प्रविधिको प्रयोगले खानेपानीको लागत भार कम गर्छ : नगर प्रमुख व्यञ्जु (भिडियो)

६१ प्रतिशत फोहोरपानी प्रशोधन गरेर मात्र खोलामा विसर्जन

  वास खबर सम्वाददाता  500 पटक हेरिएको

काठमाडौ : धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्यञ्जुले खानेपानीको व्यवस्थापनमा नयाँ टेक्नोलोजी भित्र्याउनु पर्नेमा जोड दिनु भएको छ । नयाँ टेक्नोलोजीको प्रयोगले खानेपानीको लागत भार कम हुने भएकाले प्रविधिको प्रयोग गर्न ढिलाई गर्न नहुने उहाँले बताउनु भएको हो ।

काठमाडौमा आयोजित ‘Symposium on Water Management Issues in Nepal: Smart Water Management and Its Application’ बिषयक कार्यक्रममा उहाँले भन्नुभयो ‘नयाँ प्रविधि अंगीकार नगरे खानेपानी व्यव्स्थापनमा लगानी धेरै हुन्छ । लगानी धेरै भएपछि ग्राहकलाई भार पर्छ ।’ उहाँले कोरियामा विकसित प्रविधि ‘स्मार्ट वाटर म्यानेज्मेन्ट’ धुलिखेल खानेपानीमा अंगीकार गर्ने योजना रहेको समेत बताउनुभयो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

तीनै तहको सरकारको अधिकार क्षेत्र स्पष्ट हुनुपर्ने

नगर प्रमुख व्यञ्जुले तीनै तहको सरकारको अधिकार क्षेत्र स्पष्ट बनाएर सोही अनुरुप काम गर्ने हो भने खानेपानी क्षेत्रमा बजेट अभाव नहुने बताउनुभयो । तीनै तहको सरकारको अधिकार क्षेत्र स्पष्ट बनाई नीति निर्माण, योजना तर्जुमा र बजेट व्यवस्थापनमा योगदान दिने हो भने खानेपानी क्षेत्रमा बजेटको अभाव नहुने उहाँको भनाइ छ ।

नगर प्रमुख व्यञ्जुले मन्त्रालयले खानेपानीको नीति निर्देशिका र कानुन निर्माणका क्रममा सरोकारवालासँग खुलेर छलफल नगरेकाले भविश्यमा ऐन कानुन बाझिन सक्ने बताउनुभयो । ‘भोलि स्थानीय सरकारले ऐन बनाउँछ, प्रदेशले बनाउँछ । त्यत्तिबेला एकापसमा समस्या आउन सक्छ’ उहाँले भन्नुभयो ‘मन्त्रालयले ठूलो छाती बनाएर सबै तहसँग छलफल गर्ने र सबै तहलाई कसले के गर्ने भनेर जिम्मेवारी दिनुपर्छ ।’

६१ प्रतिशत फोहोरपानी प्रशोधन गरेर मात्र खोलामा विसर्जन

धुलिखेल नगरपालिका भित्र उत्पादन हुने फोहोरपानी मध्ये ६१ प्रतिशत फोहोरपानी प्रशोधन गरेर मात्र खोलामा विसर्जन गर्ने गरिएको नगर प्रमुख व्यञ्जुले बताउनुभयो । धुलिखेल नगरपालिकाले खानेपानीको क्षेत्रमा धेरै काम गरिसकेको दाबी गर्दै नगर प्रमुख व्यञ्जुले पहिलो पटक नगरपालिकमा निर्वाचित भएर आउँदा ३१ प्रतिशत घरमा मात्र सीमित एक घर एक धाराको पहुँच ८६ प्रतिशत घरमा पुर्‍याउन सफल भएको दाबी गर्नुभयो ।

उहाँले चालु आर्थिक बर्ष भित्र ८/९ सय घरमा एक घर एक धारा जोडिसक्ने योजना रहेको र त्यसपछि धुलिखेल नगरपालिकाको ९४ प्रतिशत घरपरिवारमा एक घर एक धारा सुविधा सुनिश्चित हुने बताउनुभयो ।

उहाँले विभिन्न संघसंस्थाको सहकार्यमा भूमिगत पानीको सर्भेक्षण भईरहेको र आकाशेपानी संकलन र पुनर्भरण प्रबर्द्वनको काम समेत भईरहेको उल्लेख गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार