
बर्दिया : ठाकुरबाबा नगरस्तरीय अनुगमन समितिले पूर्ण हात धुने अभियान सञ्चालित वडाहरुमध्ये वडा नं. ४ मा हालै अनुगमन गरेको छ । वडा स्तरीय वास समन्वय समितिको अनुरोधमा वडा नं. ४ को खैलार, अछामी टोल, बरगडा, बडघरटोल, बाहुनपुर, मैनवार र सैनवारका हरेक घरमा टुटी सहितको हात धुने ठाउँ भए नभएको र प्रयोग गरे नगरेको अनुगमन गरेको हो ।
अनुगमन पश्चात अनुगमनमा संलग्नहरु बीच भएको छलफलबाट हालसम्म करिब ९० प्रतिशत घरहरुमा हात धुने स्थान बनेको र ८० प्रतिशत जतिले प्रयोगमा ल्याएको निश्कर्ष निकालेको छ । सो छलफलमा वडा अध्यक्ष अमिन थारुले हात धुने स्थान नबनाएका घरहरुलाई लक्षित गरी पुनः वडा र टोल टोलमा बैठक गरी ७ दिन भित्र बनाउन लगाउने भनी राख्नु भएको प्रस्ताव पारित भएको छ । बैठकमा वडा अध्यक्ष थारुले वडाको लक्ष्य अनुरुप यही २०७९ माघ भित्र वडा नं. ४ लाई पूर्ण हात धुने वडा घोषणा गरिने बताउनु भयो ।

उक्त छलफलमा सबै स्वयंसेविका, बडघर, टोल विकास संस्था र सामुदायिक अभियानकर्ताहरु परिचालन गरी हात धुने स्थान बनाएका र नबनाएकाहरुको तथ्याङ्क अद्यावधिक गर्नुपर्ने र आवश्यकता अनुसार झिल्को पार्ने सत्र (ट्रिगरिङ टुल)हरु सञ्चालन गर्न ढिला गर्न नहुने कुरा गेरुवाका कार्यकारी निर्देशक हरि सुवेदीले बताउनु भयो ।
अनुगमनमा सहभागी ठाकुरबाबा नगरपालिका उप प्रमुख बिना भट्टराईले छोटो अवधिमा राम्रो प्रगति भएको औल्याउँदै अझै नयाँ जोस र जाँगरका साथ कार्य गरिने बताउनु भयो । त्यसैगरी नगर प्रमुख तिलकराम लम्सालले नगरको पूर्ण हात धुने अभियानमा योगदान गर्न पुनः आव्हान गरिने र अटेरी गर्नेलाई कारवाहीको दायरामा ल्याउने जानकारी दिनु भयो ।

हातको संक्रमणबाट लाग्ने रोगबाट नागरिकलाई बचाउन सञ्चालित यो अभियान अन्तरगत माघदेखि हरेक महिना १–२ वार्डलाई पूर्ण हात धुने वार्ड घोषणा गरी सन् २०२३ जुनभित्र पालिकालाई नै नेपालको पहिलो पूर्ण हात धुने पालिका घोषणा गरिने बताउनुभयो ।
अनुगमनका क्रममा धेरै जसो हात धुने स्थान भाँडा सुकाउने अग्लो टाँटीमा राखेको पाइएकोले सो लाई बालबालिकाको पहुँच हुने गरी राख्न र घरका सबै सदस्यले प्रयोग गरेको निश्चित गर्न सम्बन्धित घरमूलीहरुलाई सल्लाह दिइएको छ ।
अनुगमन टोलीमा नगर प्रमुख, उपप्रमुख, वडा नंं. ४ का अध्यक्ष, पालिकाका वातावरण, स्वास्थ्य र सरसफाइ शाखाका संयोजक, स्थानीय उद्योग व्यापार संघका अध्यक्ष, भुरीगाउँ खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष, गेरुवा ग्रामीण जागरण संघका कर्मचारीहरु र सञ्चारकर्मी समेत हुनुहुन्थ्यो ।

ठाकुरबाबालाई पूर्ण हात धुने नगरपालिका घोषणा गर्ने गरिने
सन् २०२३ जुन भित्र ठाकुरबाबा नगरपालिकालाई नेपालकै पहिलो पूर्ण हात धुने नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ सञ्चालित यो अभियानमा स्थानीय वडा वास समन्वय समितिहरुको अगुवाइमा सञ्चालित छ । अभियान अन्तरगत ठाकुरबाबा नगरपालिका भित्रका सम्पूुर्ण घरधुरी, संघ संस्था, कार्यालय, विद्यालयले साबुन पानीको उचित ब्यवस्थापन सहितको टुटी जडित हातधुने स्थान बनाई प्रयोग गरेको हुनुपर्नेछ ।

पालिकाको यो अभियानमा तेर दे जोम्सको सहयोगमा गेरुवा ग्रामीण जागरण संघले नीति निर्माण, सामुदायिक अभियानकर्ताहरुको प्रशिक्षण, तथ्याङ्क व्यवस्थापन, घरदैलो तथा बैठकहरु र विभिन्न झिल्को पार्ने सत्रहरु सञ्चालन गर्न सहयोग उपलब्ध गराइ रहेको छ ।


680 पटक हेरिएको 

