इन्द्रावती वृहत खानेपानी समयमै सम्पन्न गर्न गाउँपालिका प्रतिबद्ध छ : अध्यक्ष नेपाल (भिडियो)

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा सञ्चालित इन्द्रावती वृहत खानेपानी तथा सरसफाइ आयोजना समयमै सम्पन्न गर्न गाउँपालिका प्रतिबद्ध रहेको गाउँपालिकाका अध्यक्ष झम्का नेपालले बताउनुभएको छ । इन्द्रावती वृहत खानेपानीको वर्तमान अवस्था एवं खानेपानीको स्रोत रहेको क्षेत्र सिम्पालकाभ्रेका बासिन्दाका मागहरुका सवालमा गाउँपालिकाको धारणा लगायत बिषयमा वास खबरसँग कुराकानी गर्दै अध्यक्ष नेपालले इन्द्रावती वृहत खानेपानी तथा सरसफाइ आयोजना समयमै सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले सिम्पालकाभ्रेमा रहेको पानीको स्रोतको उपयोग गरेबापत त्यस भेगका नागरिकको शिक्षा, स्वास्थ्य, सडक, विजुली लगायतका बिषयमा भएको प्रतिबद्धता क्रमशः कार्यान्वयन भईरहेको र इन्द्रावती गाउँपालिकाका जनतालाई पानी खुवाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

जनप्रनिनिधी हुनुभन्दा पहिले पनि मुहान क्षेत्रका बासिन्दासँग भएका विभिन्न छलफल र अन्तरक्रियाहरुमा भाग लिनुभएका अध्यक्ष नेपाल, प्रभावित क्षेत्रका बासिन्दासँग गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नकै लागि अन्य वडालाई भन्दा वडा नं. १ लाई बढी प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताउनुुहुन्छ ।

सिम्पाल काभ्रेको सेर्क्युङ् खोलाको पानीलाई इन्द्रावती गाउँपालिकाको वडा नं. ४ देखि १२ सम्मका जनतालाई उपलब्ध गराउने गरी इन्द्रावती वृहत खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन भईरहेको छ ।

विस्तृतमा हेर्नुहोस्, गाउँपालिका अध्यक्ष नेपालले इन्द्रावती वृहत खानेपानी तथा सरसफाइ आयोजना समयमै सम्पन्न गर्नका लागि गर्नुभएका प्रतिबद्धता :

जलवायु अनुकुलित खानेपानी आयोजना अन्तर्गत सन्चालित इन्द्रावती वृहत खानेपानी तथा सरसफाइ आयोजना इन्द्रावती गाउँपालिकाको वडा नंं ४ देखि १२ सम्मका जनतालाई स्वच्छ र शुद्ध खानेपानी खुवाउने लक्ष्य सहित दुई बर्ष यता कार्यान्वयन भईरहेको छ ।

खानेपानी आयोजनाको मुहान विवाद, खानेपानीको संरचनाहरु निर्माणका लागि आवश्यक जग्गा प्राप्तिमा समस्या र स्थानीय बासिन्दाको मागका कारण निरन्तर काम हुन नसक्दा आयोजना निर्माणमा केही ढिलाई भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

स्थानीय सरकारको तर्फबाट समयमै काम सम्पन्न गर्न प्रतिबद्धता जाहेर भएको र निर्माण कम्पनीले समेत दत्तचित्त भएर काम गरिरहेकाले तोकिएको समयावधिभित्रै काम सम्पन्न हुनेमा आयोजना प्रमुख श्रेष्ठ विश्वस्त हुनुहुन्छ ।

आयोजना सम्पन्न भएपछि इन्द्रावती गाउँपालिकाको वडा नम्बर ४ देखि १२ सम्मको ४ हजार ३ सय ३३ घरधुरीका २४ हजार जनसंख्या लाभान्वित हुनेछन् । सिम्पालकाभ्रेको सेर्क्युङ् खोलाबाट प्रतिसेकेण्ड २६ लिटर पानी नवलपूर भन्ने स्थानमा ल्याएपछि त्यहाँ बनाइएका प्रशोधन युनिटमा प्रशोधन गरिनेछ । त्यसपछि विभिन्न ठाउँमा निर्माण भएका १६ वटा ट्याङ्कीहरुबाट उपभोक्ताको घरघरमा खानेपानी वितरण हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका इन्जिनियर अरुण कुमार खरेलले बताउनुभयो ।

खानेपानी आयोजना निर्माण कम्पनी जयमाता इन्जिनियरिङ कन्स्ट्रक्सनले समयमै काम सम्पन्न गर्ने गरी काम भईरहेको जनाएको छ । बेला बेलामा आईरहने विवादलाई उपभोक्ता समिति, जनप्रतिनिधी सहितको सर्वपक्षीय वार्ताको माध्यमबाट समाधान गर्दै काम भईरहेको जयमाता इन्जिनियरिङ कन्स्ट्रक्सनका साईट इन्चार्ज निम बहादुर रावतले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुर, जयमाता इन्जिनियरिङ कन्स्ट्रक्सन र इन्द्रावती वृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बीच भएको सम्झौता अवधि यही २०७९ मंसिर १७ गते सकिदैछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार