दिसाजन्य लेदो र फोहोरपानी परिक्षणका लागि ल्याब स्थापना (भिडियो रिपोर्ट)

  पी.टी.लोप्चन  886 पटक हेरिएको

काठमाडौ : दिसाजन्य लेदो र फोहोरपानी परिक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ । सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा नवीन प्रविधिहरुको विकास गर्दै आएको वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले आफ्नो प्रयोगशालामा दिसाजन्य लेदो र फोहोरपानी परिक्षण सम्बन्धी इकाई थप गरिएको हो । ल्याबको नेपाल गुणस्तर तथा नापतौल विभागकी उपमहानिर्देशक ज्योति जोशी भट्टले उदघाटन गर्नुभयो ।

हेर्नुहोस्, भिडियो रिपोर्ट :

खानेपानी र सरसफाइको क्षेत्रमा सरकारले राखेको लक्ष्य प्राप्तिमा सघाउदै आएको एन्फोले खानेपानीलाई सुरक्षित बनाउन विभिन्न नवीनतम प्रविधिहरुको विकास गर्दै आएको छ । पानीमा भएको विभिन्न प्रदुषण जाँच गर्न टेस्ट किटहरु निर्माण देखि त्यसको निर्मुल गर्न पनि विभिन्न प्रविधिको विकास गर्दै आएको छ ।

एन्फोले मिनील्याब स्थापना गर्ने काममा पनि विभिन्न संघसंस्थालाई सघाउँदै आएको छ । दिसाजन्य लेदो र फोहोरपानी परिक्षण ल्याब ईकाईले शहरव्यापी समावेशी सरसफाइ लगायत यस क्षेत्रमा सोध अनुसन्धान गर्न चाहनेहरुलाई थप सघाउ पुग्ने एन्फोकी कार्यकारी निर्देशक भावना शर्माले बताउनुभयो ।

एन्फोका अध्यक्ष राजीव जोशीले फोहोरपानी र दिसाजन्य लेदोको परिक्षण गर्न एन्फोले स्थापना गरेको ल्याब नेपालकै पहिलो हुनसक्ने र ल्याबले यस क्षेत्रमा अध्ययन अनुसन्धान गर्न चाहने प्राज्ञिक एवं अनुसन्धाताहरुका लागि ठूलो स्रोत केन्द्र बन्ने बताउनुभयो ।

खानेपानी गुणस्तरको परिक्षण गर्दै आएको एन्फो ल्याबले अब दिसाजन्य लेदो र फोहोरपानीको पनि जैविक, भौतिक र रासायनिक गुणहरुको विश्लेषण गर्नेछ । यसबाट आएका तथ्याङ्कहरुले दिसाजन्य लेदो प्रशोधन प्रणालीको डिजाइन तथा रणनीतिक योजनाहरु निर्माण गर्न सघाउ पुग्ने एन्फो ल्याबकी इन्चार्ज नवीना केसीले बताउनुभयो ।

दिसाजन्य लेदो व्यवस्थापनका लागि सरकारले दातृ निकायको सहयोगमा देशका विभिन्न ठाउँमा दिसाजन्य लेदो प्रशोधन केन्द्र तथा फोहोरपानी प्रशोधन केन्द्रहरु स्थापना गरिरहेको छ । प्रशोधन गरेपछिको पानी र भौतिक वस्तुमा हुनुपर्ने जैविक, रासायनिक र भौतिक वस्तुको मापदण्ड निर्धारण गरेपनि त्यसको गुणस्तर जाँच र मूल्याङ्कन गर्ने संयन्त्रको अभाव थियो । दिसाजन्यलेदो र फोहोरपानी परिक्षणका लागि ल्याब स्थापना भएपछि यो रिक्तता हटेको छ ।

तर ल्याबले दिने रिपोर्टको विश्वसनीयता बढाउनका लागि प्रयोग गरिने उपकरण, रसायन तथा जनशक्तिमा विशेष ध्यान दिन नेपाल गुणस्तर तथा नापतौल विभागकी उपमहानिर्देशक ज्योति जोशी भट्टको सुझाव छ । अन्तर्राष्ट्रिय स्तरको तालिममा सहभागी भएर आएका जनशक्तिहरुलाई परिचालन गरी तथ्यपरक डाटा निकाल्न पनि उहाँले आग्रह गर्नुभयो ।

प्रयोगशालाले दिसाजन्यलेदो र फोहोरपानी परिक्षणको रिपोर्ट उपलब्ध गराउनेछ । जसबाट फोहोरपानी तथा दिसाजन्य लेदो प्रशोधन केन्द्रहरुको प्रभावकारिताको परिक्षण समेत हुनेछ । यसले सुरक्षित सरसफाइमा टेवा पुग्नेछ भने विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समेत सोध अनुसन्धानमा सघाउ पुग्ने विश्वास लिईएको छ । यस्ता कार्यमा एन्फो ल्याब र त्रिभुवन विश्वविद्यालय बीच सहकार्य हुने त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख, प्रा.डा.देवराज जोशीले बताउनुभयो ।

कुनै समय नेपालमा खानेपानी गुणस्तर परिक्षण गर्ने प्रयोगशालाको समेत अभाव थियो । खानेपानी ल्याब तथा मिनील्याबहरुको स्थापना बाट अहिले जहाँ जत्तिखेर पनि खानेपानीको गुणस्तर परिक्षण गर्न सकिने भएको छ । एन्फोले स्थापना गरेको दिसाजन्य लेदो र फोहोरपानी परिक्षण ल्याब पनि सरसफाइको क्षेत्रको सुरुवाती ल्याब बन्न सक्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार