मेलम्चीको पानी शुक्रबार बाट थोक वितरण प्रणालीमा पठाईदै

शुद्धिकरण गर्न दैनिक साढे ८ हजार किलो केमिकल मात्र चाहिने

  वास खबर सम्वाददाता  2845 पटक हेरिएको


काठमाडौ : मेलम्ची नदीको पानी केही दिनमै फेरि काठमाडौबासीको घर घरमा वितरण हुँदैछ । बर्षाका कारण बन्द गरिएको मेलम्चीको पानी पाँच महिना पश्चात सुन्दरीजल ल्याईसकेको छ । मेलम्चीको पानीलाई प्रशोधन गर्न सुन्दरीजलमा निर्माण गरिएका प्रशोधनशालामा प्रशोधन भएपछि मात्र बल्ल थोक वितरण प्रणाली हुँदै काठमाडौ उपत्यकामा निर्माण भएका रिजर्भ्वायर ट्याङ्कहरुमा पुग्छ । त्यस पश्चात वितरण सञ्जाल हुँदै उपभोक्ताको धारा धारासम्म पुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सुन्दरीजल आईसकेको पानीलाई अब यही शुक्रबार थोक वितरण प्रणालीमा पठाउने तयारी भईरहेको छ ।

मेलम्ची खानेपानी सम्बद्ध अधिकारीहरुले मेलम्ची नदीको पानीलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड एवं राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड बमोजिम सुरक्षित बनाएर वितरण गर्ने बताउँदै आएका छन् ।

यसरी गरिन्छ प्रशोधन

‘मेलम्ची नदीको पानीलाई कसरी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको बनाईदो हो ? नदीको धमिलो पानीलाई कसरी पिउन योग्य बनाईदो हो ? नदीको पानी सीधै पिउन मिल्ला वा नमिल्ला ?’ यस्ता थुप्रै प्रश्न तपाईको मनमा उब्जिएको हुन सक्छ । मेलम्ची नदीबाट सुन्दरीजलसम्म धमिलो नै पानी आएछ भने पनि विभिन्न प्रविधि अपनाएर शुद्धिकरण गरेर पठाईने मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिज्नल ईञ्जिनियर राजेन्द्र प्रसाद पन्त बताउनुहुन्छ । उहाँका अनुसार मेलम्ची नदीको पानी त्यत्ति धेरै धमिलो नभएपनि करिब ३५० एनटियू बराबरको धमिलोपनालाई हटाउन सक्ने गरी पानी प्रशोधन केन्द्र बनाईएको छ ।

सिनियर डिभिज्नल ईञ्जिनियर पन्तका अनुसार पानीको शुद्धिकरणका लागि पोलिअल्मुनियम क्लोराईड (एलम) नामक केमिकल प्रयोग गरिनेछ । यसले पानीमा भएको धमिलोपना हटाउन मद्दत गर्छ । पानीमा निक्कै धमिलोपना भएमा प्रति लिटर ६० मिलिग्राम हाल्नुपर्ने भएपनि मेलम्ची नदीको पानीमा भने सालाखाला ३० मिलिग्राम प्रति लिटर हाल्दा पुग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रति लिटर ३० मिलिग्रामको दरले प्रति दिन ५ हजार ३५५ किलो पोलिअल्मुनियम क्लोराईड मात्र खपत हुनेछ ।

यस्तै पानी शुद्धिकरणका लागि प्रयोग हुने अर्को वस्तु हो, लाइम । यो पनि सालाखाला ५० मिलिग्राम प्रति लिटर आवश्यक पर्छ । तर यस अघिको परिक्षण गर्दा प्रति लिटर १५ मिलिग्राम मात्र खपत भएको सिनियर डिभिज्नल इञ्जिनियर पन्तले बताउनुभयो । उहाँका अनुसार यस हिसाबले दैनिक २ हजार ६७७ किलो खपत हुन्छ । यस्तै क्लोरिन प्रति लिटर ३ मिलिग्राम भए पुग्ने र क्लोरिनको मात्र दैनिक ५३५ किलो आवश्यक पर्ने उहाँले बताउनुभयो ।

पानी प्रशोधन प्लान्ट सम्बन्धी विस्तृतमा बुझ्न हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार