काठमाडौं : मेलम्चीको पानी यसपटक ५ सय ५० किलोमिटर नयाँ पाइपलाइन बाट वितरण गरिने भएको छ । अघिल्लो पटक ३ सय किलोमिटर नयाँ वितरण सञ्जालबाट मात्र वितरण गरिएको मेलम्चीको पानी थप २ सय ५० किलोमिटर नयाँ पाइपबाट वितरण गरिन लागेको हो । काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले १ हजार १० किलोमिटर वितरण सञ्जाल मध्ये ५ सय ५० किलोमिटर पाइप लाइनको सफल परिक्षण गरिसकेकाले यस पटक पानीको समानुपातिक वितरणमा केही सुधार आउने आयोजना निर्देशक ई. राजेन्द्र सापकोटाले बताउनुभयो ।
नयाँ पाइपलाइनबाट पानी वितरण गर्दा बानेश्वर, माइतीघर, अनामनगर, लालितपुर, कुपण्डोल, रातोपुल, चावहिल, न्यूरोड लगायत क्षेत्र समेटिने उहाँले बताउनुभयो । कलंकी र धुम्बाराही क्षेत्रमा भने सरकारको आफ्नै लगानीमा निर्माण कार्य भईरहेको र बाँकी स्थानमा निर्माणको काम सबै सम्पन्न भएको उहाँले बताउनुभयो ।
हेर्नुहोस् यो भिडियो :
अन्य लाइन एजेन्सीहरु काठमाडौ महानगरपालिका, वडा कार्यालय र नेपाल विद्युत प्राधिकरणको कामले समेत कतिपय पाइपमा क्षति पुगेकाले त्यस्ता ठाउँमा मर्मतको काम पनि भईरहेको उहाँले बताउनुभयो ।
रिजर्भ्वायर ट्याङ्क : दश मध्ये दश वटै नयाँ
यस्तै पिआईडीले निर्माण सम्पन्न गरेको १० वटै रिजर्भ्वायर ट्याङ्कबाट पानी वितरण गरिने आयोजना निर्देशक सापकोटाले बताउनुभयो । अघिल्लो बर्षमा नै कटुन्जे, टिग्नी र किर्तिपुरको रिजर्भ्वायर ट्याङ्बाट पानी वितरण भईसकेको र त्यो नै अन्तिम चरणमा निर्माण भएको रिजर्भ्वायर ट्याङ्क भएकाले यस पटक सबै नयाँ रिजर्भ्वायर ट्याङ्कबाट पानी वितरण हुने उहाँले बताउनुभयो ।
सुन्दरीजलको पानी प्रशोधन केन्द्र देखि दश वटै रिजर्भ्वायर ट्याङ्क सम्मको दुरी (थोक वितरण प्रणाली) ७७ किलोमिटर छ । थोक वितरण प्रणालीको अघिल्लो पटक नै सफल परिक्षण भईसकेकाले ती थोक वितरण प्रणाली मार्फत नै उपत्यकाका १० वटै रिजर्भ्वायर ट्याङ्कमा पानी पठाईने उहाँले बताउनुभयो ।
दैनिक ३ करोड लिटर पानी पाईप परिक्षणका लागि प्रयोग गरिने
मेलम्चीबाट केही दिनमै १७ करोड लिटर पानी काठमाडौ उपत्यका ल्याईनेछ । ती मध्ये दैनिक ३ करोड लिटर परिक्षण गर्न बाँकी पाईपलाइनको परिक्षण गर्न प्रयोग गरिने र दैनिक १४ करोड लिटर पानी उपभोक्तालाई वितरण गरिने आयोजना निर्देशक ई. राजेन्द्र सापकोटाले बताउनुभयो ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले नयाँ पाइपलाइन विछ्याउने काम समयमै सम्पन्न गरे पनि मेलम्चीको पानी समयमा नआउँदा त्यसको परिक्षण समयमै हुन नसकेको उहाँले बताउनुभयो । यो बर्ष बागमतीको पानी ल्याएर समेत परिक्षण गरे पनि सबै पाइपलाईन परिक्षण गर्न आगामी असार सम्म लाग्ने र सोही अनुसार कार्ययोजना बनाएर परिक्षण गरिरहेको उहाँले बताउनुभयो ।
‘आगामी असारसम्ममा सबै पाइपलाइनको परिक्षण गरी त्यसपछिका दिनमा सबै क्षेत्रमा नयाँ पाइपलाइनबाटै पानी पठाईनेछ’ उहाँले भन्नुभयो ।
गत शुक्रबार देखि नै काठमाडौ उपत्यकामा मेलम्चीको पानी वितरण गर्न थालेपनि हालसम्म त्रिपुरेश्वर शाखा कार्यालयले बाहेक अन्य शाखा कार्यालयहरुले पानीको वितरण तालिका सार्वजनिक गरेका छैनन् । दैनिक कति मात्रा प्राप्त हुने भन्ने निश्चय भएपछि मात्र वितरण तालिका सार्वजनिक गरिने काठमाडौ उपत्यकाका खानेपानी लिमिटेड (केयूकेए) महाँकालचौर शाखाका प्रमुख ई.नारायण कर्णले बताउनुभयो ।


669 पटक हेरिएको 

