कार्यक्रममा राखौं ।’
बिस्तृतमा हेर्नुहोस् यो भिडियो :
उहाँले मन्तव्यको सुरुमै कोष विकास समिति खानेपानी मन्त्रालयको एउटा अभिन्न अंग भएको धारणा व्यक्त गर्नुभयो । करिब २० मिनेट लामो मन्तव्यको अधिकांश समय उहाँले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले लामो समय खर्चेर आर्जन गरेको ज्ञान, सीपलाई मर्न दिन नहुने र अझ यसलाई सशक्त बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
उहाँले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिलाई कसरी लैजाने भन्ने सवालमा अर्थमन्त्री एवं मन्त्रालयका प्रतिनिधीसँग पनि कुराकानी गरेको जानकारी गराउँदै यसलाई समाप्त गर्ने नभई संघीय संरचनामा लैजानुपर्ने बताएको जानकारी गराउनुभयो ।
‘हिजोसम्म हामीले सदुपयोग गर्यौं । हाम्रो दिगो विकास लक्ष्य सन् २०३० र पन्ध्रौं योजना मात्र होइन, एक घर एक धारा कार्यक्रम छ । यसलाई विस्तार पनि गर्नुछ । यसलाई व्यवस्थित पनि गर्नुछ । अब हिजोको कमीकमजोरीलाई सच्याएर आउँदा दिनमा यसलाई अझ व्यवस्थित गरेर लैजानुछ’ मन्त्री चौधरीले भन्नुभयो ‘त्यसका लागि हामीले दातृ निकायसँग निर्भर रह्यौं । अब आत्मनिर्भर हुनुपर्छ । यसलाई मर्न दिने होइन, जोगाउने हो । त्यसको लागि आफ्नै बजेटबाट भएपनि त्यसलाई हामीले निरन्तरता दिउ । जुन अहिले केही कार्यक्रमका लागि उहाँहरुले भन्नुभएको छ । त्यसका लागि संघीय संरचना अनुरुपको संरचना तयार गर्नुहोस् । अझ यसलाई व्यवस्थित गरेर लैजाऔं ।’ उहाँले भन्नुभयो ।
मन्त्री चौधरीले फण्ड बोर्डको दायरा फराकिलो रहेको चर्चा गर्दै भन्नुभयो ‘ग्रामीण भेगमा, ती ग्रामीण समुदायमा जहाँ अति विपन्न परिवारको बसोबास छ, जहाँ स्थानीय सरकार र प्रदेश सरकारको नजर पुगिरहेको छैन भने संघको पनि दायित्व हुन्छ । त्यसकारण यो अंगलाई पनि जीवित राखेर त्यो ठाउँमा पनि, हिमाल पहाडको कन्दरामा भएको ती भेगलाई व्यवस्थित गर्न पनि पुनर्जीवित गर्न जरुरी छ ।’
उहाँले थप जोड दिदै भन्नुभयो ‘यसलाई रिभ्यु गर्ने मात्र होइन, पुनर्स्थापित गर्न जरुरी छ । त्यसका लागि दातृ निकायसँग पनि कुरा गर्न जरुरी छ ।’ यस अघि विश्व वैंक सँग पनि कुरा राखेको जानकारी गराउँदै उहाँले ग्रामीण क्षेत्रको खानेपानी र सरसफाइको काम ग्रामीण खानेपानीलाई र शहरी क्षेत्र जुन ढल सहितको कार्यक्रम छ, त्यो चाहि शहरीलाई दिउँ भनेर विश्व बैंक सँग प्रस्ताव गरेको समेत जानकारी गराउनुभयो ।

त्यस अघि कोष विकास समितिका कार्यवाहक कार्यकारी निर्देशक ई.सञ्जय कुमार मिश्रले कोष विकास समितिले २६ बर्षको दौरानमा ३ हजार ४४३ खानेपानी आयोजनाहरू सम्पन्न गरी २७ लाख ९१ हजार जनसंख्यालाई आधारभूत खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराइसकेको जानकारी गराउनु भएको थियो । यस्तै क्षेत्रगत निकायहरुको समन्वय र सहकार्यमा देशलाई खुला दिशामुक्त अवस्थामा पुर्याउन साविकका २६३ गाविस र नगरपालिकाका वडास्तरिय स्वास्थ्य, सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनु भयो ।
उहाँले विश्व बैंकको वित्तिय सहयोगमा सञ्चालित ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना सम्पन्न भएपछि हालको अवस्थाबारे जानकारी गराउनुभएको थियो । २०७८ असार मसान्तमै सम्पन्न भईसकेको ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजनाको काम सम्पन्न गर्न अतिरिक्त ४ महिना थप गरेपनि उक्त समयभित्र समेत कार्य सम्पन्न नभएको उहाँले जानकारी गराउनुभयो ।
नेपालको ग्रामीण समुदायका वासिन्दालाई खानेपानी र सरसफाइको दिगो एवं भरपर्दो सुविधा उपलब्ध गराउने उद्देश्यले विकास समिति ऐन, २०१३ अन्तर्गत २०५२ साल चैत्र १ गते कोष विकास समितिको स्थापना भएको हो ।
बार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेल, खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठ तथा खानेपानी सचिव सुरेश आचार्य र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव वसन्त अधिकारीले समेत कोष विकास समितिले खानेपानी र सरसफाइ क्षेत्रमा निर्वाह गरेको भूमिकाको चर्चा गर्दै कोष विकास समितिलाई नवीन तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।


1516 पटक हेरिएको 

