सुर्खेत : वास दिगो विकास लक्ष्य कार्यक्रम (WASH SDG Program) विश्वको ७ वटा देशमा कार्यान्वयन भईरहेको छ । नेपालमा भने वास एलायन्स इन्टरनेशनल (WAI) र SIMAVI, एसएनभी र प्लान इन्टरनेशनल मार्फत देशका विभिन्न स्थानीय तहमा कार्यान्वयन भईरहेको छ ।
SIMAVI र वास एलायन्स इन्टरनेसनलले भने बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका तथा सुर्खेतको बराहताल गाउँपालिका र भेरीगंगा नगरपालिकामा कार्यान्वयन गरिरहेको छ । बाँकेमा लुमन्ती, सहकर्मी समाज, Central for integrated Urban Development (सिआईयुडी), गेरुवा ग्रामीण जागरण संघ र बिरुवा एडभाइजर्स प्रा.लि. मार्फत कार्यान्वयन गरिरहेको वास दिगो विकास लक्ष्य कार्यक्रम सुर्खेतमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) मार्फत कार्यान्वयन भईरहेको छ ।
सन् २०१८ देखि काम गर्न सुरु गरेको ‘वास दिगो विकास लक्ष्य कार्यक्रम’ ले सुर्खेतका दुई स्थानीय तहको खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी क्षमता अभिवृद्धिका कामहरु गरिरहेको छ ।
‘खानेपानी, सरसफाइ र स्वच्छता (वाश) क्षेत्रको तीन वटा मार्गमा काम गरिरहेको वाश दिगो विकास लक्ष्य कार्यक्रमले पहिलोमा सार्वजनिक क्षेत्रको खानेपानी र सरसफाइ सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, दोस्रोमा खानेपानी तथा सरसफाइ क्षेत्रको माग सिर्जना गराउने र तेस्रोमा मागको आपूर्तिका लागि नीजि क्षेत्र सँग साझेदारी गरिरहेको छ ।
सार्वजनिक क्षेत्रको क्षमता अभिवृद्धि भित्र पनि गाउँपालिका/नगरपालिका तथा खानेपानी उपभोक्ता समितिहरुको क्षमता अभिवृद्धि र विद्यालयमा निर्मित खानेपानी र सरसफाइ पूर्वाधार र स्वास्थ्य संस्थाहरुको खानेपानी सरसफाइ र स्वच्छतामा पहुँच अभिवृद्धि गर्ने लगायत कामहरु गरिरहेको छ ।
कार्यक्रमले सुर्खेतको बराहताल र भेरीगंगा नगरपालिकालाई खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) निर्माण, जल उपयोग गुरुयोजना, खानेपानी तथा सरसफाइ व्यवस्थापन कार्यविधि लगायत निर्माण गरी कार्यान्वयन गर्न सहजीकरण गरिरहेको छ ।
साढे चार बर्षको दौरानमा ‘वास दिगो विकास लक्ष्य कार्यक्रम’ ले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा अन्य धेरै कामहरु सम्पन्न गरिसकेको छ । हामीले वास दिगो विकास लक्ष्य कार्यक्रम मार्फत सञ्चालित कार्यक्रमहरुबाट सुर्खेतको भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकामा हासिल गरेको उपलब्धीका बिषयमा परियोजना संयोजक अनिल महर्जनसँग कुराकानी गरेका छौं ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :