काठमाडौ : काठमाडौ उपत्यकामा १ सय ३० बर्ष अघि तत्कालीन राजा पृथ्वी बीर विक्रम शाहको पालामा निर्माण गरिएको कुवा सुरक्षित रहेको पाईएको छ । काठमाडौको पानी पोखरी स्थित उक्त कुवाको पानीले अहिले पनि मानिसहरु कपडा धुने र दाँत माझ्ने गर्दछन् ।
खानेपानीको इतिहास पल्टाउँदै जाँदा सन् १८९१ मा राणा प्रधानमन्त्री वीरसमशेरले काठमाडौको विभिन्न ठाउँमा वीरधारा निर्माण गर्नुभएको थियो । त्यसताका शिवपुरीबाट पानी ल्याएर काठमाडौको विभिन्न ठाउँमा गरी ३ सय वटा ‘वीरधारा’ जडान गरिएको इतिहासमा भेटिन्छ ।
ती धाराको अगाडि वीरधारा लेखिएको पाता टाँस गरिएको थियो भने छेउमा अंग्रेजी अक्षरमा ‘एल्ली एण्ड म्याक्लेन’ र ‘ग्ल्यास्को’ लेखिएको थियो । त्यसैले उक्त धारा बेलायतमा नै बनेको हुनुपर्दछ भन्ने इतिहासकारहरुको अनुमान छ । कतिले त ती धारा बेलायतमा बनेका र जडान गर्ने प्राविधिक पनि बेलायतबाटै आएको इतिहासमा लेखिएको छ ।
काठमाडौको पानी पोखरीमा भेटिएको १ सय ३० बर्ष पुरानो कुवा पनि सोही समयमा बनेको संरचनाको एउटा अंग रहेको सँगै रहेको अभिलेखले प्रमाणित गरेको छ ।
कुवाभित्र ग्लोब भल्भ चेम्बर समेत रहेकाले उक्त कुवा कुवाकै निम्ति बनाएको नभई पानीको नियन्त्रण व्यवस्थापनका लागि पनि बनाएको हुनसक्ने आँकलन गर्न सकिन्छ । जे होस् उक्त संरचना तत्कालीन राजा पृथ्वी बीर विक्रम शाह र प्रधानमन्त्री वीरशमशेरको पालामा बनेकोमा दुई मत छैन ।
विस्तृतमा हेर्नुहोस् १३० बर्ष पुरानो कुवा :
काठमाडौ उपत्यका भित्र बीर शमशेरको पालामा निर्माण भएका धाराहरु पछि भीमशमशेर सत्तामा आएपछि वीरधारालाई उखालेर त्रि–भीमधारा जडान गर्न लगाएको इतिहासकारहरु बताउँछन् । इतिहासकारहरुका अनुसार वीरशमशेरको दरबारमा छ वटा धारा जडान गरिएको थियो ।
त्यसपछि खानेपानी आपूर्तिका लागि पहिलो पटक पानी गोश्वारा अड्डाको स्थापना गरिएको थियो । जुन अड्डा स्थापना भएपछि काठमाडौका केही स्थानहरूमा निजी तथा सार्वजनिक खानेपानीका धाराहरू निर्माण गरी बितरण गरिएको थियो । पानी गोश्वारा अड्डाले जहाँ – जहाँ राणा शासकहरू आफै वा तिनका नातेदारहरू बसोबास गर्थे, ती ती ठाउँमा पाइप मार्फत खानेपानी वितरण गरिएको इतिहास छ ।
काठमाडौ पछि पाइप मार्फत खानेपानी वितरण गरिएका ठाउँहरुमा अमलेखगञ्ज, वीरगञ्ज, पाल्पा तथा जाजरकोट (खलंगा) लगायत मानिन्छन् । जहाँ राणाशासकहरु स्वयं र तिनका भाइभारदार बसोबास गर्थे ।


849 पटक हेरिएको 

