
अफ्रिका, आईभोरी कोष्ट : मानव मलमूत्र व्यवस्थापन सम्बन्धी सातौं अन्तर्राष्ट्रिय सम्मेलन अफ्रिकाको आईभोरी कोष्टमा सुरु भएको छ । मानव मलमूत्र व्यवस्थापन सम्बन्धी सातौं अन्तर्राष्ट्रिय सम्मेलन र अफ्रिकन वाटर एसोसिएसनको २१ औं महासभाको संयुक्त कार्यक्रमको आईभोरी कोष्टका प्रधानमन्त्री पत्रिक अची (Patrick Achi) ले उदघाटन गर्नुभयो ।
उदघाटन कार्यक्रममा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधी एवं आगन्तुकहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री पत्रिक अचीले जनस्वास्थ्यको रक्षाका लागि मानव मलमूत्रको उचित व्यवस्थापन हुनुपर्ने बताउनुभयो । उहाँले मानव मलमूत्र स्वस्थ जीवनको लागि हानिकारक फोहोर भएकाले यसको व्यवस्थापनका लागि एउटा राष्ट्रको अनुभव र प्रविधिलाई अर्को राष्ट्रले पनि अबलम्बन गर्नुपर्ने बताउनुभयो ।
उदघाटन सत्रपछि विभिन्न समूह तथा उप समूहमा बाँडिएर सुरक्षित खानेपानी र सरसफाइको बिषयगत क्षेत्रमा छलफल तथा प्रस्तुतीकरण गरिएको छ । भारत, बंगलादेश, भुटान लगायत दक्षिण एसियाली राष्ट्रका प्रतिनिधीहरु सम्मिलित अन्तर्राष्ट्रिय मञ्चमा नेपालको तर्फबाट मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ र खानेपानी मन्त्रालयको सिनियर डिभिज्नल ईन्जिनियर प्रभात श्रेष्ठले नेपालमा खानेपानी र सरसफाइको तथ्याङ्क संकलन गर्न प्रयोगमा ल्याईएको एनवास एमआईएस (NWASH -IMS) सिस्टम, यसको प्रभावकारिता र चुनौतीका बिषयमा प्रस्तुतीकरण गर्नुभयो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
सोही मञ्चमा दक्षिण एसियामा शहरव्यापी समावेशी सरसफाइलाई एकीकृत गर्दै लैजान स्थानीय डाटा संकलनको सवलीकरणका बिषयमा प्रस्तुतीकरण गरिएको थियो । डाटा संकलनको उक्त काम शहरव्यापी समावेशी सरसफाइको अनुगमनका लागि ज्वलन्त मार्गचित्र भएको दाबी गरिएको थियो ।
उदघाटन कार्यक्रममा अविद्जान महासभा आयोजक समितिका सभापति अहमदोउ बकयोको, अफ्रिकन वाटर एसोसिएसनका अध्यक्ष डा.सिल्भर मुगिशा लगायतले बोल्नुभएको थियो । अध्यक्ष मुगिशाले आफ्नो संस्थाको नाम अबदेखि अफ्रिकन वाटर एण्ड स्यानिटेसन एसोसिएसन रहने समेत घोषणा गर्नुभयो ।
खानेपानी तथा सरसफाइ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नयाँ नयाँ प्रविधि सम्बन्धी प्रदर्शनी समेत राखिएको छ । प्रदर्शनीमा खानेपानीको प्रशोधन गर्ने तरिका देखि खानेपानी र सरसफाइको क्षेत्रका पाइप र फिटिङ्गस समेतका सामग्री राखिएका छन् ।


730 पटक हेरिएको 

