तेमाल बृहत खानेपानी आयोजना : सम्पन्न अगावै पानी वितरण सुरु (भिडियो)

  वास खबर समाचारदाता  382 पटक हेरिएको

काभ्रे : तेमाल बृहत खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न हुने चरणमा पुगेको छ । खानेपानी आयोजनाको संरचना निर्माणका लागि दुई चरणमा भएको सम्झौता मध्ये पहिलो चरणको ठेक्का अन्तर्गतको काम सम्पन्न भईसकेको र दोस्रो चरणको पनि अन्तिम चरणमा पुगेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो ठेक्का सम्झौता अन्तर्गत ट्रान्समिसन लाइन (सुनकोशी नदीमा सम्पवेल निर्माण, पानी प्रशोधन संयन्त्र निर्माण एवं सात स्टेजमा लिप्टिङ गरी याङबेल डाँडासम्म पुर्‍याउने काम) र दोस्रो ठेक्का सम्झौता अन्तर्गत ड्रिस्ट्रिब्यूसन (२३ वटा वितरण ट्याङ्कीहरु, वितरण पाइपलाइन तथा घरघरमा धारा जडान गरी पानी वितरण सम्म) का कामहरु रहेको आयोजनाका इन्जिनियर सुरेश सत्यालले जानकारी दिनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र ठेकेदार कम्पनी बीच पहिलो प्याकेजका लागि २०७३ बैशाख २६ गते र दोस्रो प्याकेजका लागि २०७५ असार २२ गते ठेक्का सम्झौता भएको हो ।

निर्माण कम्पनीले सबै काम सम्पन्न गरी वितरण च्याम्बर, ब्रेक प्रेसर ट्याङक (बिपीटी) र घरघरमा धारा जडानको काम गरिरहेको ठेकेदार कम्पनीका कालिका सिएभी जेभीका प्राविधिक पप्लुचाल चौधरीले जानकारी दिनुभयो ।

हेर्नुहोस् यो भिडियो :

पानी वितरण सुरु

तेमाल बृहत खानेपानी आयोजनाका केही कामहरु बाँकी रहेपनि सुनकोशी देखि याङबेला डाँडा सम्मका सबै रिजर्भ ट्याङ्क र वितरण ट्याङ्कीहरुको सफल परिक्षण भईसकेको र धारा जडानको काम पनि सम्पन्न भईसकेका घरहरुलाई पानी वितरण समेत गरिरहेको उपभोक्ता समितिका अध्यक्ष संग्रामजीत लामाले बताउनुभयो ।

उहाँले सबै संरचना निर्माण सम्पन्न गरेर वितरण गर्ने भन्दा पनि खानेपानी वितरण गर्न सम्भव भएको ठाउँमा वितरण गर्दै लैजाने र बाँकी रहेको काम निर्माण गर्दै जाने बताउनुभयो ।

तेमाल बृहत (सुख्खाक्षेत्र) पम्पिङ खानेपानी आयोजना, काभ्रेको तेमाल गाउँपालिकाको ९ वटै वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ नम्बर वडा, तथा रोशी गाउँपालिकाको वडा नं. ७ का केही बस्ती गरी ९ हजारभन्दा बढी घरपरिवारलाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले निर्माणाधीन खानेपानी आयोजना हो ।

कोरोना महामारी रोकथामका लागि सरकारले गरेको दुई दुई पटकको लकडाउनका निर्धारित समयमै सम्पन्न हुन नसकेको खानेपानी आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई यही मंंसिर मसान्तसम्मको समय दिईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार