सर्लाही : सर्लाही लालबन्दीका मणिराज पोख्रेल तेस्रो पटक वैदेशिक रोजगारीमा जाने तरखरमा हुनुहुन्थ्यो । पहिलो पटक कतार र दोस्रो पटक मलेसिया गएर फर्किनुभएका पोख्रेल स्वदेशमै केही गर्ने वातावरण नदेखेपछि केही नभएपनि दुःख त लुक्छन् भन्ने हिसाबले वैदेशिक रोजगारीका लागि अर्को देश ताक्दै हुनुहुन्थ्यो ।
‘दुई – दुई पटक विदेश गएर पनि केही गर्न सक्नु भएन । अब के विदेश – विदेश, स्वदेशमै केही गरौं ।’ श्रीमतीको यो आग्रहले उहाँलाई सोच्न बाध्य बनायो । ‘स्वदेशमै केही त गर्ने, राम्रो कमाई हुने ठाउँ चाहिं कहाँ छ त ?’ पोख्रेलको दिमाग फेरि घुम्न थाल्यो ।
विदेशमा समेत सेप्टिक ट्याङ्क सफाइ गरेको देखेका पोख्रेलले आफ्नो गाउँठाउँमा पनि यो व्यवसाय चल्न सक्छ भन्ने आंकलन विदेशमा रहँदा नै लगाईसक्नु भएको थियो । तर जे जत्ति कमाएको रकम साहुको ऋण तिर्न नै ठिक्क भएपछि यो व्यवसाय सञ्चालन गर्ने आँट पुगिरहेको थिएन ।
‘सुरुवात गरौं न त, आँटे पछि कसो नपुग्ला ? केही रकम म खोजुँला, केही रकम तपाई खोज्नुहोस्’ श्रीमतीले यत्ति भनेपछि एकैरातमा सेप्टिक ट्याङ्क सरसफाइ व्यवसाय सुरुवात गर्ने निर्णयमा पुगेको उहाँले सुनाउनुभयो ।
‘सेप्टिक ट्याङ्क सरसफाइ व्यवसाय सुरुवात गर्दा म सँग जम्मा ५० हजार रुपैयाँ मात्र थियो’ उहाँले सुनाउनुभयो । गाउँ घरमा कसैसँग नराम्रो व्यवहार नगरेका पोख्रेल समुदायमा इमान्दार र पौरखी व्यक्तिको रुपमा परिचित हुनुहुन्थ्यो । यही पौरखी र इमान्दारिता नै उहाँको ठूलो पूँजी भईदियो । फलस्वरुपमा आफन्तहरुले दिल खोलेर सहयोग गरे, अन्ततः उहाँको सपना साकार भयो ।
सरसफाइ उद्यमी पोख्रेलले विगत तीन बर्ष यता सेप्टिक ट्याङ्क सफाइ गर्ने काम गर्दै आउनु भएको छ । उहाँ सँग एउटा सफाई गर्ने गाडी छ । जसलाई ‘लालीगुँरास सरसफाइ सेप्टिक ट्याङ्क’ भनेर नामकरण गर्नुभएको छ ।
सर्लाही र छिमेकी जिल्लामा समेत आफ्नो सेवा विस्तार गरिसक्नुभएका पोख्रेलले दुई पटक विदेशमा जाँदा पनि कमाउन नसकेको रकम अहिले गाउँमै बसेर कमाईरहनु भएको छ । अहिले गाउँ भरिको सेप्टिक ट्याङ्क भरिएमा उहाँलाई नै बोलाउँछन् । यस कामले सरकारले सरसफाइमा राखेको लक्ष्य प्राप्तिका लागि समेत ठूलो सघाउ पुगिरहेको छ ।
विस्तृतमा हेर्नुहोस् पोख्रेल सेप्टिक ट्याङ्क सरसफाइ व्यवसाय सुरु गर्दा भोग्नु परेका कठिनाई, चुनौती र संघर्षको कथा :


1038 पटक हेरिएको 

