काठमाडौ : मेलम्चीको पानी काठमाडौ उपत्यकामा वितरण गर्ने अन्तिम तयारी छ । सुन्दरीजलमा आईसकेको मेलम्चीको पानीलाई प्रशोधन गरेर थोक वितरण प्रणाली मार्फत काठमाडौ उपत्यकाका पानी पोखरीहरुमा पठाउन मात्र बाँकी छ । सुरुङ मार्फत ल्याएको मेलम्चीको पानीलाई प्रशोधन गर्न सुन्दरीजलमा दुई वटा प्रशोधन केन्द्रहरु बनेका छन् । ती दुवै प्रशोधन केन्द्र साढे आठ आठ करोड लिटर क्षमताका छन् ।
प्रशोधन केन्द्रबाट प्रशोधित भएर आएको पानी काठमाडौ उपत्यकामा रहेका १० वटा पानी पोखरीहरुमा जम्मा हुन्छ । पानी पोखरी अर्थात रिजर्भ्वायर ट्याङ्कहरुमा जम्मा भएको पानीलाई समानुपातिक तरिकाले वितरण गर्ने जिम्मेवारी भने काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को हो ।
काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले गत साल पनि मेलम्चीको पानी वितरण गरिसकेकाले पोहोर साल जत्ति चुनौती यसपाली नरहेको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत ई.मिलन कुमार शाक्यले बताउनुभयो ।
गत साल पानी वितरण गर्ने क्रममा भएको पानीको चुहावट, सडक विभागसँग सडक भत्काउने स्वीकृतिमा भएको ढिलाई र यसले आवगमनमा पारेको असर, पानी नपुगेको क्षेत्र, २४सै घण्टा पानी वितरण गर्दा पानी उपभोगको प्रवृत्ति लगायत सिकाई हासिल गरिसकेको केयूकेएलले सकभर यसपटक पानीको समानुपातिक वितरण गर्ने तयारी गरेको छ ।
यसै सन्दर्भमा हामीले काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत ई.मिलन कुमार शाक्यसँग कुराकानी गरेका छौं ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :