पत्रकार निर्मला शर्माको महिनावारी अनुभव : १२औं दिनमा घाम हेरें, २१ दिन बारें, २२ औं दिनमा घर फर्कें

‘आमा ! यता सुन्नु न । म त महिनावारी पो भएँ ।’ आत्तिएको स्वरले आमालाई बोलाएँ र महिनावारी भएको खबर सुनाएँ । ‘ल ल लुक । कहाँ यता हेरेर बसेकी ?’ आमा पनि थोरै आत्तिनुभयो ।

पहिलो पटक महिनावारी भएपछि चार महिनासम्म दोस्रो पटकको महिनावारी भएन । मेरो विवाह भयो । विवाह गरेर गएपछि घरमा दोस्रो पटक महिनावारी भएँ । विवाहको समयमा महिनावारी हुन्छु भनेर पहिला छिटो हुने औषधी खुवाए ।

आमाले भाइको, बुबाको मुख हेर्न हुन्न । आफ्नो घरमा बस्न हुन्न । घरको धुरी हेर्न हुन्न । घाम र्हेन हुन्न भन्नुहुन्छ भन्ने थाहा पाएर नै म घर नजिकैको जंगलमा गएर बसेकी थिएँ । त्यहीँबाट आमालाई बोलाएर आफू महिनावारी भएको खबर सुनाएँ ।

त्यत्तिबेला चौध पुगेर पन्ध्र बर्ष लागेकी थिएँ । माघ महिनामा एस.एल.सी. दिएको एक हप्तापछि नै पहिलो पटक महिनावारी भएकी थिएँ । मन अलि आत्तिएकोले आमालाई भन्न सकिन । डर लाग्यो । महिनावारी भएँ भनेपछि त अर्काको घरमा सुत्न जान परिहाल्थ्यो । रगत पनि त्यत्ति बगेको थिएन । त्यसैले दुई दिनसम्म कसैलाई नभनी बसें । एस.एल.सी. दिएकोले साथीहरुसँग पनि भेटघाट थिएन । साथीहरुलाई भन्न पनि पाइएन । केही साथीहरु तथा दिदीहरु महिनावारी भइसकेका हुनाले महिनावारी हुँदा अरुको घरमा गएर लुक्नुपर्छ, छोरामान्छेको अनुहार हेर्न हुन्न भन्ने कुरा थाहा थियो ।

महिनावारी भएको दुईदिन भित्रमा मैले आमाको पुरानो सुती धोती च्यातेर पट्याइ ओरी रगत सोस्नको लागि प्रयोग गरिसकेकी थिएँ । बाठी भएर पट्याएका केही कपडा अरु दिनलाई पनि राखें । आमालाई महिनावारी भएको खबर सुनाएपछि आमाले पनि सुतीको धोती च्यातेर दिनुभयो । परिवारमा धेरैजसो महिनावारी अलि ढिला हुन्थे । त्यसैले म पनि १५ बर्ष लागेपछि मात्र भएँ । घरमा विवाह नगरिकन पहिलो पटक महिनावारी हुने म मात्र थिएँ । जेठी दिदी र माहिली दिदी विवाह गरिसकेर महिनावारी हुनुभएको थियो । उहाँहरु सोह्र बर्षमा महिनावारी हुनुभयो । म चाहिं उहाँहरु भन्दा थोरै छिटो भएँ ।

बुबाले हामी छोरीहरुलाई एकछिन नदेखे पनि कहाँ गए भनेर खोजी गर्नुहुन्थ्यो । अरु कसैको घरमा गएर बस्न दिनुहुँदैनथ्यो । मामाघर गयौं भने पनि आइहाल भन्नुहुन्थ्यो । अर्काको घरमा गयौं भने कहाँ सुत्छन् ? भनेर बुबालाई खुब चिन्ता पथ्र्यो । त्यसैले जसको पायो त्यसको घरमा राख्न बुबाले मान्नुभएन । विश्वासिलो मान्छे कहाँ राख्ने भनेर गाउँकै एकजना सानीआमा कहाँ राख्नुभयो । त्यो घरमा छोराहरु बाहिर बसेर पढ्थे । एक जना छोरी चाहिं सँगै बस्थिन् । त्यहीँ बसें । एघार दिनसम्म घाम हेर्न हुँदैन भनेर बाहिर निस्किन । बाह्रौं दिनको दिन घाम हेरें ।

दिनदिनै घाम झुल्कनुभन्दा अगाडि बिहानै उठेर नुहाउनुपर्थ्यो । एक्काइस दिनसम्म बारेर त्यही घरमा बसें । सुतेको ठाउँ पोत्नुपर्थ्यो । हामी पाँच जना दिदिबहिनीको एउटै भाइ थियो । अरु दुई जना दिदी विवाह गरेर घरमै गएर महिनावारी हुनुभयो । बारेन भने भाइलाई पिर्छ भनेर आमाले एक्काइस दिनसम्म नै बार्न लगाउनुभयो । बुबाले त सत्र दिनमै ल्याउनुपर्छ भनेर जिद्धि गर्नुभएको थियो तर आमाले मान्नु भएन ।

घरमा बुबाले धेरै कडा गर्नुहुन्थ्यो । कतै जान पाईदैनथ्यो । लुक्न बसेको घरको वरिपरि घरैघर थिए । साथीहरु पनि धेरै थिए । बाह्र दिनको दिन घाम नहेरेपछि त साथीभाइसँग खेल्न पाइहालियो । मलाई त त्यहीँ पो रमाइलो भयो । महिनावारी बारेर बाइस दिनको दिन घर फर्किएँ ।

मेरो ठूलो बुबाको दुईटा छोरा, मेरो दाइ र मैले सँगै एस.एल.सी. दिएका थियौं । हामी एउटै किताब बाँडेर पढ्थ्यौं । प्रायः म उनीहरुसँगै नै पढ्ने, खेल्ने, कुद्ने गर्थें । बेला बेलामा हाम्रो कुस्ती पनि पर्थ्यो । मेरो केटीभन्दा केटा साथीहरु नै धेरै थिए । एक्काइस दिनको दिन त्यहाँबाट निस्केपछि बुबा र ती दाइहरुसँग मुख कसरी देखाउने भन्ने खालको डर तथा लाज लाग्यो ।

अचम्म ! के के न बिरामै गरे जस्तो ? महिनावारी हुँदा केटामान्छेहरुको मुख हेर्न हुन्न भनेकाले पनि त्यस्तो लागेको होला । महिनावारीले मलाई उनीहरुबाट टाढा बनाईदियो । यसले गर्दा मैले उनीहरुबाट पाउने सूचना, सहयोगको साथ साथै आत्मविश्वास पनि गुमाएँ ।

पहिलो पटक महिनावारी भएपछि चार महिनासम्म दोस्रो पटकको महिनावारी भएन । मेरो विवाह भयो । विवाह गरेर गएपछि घरमा दोस्रो पटक महिनावारी भएँ । विवाहको समयमा महिनावारी हुन्छु भनेर पहिला छिटो हुने औषधी खुवाए । विवाह गर्न चार पाँच दिन बाँकी भएपछि महिनावारी नहुने औषधी खुवाए । यसरी औषधी खुवाएपछि मलाई साह्रै गाह्रो भयो ।

विवाह गरेर गएको केही दिनमा नै महिनावारी भएँ । महिनावारी भएपछि घरबाहिर पिंँढीमा सुत्नुपर्छ भन्नुभयो । म त बाहिर सुत्दिन भनेर जिद्धि गरें । घरपरिवारले भित्र सुत्दा छोरालाई जाति हुन्न भन्दै हुनुहुन्थ्यो । पछि आफ्नै कोठामा एक छेउमा ओछ्यान लगाएर सुतें ।

मेरा दुईटी छोरीहरुलाई सानैमा आमासँग छोडेर म पढ्न थालें । काम गर्न थालें । अलि ठूलो भएपछि होस्टेलमा राखें । पत्रकारिता गर्न थालें । त्यसैले छोरीहरुलाई सिकाउने, सम्झाउने समय नै मिलेन र त्यत्ति घुलमिल पनि हुनपाएन । अहिले पनि बच्चाहरुले धेरै कुराहरु मसँग भन्दैनन् ।

नोट : महिनावारी अनुभूति कथाहरुको सँगालो ‘ती चार दिन’ नामक पुस्तकबाट साभार गरिएको ।

हेर्नुहोस्, केही समय अघि उक्त पुस्तकको विचोचन कार्यक्रममा पत्रकार शर्माले व्यक्त गर्नुभएको अनुभव :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार