काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको दिगो विकास लक्ष्य हासिल गर्न संस्थागत क्षमता र लगानीको अभाव रहेको वास एसडीजी प्रोग्रामका कन्ट्री कोअर्डिनेटर मिङमा शेर्पाले बताउनु भएको छ । SIMAVI अन्तर्गत वास एलायन्स इन्टरनेसनलले विभिन्न साझेदारसंस्था मार्फत सञ्चालन गरिरहेको वास एसडीजी प्रोग्रामको अनुगमन मूल्याङ्कन पछि वास खबर सँग कुराकानी गर्दै कोअर्डिनेटर शेर्पाले यस्तो बताउनुभएको हो ।
उहाँले स्थानीय तहहरुमा वास फोकल पर्सन भएर मात्र नपुग्ने र त्यहाँ बेग्लै वास युनिट खडा हुनुपर्ने बताउनुभयो । वास एसडीजी कार्यान्वयनमा रहेको गाउँपालिका नगरपालिकामा वास युनिट स्थापना भएपनि त्यसलाई मजबुत बनाउन क्षमता अभिबृद्धि गर्नुपर्ने उहाँको भनाइ छ ।
वास युनिटहरु हरेक स्थानीय तहमा निर्माण हुन सकेमा मात्र खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको निर्धारित लक्ष्य पूरा भए नभएको ? वास प्लान अनुरुप कार्यक्रमहरु सञ्चालन भए नभएको र अनुगमन मूल्याङ्कन भए नभएको एकीन गरी कार्यक्रमहरु कार्यान्वयन गर्न सजिलो हुने उहाँको धारणा छ ।
उहाँले वास क्षेत्रमा धेरै प्लानहरु बनेको भए पनि त्यसको कार्यान्वयन गर्नका लागि लगानी र क्षमता दुवैको अभाव रहेको बताउनुभयो । वास क्षेत्रमा निर्माण भएका योजनाहरुलाई सन्दर्भ सामाग्री मानेर स्थानीय सरकारले कार्यक्रमहरु सञ्चालन गर्दै जाने हो भने दिगो विकास लक्ष्य ६ हासिल गर्न त्यत्ति धेरै गाह्रो नहुने उहाँको तर्क छ ।
विस्तृतमा हेर्नुहोस् वास एसडीजी प्रोग्रामका कन्ट्री कोअर्डिनेटर मिङमा शेर्पासँग गरिएको भिडियो वार्ता :


1094 पटक हेरिएको 

