एउटा तालिमले पासपोर्ट थन्काएकाहरुको कथा (भिडियो)

  वास खबर सम्वाददाता  544 पटक हेरिएको

जनकपुरधाम : विदेशमा पैसा कमाउँला र घरबार चलाउला भनेर साहुसँग ऋणपान गरेर विदेशिएको मान्छे एक सुको कमाउन नसकी घर फर्किनुपर्‍यो भने कस्तो हालत होला ? ठीक डेढ बर्ष अघि यस्तै हालत भएको थियो धनुषाको औरही नगरपालिका १ का ललितकुमार शाह र लक्ष्मी यादवको पनि ।

विश्वभरि फैलिएको कोरोना भाइरसले गर्दा कम्पनीमा काम सँगै खानेकुराको समेत अभाव भएपछि उहाँहरु दुवै जना रित्तो हात लिएर नेपाल फर्किनु भएको थियो । विदेशमा जसोतसो समय कटाए पनि आफ्नै घर फर्केपछि भने ठूलो संकटले घेरेको आभाष भएको थियो ललितकुमार शाहलाई।

‘घर बाहिर काम खोज्न जाउँ, सबैतिर बन्द थियो । घरमै बसौं भने खानेकुराको समेत अभाव भईसकेको थियो । त्यस्तो अवस्थामा चारैतिर संकटले छोपे जस्तो महसुस हुने रहेछ’ शाहले भन्नुभयो ।

पारिवारिक जिम्मेवारीले गर्दा कहाँ जाउँ ? के गरौं ? भनेर मनमा छट्पटी भईरहेकै बेला युनिसेफ र एन.सी.भी.नेपालले प्लम्बिङ, इलेक्ट्रिसियन र मिस्त्रीको व्यवसायिक तालिम आयोजना गर्दैछ रे भन्ने सूचना उहाँहरुले पाउनुभयो । इलेक्ट्रिसियन बन्न सके राम्रो आम्दानी हुन्छ भन्ने शाहलाई राम्रो ज्ञान थियो । त्यसैले उहाँले इलेक्ट्रिसियन र यादवले प्लम्बिङको तालिम लिने निधो गर्नुभयो ।

३५ दिनको तालिममा भाग लिए पछि यादव र शाह आ आफ्नो क्षेत्रमा निपूण भएर निस्कनु भयो । तालिम पूरा गरेर फिल्डमा जाने बेला आवश्यक औजार समेत पाएपछि उनीहरु जस्ता धेरैका लागि काम सुरुवात गर्न पनि सजिलो भयो ।

यादव र शाह हिजोआज सँगसँगै भेटिनुहुन्छ । घर निर्माणमा प्लम्बिङ र इलेक्ट्रिसियनको काम सँगैसँगै हुने भएकाले पनि उहाँहरुलाई सँगसँगै भेटिने गरेको हो ।

डेढ बर्षअघि विदेशमा गएर रित्तो हात फर्किने बेलाको तनाव अहिले हटिसकेको छ । आफै काम खोज्दै भौतारिनुपर्ने अवस्थामा पुगेका यी दुवै युवाले अहिले अरुलाई समेत काममा लगाउने गर्नुभएको छ ।

फेरि एक पटक विदेश नै जानुपर्ला भन्ने सोच त्यागेर पासपोर्ट थन्काईसक्नु भएको छ । एउटा तालिमले पासपोर्ट थन्काउनेसम्मको स्थितिमा पुगेका यी दुई युवाको कथा हेर्नुहोस् यो भिडियोमा :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार