खानेपानी तथा सरसफाइ सेवाबाट नेपालीको औसत आयु बढ्यो, बाल मृत्युदर घट्यो : सहसचिव खत्री

काठमाडौ : खानेपानी मन्त्रालयका सहसचिव तिरेस प्रसाद खत्रीले खानेपानी र सरसफाइ सुविधाबाट नेपालीको औसत आयुमा बृद्धि भएको र बालमृत्युदरमा कमी आएको बताउनुभएको छ । राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तर्जुमा सम्बन्धी परामर्श कार्यशाला गोष्ठीमा उहाँले नेपालले विगत तीन दशकको अवधिमा खानेपानी तथा सरसफाइ क्षेत्रमा गरेको उल्लेखनिय सुधारबाट नेपालीको औसत आयु बृद्धि भएको र बाल मृत्युदरमा कमी आएको बताउनुभयो ।

सहसचिव खत्रीले भन्नुभयो ‘खानेपानी र सरसफाइको आधारभूत सेवा पुर्‍याउन सकेको कारणले नै जनताको स्वास्थ्य स्थितिमा उल्लेखनीय सुधार भएको, बालमृत्युदरमा कमी आएको, नेपालीको समग्र आयु बढ्न गएको, ग्रामीण परिवेशमा पानी बोक्ने समय बचत भएको, जीवनस्तर सहज बनेको, उत्पादन क्षमतामा अभिवृद्धि भएको, महिलाहरुको कार्यबोझ कमी भएको, बालबालिकाहरुको स्कुल हाजिरीमा अनुकुल सुधार आएको तथा ग्रामीण र शहरी क्षेत्रहरुमा जीवनयापनको लागि आवश्यक पानीको जोहो गर्नु सरल बन्दै गएको जस्ता उपलब्धी हासिल भएका छन् ।’

उहाँले सन् १९९० मा केवल ३७ प्रतिशत जनसंख्यामा मात्र खानेपानीको पहुँच रहेकोमा हाल ९४ प्रतिशत जनतालाई आधारभूत स्तरको खानेपानी सेवाको पहुँच पुगेको जानकारी गराउनुभयो । ती मध्ये २४ प्रतिशत नागरिकको उच्च तथा मध्यमस्तरको खानेपानी सेवामा पहुँच पुगेको छ ।

उहाँले नेपाल सरकार, विकास साझेदार, नागरिक समाज, देशबासीहरुको अथक प्रयासले देश सरसफाइ क्षेत्रमा खुला दिसामुक्त राष्ट्र घोषणा भएको र स्वच्छता तर्फ साबुन पानीले हात धुने आनीबानीमा सन्तोषजनक प्रगति हासिल भएको उल्लेख गर्नुभयो ।

हेर्नुहोस् यो भिडियो :

पिछडिएका र महिलालाई मूलधारमा ल्याईने

सहसचिव खत्रीले खानेपानी आपूर्तिको योजनाबद्ध थालनीबाट वर्तमानसम्म आईपुग्दा धेरै पद्धति अबलम्बन गरेको उल्लेख गर्दै त्यसमध्ये सबैभन्दा सफल र प्रभावकारी पद्धति भनेको खानेपानी, सरसफाइ र स्वच्छताका क्रियाकलापहरुको एकीकृत कार्यान्वयन, आयोजनाका प्रत्येक क्रियाकलापमा उपभोक्ताहरुको सक्रिय सहभागिता, निर्णय प्रक्रियामा समुदायको पहुँच, खर्चमा पारदर्शिता जस्ता पक्ष नै रहेको बताउनुभयो । उहाँले महिला वा पिछाडिएकालाई मुलधारमा ल्याउने र सुशासन नै अबको प्राथमिकता भएको बताउनुभयो ।

तत्कालीन एकात्मक प्रणाली अनुरुप तयार गरिएका राष्ट्रिय सरसफाइ नीति २०५१, खानेपानी तथा सरसफाइ नीति २०५५, ग्रामीण खानेपानी तथा सरसफाइ नीति २०६२ र शहरी खानेपानी तथा सरसफाइ नीति २०६७ जस्ता नीतिहरु ग्रामीण तथा आधारभूत स्तरको सेवामा मात्र केन्द्रित भएकाले हाल अंगीकार गरिएको संघीय प्रणाली अनुकुल समष्टिगत र एकीकृत रुपमा परिमार्जन गरी राष्ट्रिय नीति निर्माण गर्न सबै सरोकारवालाले आवश्यकता महसुस गरेको हुँदा खानेपानी मन्त्रालयबाट राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तर्जुमाको प्रक्रियामा रहेको उहाँले जानकारी गराउनुभयो ।

नीतिको मस्यौदमा सरोकारवालाहरुको सहभागिताबाट बृहत छलफल तथा परामर्श गरी प्राप्त भएका अमूल्य राय सुझावको आधारमा थप परिस्कृत हुने र सरोकारवाला सबैको सहभागिताबाट तयार भएको नीतिप्रति सम्पूर्णको अपनत्व हुने उहाँको विश्वास छ । यसबाट मात्र नीतिको सफलतापूर्वक कार्यान्वयन हुने उहाँले अपेक्षा गर्नुभयो ।
राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति तर्जुमा सम्बन्धी परामर्श कार्यशाला गोष्ठीमा खानेपानीमन्त्री उमाकान्त चौधरी स्वयंले छलफलमा भाग लिनुभएको थियो ।

कार्यशालामा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका पूर्व सचिवहरु, खानेपानी तथा ढल व्यवस्थापन विभागका पूर्व महानिर्देशकहरु, सात वटै प्रदेशका खानेपानी सचिव तथा महाशाखा प्रमुखहरु, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक, उप महानिर्देशक तथा विभिन्न आयोजनाका आयोजनाहरु प्रमुखहरु, विकास साझेदार, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, नागरिक समाज, पत्रकार र अन्य सरोकारवालाहरुको सहभागिता थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार