काठमाडौ : काठमाडौं उपत्यकामा हैजाका बिरामी बढिरहेका बेला खानेपानी तथा ढल व्यवस्थापन विभागले खानेपानी प्रदायक संस्थालाई सुरक्षित पानी मात्र वितरण गर्न र उपभोक्तालाई कुनै न कुनै तरिकाले पानी शुद्धिकरण गरेर मात्र पिउन आग्रह गरेको छ । बर्षातको समयमा पानीका स्रोतहरु प्रदुषित हुनसक्ने र यसको असर जनस्वास्थ्यमा पर्ने भएकाले खानेपानी शुद्धिकरण गरेर मात्र पिउन आग्रह गरिएको हो ।
काठमाडौको केही स्थानमा हैजाका बिरामीहरु भेटिएको र यो दुषित पानीको सेवनबाट हुने भएकाले खानेपानी उमालेर वा क्लोरिनेसन गरेर मात्र पिउन खानेपानी तथा ढल व्यवस्थापन विभाग, गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख सिनियर डिभिज्नल इन्जिनियर नारायण प्रसाद आचार्यले आग्रह गर्नुभयो । वास खबर सँग कुराकानी गर्दै उहाँले बर्षातको समयमा पानीका स्रोतहरु थप प्रदुषण हुन सक्ने सम्भावना भएकाले पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्नेमा जोड दिनुभयो ।
काठमाडौ उपत्यकाका १० जनामा हैजा भएको पुष्टि भईसकेको छ । हालसम्म बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोट, नैकाप र पाटनका मानिसमा हैजा पुष्टि भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौका अनुसार आइतबार पाटन र नैकापका एक/एक जनामा पनि हैजा भेटिएको हो । पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ भने कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको छ ।
संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामी देखा पर्नुले हैजा महामारीकै रुपमा फैलिन थालेको पूर्व संकेत देखिएको जनस्वास्थ्यविद्हरुले बताएका छन् । काठमाडौ उपत्यकामा हैजाका बिरामी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जार, बोतल तथा टयांकर व्यवसायीहरुले बिक्री गर्ने पानीको गुणस्तर अनुगमन गर्न थालेको छ । ललितपुरमा भने पानी पुरी विक्रीमा रोक लगाईसकेको छ ।
हेर्नुहोस्, यो भिडियो :


961 पटक हेरिएको 

