काठमाडौ : खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य द्वारा रचित ‘पानी र जीवनको यात्रा अनन्त’ बोलको गीतको हालै विमोचन गरिएको छ । सांगीतिक क्षेत्रमा ‘सियरा’ उपनामले परिचित सचिव आचार्यका यस अघि ‘तिम्रो प्रेरणाले’ र ‘तिमी आकाश छुन’ नामक गीति एल्बम उपलब्ध छन् ।
यसपटक गीतकार आचार्यले ‘खानेपानी र सरसफाइ’ सम्बन्धी गीतबाट उपभोक्तालाई खानेपानी र सरसफाइ अधिकार प्रति सचेत गराउन खोज्नुभएको छ भने जलाशय रित्तिदा मानिसको जीवन समेत नष्ट हुने यथार्थतालाई बोधगम्य तरिकाले सचेत गराउन लाग्नुभएको छ । गीतमा संगीतकार महेश खड्काले संगीत भर्नु भएको छ भने गायक दिपक लिम्बु र गायिका दिपा सुहाङ लिम्बुले स्वर दिनु भएको छ ।
गीतमा गीतकार आचार्यले पानी बिना जीवनको कुनै मूल्य नहुने र जीवनको अन्त्य नहुँदा सम्म पानीको आवश्यकता पर्ने शिक्षा दिनुभएको छ । गीत मार्फत स्वच्छ पानी र सरसफाइको सुविधा मौलिक हक हो भनेर बुझ्नका लागि पनि उहाँले आग्रह गर्नुभएको छ ।
आचार्यद्वारा रचित गीतलाई विश्व पानी दिवसका दिन गायक दिपक लिम्बु र गायिका दिपा सुहाङ लिम्बुले लाइभ गाउनुभयो । पानीको महत्वलाई गीतको माध्यमबाट बुझाउन खोजिएको यो नै पहिलो गीत हो ।
हेर्नुहोस् खानेपानी सम्बन्धी यो गीत :
सचिव आचार्यले रचना गर्नु भएको गीतले खानेपानी मन्त्रालयको नीति तथा कार्यक्रम बोलेको छ । गीतमा सचिव आचार्य लेख्नुहुन्छ ।
शुद्ध, स्वच्छ पानी पिउने अनि गर्ने सरसफाइ
मौलिक हक हो, हाम्रो बुझौं दिदीबहिनी दाजुभाइ ।
पहाडको बस्ती मुनि धमिलै छ पानी
पिउन बाध्य छौं हामी जानी नजानी ।
पानी र जीवनको यात्रा जीवन्त
पानी र जीवनको यात्रा अनन्त
पानी बिनाको जीवन हुन्न जीवन्त ।।
उहाँले तराईको फाँटमा इनार सुकेको, आर्सेनिकयुक्त पानी विष समान भईसकेको कुरालाई कति सरल र सरस भाषामा बुझाउनु भएको छ । उहाँले जलाशय रित्तिए जीवन कष्टकर हुने कुरालाई सचेत गराउँदै देशभर पानीको मूल फुट्ने स्रोतको खोजी गर्न जाँगर भर्नु भएको छ ।
तराईको फाँटको पनि सुकिसक्यो इनार
आर्सेनिकयुक्त पानी बनिसक्यो जहर ।
जलशाय रित्तिएपछि जीवन हुन्छ कष्टर
मूल फुट्ने स्रोत खोजौं अब मुलुकभर ।
खानेपानीको मात्र कुरा छैन गीतमा, खुला दिसामुक्त अभियान जारी राखी खुला दिसामुक्त अवस्थाको दिगोपनामा जोड दिन र सरसफाइ अभावका कारण हुने रोगहरु भगाउन पनि गीतले सचेत गराएको छ ।
खुला दिसामुक्त अभियान जारी राखौं
झाडावान्ता अन्त्य गर्न नयाँ कदम चालौं ।
खानेपानी र सरसफाइको लागि चेतनाको विगुल बनेर आएको यो गीतले खानेपानी र सरसफाइ सम्बन्धी सचेतना अभिवृद्धि गर्न ठूलो भूमिका निर्वाह गर्नेछ ।


1004 पटक हेरिएको 

