काठमाडौ : विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) का प्रोफेस्नल अफिसर डा. सुदन पन्थीले खानेपानीमा राखेको दिगो विकास लक्ष्य पूरा गर्न सन् २०३० पर्खिरहनु नपर्ने र आगामी दुईबर्ष भित्रै लक्ष्य हासिल हुन सक्ने बताउनुभएको छ । तर यसका लागि खुला दिसामुक्त अभियानमा जस्तै सबै साझेदारहरु जुटेर शत प्रतिशत उपभोक्ताले क्लोरिनेसन गरेर मात्र पानी पिउने अभियान चलाउनुपर्ने उहाँको भनाइ छ ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले आयोजना गरेको ‘खानेपानी तथा सरसफाइको दिगो विकास लक्ष्य प्राप्तिको लागि संयुक्त प्रयास’ बिषयक अन्तरक्रियामा उहाँले क्लोरिनेसन गरेर मात्र पानी पिउने हो भने उपभोक्ताले सुरक्षित पानी पिउन पाईने बताउनुभयो ।
दिगो विकास लक्ष्य ६ को उपलक्ष्य १ मा सुरक्षित खानेपानी प्रयोग गर्ने जनसंख्याको प्रतिशत सन् २०३० मा ९० प्रतिशत पुर्याउने उल्लेख छ । यस्तै सन् २०२२ मा ५० प्रतिशत पुर्याउनुपर्ने लक्ष्य भए पनि हाल नेपालमा सुरक्षित पानी पिउने जनसंख्या १८ प्रतिशत मात्र छ । सन् २०१९ मा २५ प्रतिशत पुगिसकेको यो प्रतिशत अहिले घट्दो क्रममा छ । यस्तै २०२५ मा ६५ प्रतिशत पुर्याउने लक्ष्य निर्धारण गरिएको छ ।
‘सबै उपभोक्ताले क्लोरिनेसन गरेर मात्र पानी पिउनुपर्ने अभियान थालौं, त्यसैभित्र पानी सुरक्षा योजना (वाटर सेफ्टी प्लान) पनि आउँछ, सुरक्षित खानेपानीयुक्त समुदाय पनि बन्छ’ उहाँले भन्नुभयो ।
विस्तृतमा हेर्नुहोस् भिडियो :
उहाँले सबै उपभोक्ताले क्लोरिनेसन गरेर पिउने हो भने नेपालमै यसको उद्योग स्थापना गर्नुपर्ने बताउनुभयो । ‘नेपालमा अहिलेसम्म क्लोरिनको फ्याक्ट्री छैन । अब क्लोरिन उद्योग नेपालमै खोलौं, कतिमा पाईन्छ, कहाँ पाईन्छ ? कतिसम्म राख्न सक्छि ? कसरी प्रयोग गर्ने, प्रयोग गरेको ठिक भए नभएको कसरी जाँच गर्ने ? यसबारे उपभोक्तालाई सुसुचित गरौं’ उहाँले भन्नुभयो ।
२०१९ मा २५ प्रतिशत थियो, २०२५ मा १२ प्रतिशतमा झर्न सक्छ
सुरक्षित पानी पिउने जनसंख्याको प्रतिशत बढ्नुको साटो घट्दै गएको उल्लेख गर्दै उहाँले यस्तो विधि अबलम्बन नगरे अबको तीन बर्ष पछि १२ प्रतिशतमा झर्न सक्ने तर्फ सचेत गराउनुभयो । ‘ओडिएफमा जसरी लाग्यौ, अब सबै साझेदारहरु ओडिएफ क्याम्पेनमा जस्तै जुटौं । १०० प्रतिशत क्लोरिनेसन गर्दै घोषणा गर्दै जाऔं, २०३० मा होइन अबको २ बर्ष भित्र पूरा हुन्छ । तर यो नगरी ठूला ठूला बैठक मात्र गर्यौं भने पहिले सन् २०१९ मा २५ थियो । अहिले १८ प्रतिशतमा झरेको छ । अब २०२५ पछि समीक्षा गर्दा १२ प्रतिशतमा झर्न सक्छ’ उहाँले सचेत गराउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले खुला दिसामुक्त अवस्था समेत कागजमा मात्र सीमित रहेको भन्दै व्यवहारिक रुपमा हामी कहाँ छौं ? भनेर पुनर्मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । उहाँले यस्ता कामहरुलाई कागजमा मात्र सीमित नराखी व्यवहारिक रुपमा उभिन सचेत गराउनुभयो ।
युनिसेफ नेपाल, वाटर एड नेपाल र फान्सा सँगको सहकार्यमा फेडवासनले आयोजना गरेको कार्यक्रममा विभिन्न तीन वटा कार्यपत्र प्रस्तुत गरी कार्यपत्र माथि सहभागीहरुले सल्लाह तथा सुझाव र केही जिज्ञासा समेत राखेका थिए ।
कार्यक्रममा खानेपानी, सरसफाइ र स्वच्छता (वाश) क्षेत्र सँग सम्बन्धित बहुसरोकारवालाको सहभागिता थियो ।


796 पटक हेरिएको 

