काठमाडौ : विश्व पानी दिवस मनाउन सुन्दरीजलमा आयोजित कार्यक्रम स्थल मन्त्री, सचिव तथा सरकारका उच्च पदस्थ कर्मचारी एवं विद्यार्थीहरुले भरिभराउ थियो । लघु नाटक प्रदर्शन, ‘पानी र जीवनको यात्रा अनन्त’ नामक गीतको विमोचन एवं ‘जलस्रोतको महत्व र उपयोगिता’ सम्बन्धी वक्तृत्वकला प्रतियोगिता, दिवसका प्रमुख कार्यक्रमहरु थिए ।

कार्यक्रमको उद्घाटन र स्वागत मन्तव्य पछि कार्यक्रम सञ्चालक रत्न लामिछाने (सिनियर डिभिज्नल इन्जिनियर, खानेपानी मन्त्रालय) ले वक्तृत्वकला प्रतियोगिताको सुरुवात गर्नुभयो । त्यसअघि नै विभिन्न चरणमा छनौट भएर ३ जना छात्राहरु मात्र फाइनल चरणमा प्रवेश गरेका थिए । ‘जलस्रोतको महत्व र उपयोगिताबारे आफ्नो धारणा व्यक्त गरिदनुहुनका लागि म गोकर्णेश्वर महादेव माध्यमिक विद्यालयकी छात्रा एन्जिला थापालाई मन्चमा निम्त्याउछु ।’ कार्यक्रम सञ्चालकले माइक प्रदान गर्न साथ सुरु भयो छात्रा एन्जिला थापाका भनाइहरु ।
‘पानीको गति र जीवनको गति लगभग एउटै छ । हामीले हाम्रो जीवनको गतिशीलता पानी बाट नै पाएका हौं । मैले पानी जोगाउँदा आफ्नो जीवन जोगाएको अनुभूति गर्छु । हामीले हाम्रा पानीका स्रोतहरु जोगाउँदा जीवन जोगाएको महसुस गरौं ।’
एन्जिलाले बोलिरहँदा दिवस मनाउन भेला भएका कर्मचारी, विद्यार्थी तथा अन्यले खचाखच भरिएका दर्शकको ध्यान त्यतै तानिएका थिए । त्यसपछि अर्का दुई जना प्रतिस्पर्धीहरु आनन्द भैरव माध्यमिक विद्यालयकी सरिस्ना र इष्ट पोल माध्यमिक विद्यालयकी प्रियंसाले पनि दमदार प्रस्तुति गरेका थिए ।

छात्राहरुको वक्तृत्वकला प्रतियोगिता सकेपछि बोल्ने पालो आयो नेताहरुको । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर, बी.पी. म्युजियमका अध्यक्ष, वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष लगायतले मन्तव्य व्यक्त गर्नुभयो । मन्तव्यका क्रममा ती हरेक नेताले विद्यार्थीहरुको वक्तृत्वकलामा उठेका विषयबस्तुलाई प्रशंसा गर्न छुटाएनन् ।
कार्यक्रमका प्रमुख अतिथि खानेपानीमन्त्री उमाकान्त चौधरीले त भन्नुभयो ‘भाईबहिनीहरुले सानैदेखि यत्ति ठूलो सोच बनाएको छ, पानीको महत्वको बारेमा बुझ्नु भएको छ, बुझाउनुभएको छ । जे जत्ति आफ्नो मिहेनत गरेर प्रतिभा र कलालाई उजागर गर्नु भएको यहाँहरु सबैजना बधाईका पात्र हुनुहुन्छ ।’
सुनिल कुमार दास, कविन्द्र विक्रम कार्की र प्रतिभा न्यौपाने रहेको तीन सदस्यीय निर्णायक मण्डलले गोकर्णेश्वर महादेव माध्यमिक विद्यालयकी छात्रा एन्जिला थापालाई प्रथम भएको घोषणा गरे ।
हेर्नुहोस् एन्जिलाको वक्तव्य :


990 पटक हेरिएको 

