सुकेको पोखरीमा कमलको फूल फुलाउने यस्तो छ ललितपुर मेयरको योजना (भिडियो)

ललितपुर : काठमाडौ उपत्यकाका पुराना ढुङ्गे धारा (हिटी) र पोखरीहरु मासिदै गएका छन् । बढ्दो शहरीकरण र पाइप तथा बोरिङको पानी प्रयोग गर्न थालेपछि ढुङ्गेधाराहरु पुरिदै गएका हुन् भने पोखरीहरु अतिक्रमणका कारण नासिदै गएका छन् ।

तर ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने अतिक्रमित पोखरी फिर्ता ल्याउने मात्र होइन कि सुकेका पोखरीमा कमलको फूल फुलाउने समेत योजना बनाउनुभएको छ । प्रश्न उठ्न सक्छ कि सुकेको पोखरीमा कमलको फूल फुलाउन कसरी सम्भव होला ? तर उहाँले ललितपुरमा भएको एउटा कार्यक्रममा कमलको फूल फुलाउने आफ्नो योजनाबारे बेलिबिस्तार लगाउनुभयो ।

उहाँले लगनखेलमा राजदल गणको पश्चिम र दक्षिण तिरको ३० रोपनी जग्गा नगरपालिकाकाले फिर्ता ल्याईसकेको र सप्तपातल पोखरीको १४ रोपनी दश आना २ पैसा गरी करिब ४५ रोपनी भित्र कमलको फूल फुलाउने योजना रहेको जानकारी गराउनुभयो ।

यसका लागि महानगरपालिकाले नेपाल आर्मीसँग समझदारी गरिसकेको छ । यसका लागि चक्रपथ बनाउने क्रममा मासेको राजकुलो ल्याएर पानी भर्ने महानगरपालिकाको योजना छ । मेयर चिरीबाबु महर्जनका अनुसार टिकाभैरव हुँदै राजकुलो अहिले ढोलाहिटीसम्म आईसकेको छ । राजकुलो ल्याउन ढोलाहिटीदेखि लगनखेलको अशोक स्तम्भसम्म मात्र बाँकी छ । जसको दुरी १४ किलोमिटर छ । अहिले राजकुलो लगनखेलसम्म ल्याउनका लागि चक्रपथलाई छिचोल्न सम्भाव्यता अध्ययन भईरहेको मेयर महर्जनले बताउनुभयो ।

राजकुलो ल्याएर पोखरीमा भरेपछि कमलको फूल फुलाउने र लगनखेलमा पानी रिचार्ज भएपछि त्यसभन्दा तलतिर रहेका पोखरी, कुवा, इनार र ढुङ्गेधारामा स्वतः पानी आउने उहाँको भनाइ छ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

उहाँका अनुसार ललितपुर महानगरपालिका भित्र ६७/६८ वटा ढुङ्गेधाराहरु थिए । सयौं वटा कुवा तथा इनारहरु थिए । तर अहिले यी सबै क्षयीकरण हुँदै गएको छ । चक्रपथ बनाउँदा राजकुलो मासिए पछि ढुङ्गेधारा तथा इनार र पोखरीहरु सुक्दै गएको उहाँको भनाइ छ । लगनखेलको अलि उच्च भुभाग जहाँ राजदल गण बसेपछि त्यहाँका पोखरीहरु सुकेको र रिचार्ज हुन नपाउँदा तल्लो भेगमा रहेका ढुङ्गेधाराहरु समेत सुक्दै गएको उहाँको ठम्याई छ ।

अब पुनः राजकुलो ल्याएर लगनखेलमा भएका पोखरीहरुमा पानी भरिएपछि सुकेका धारा, इनार, कुवा, पोखरीले पुनर्जीवन पाउने उहाँको ठम्याइ छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार