पूर्ण सरसफाइ अभियानमा चाँगुनारायण एक कदम अघि बढ्दै (भिडियो)

हरेक वडामा वास सहजकर्ता परिचालन

  वास खबर सम्वाददाता  552 पटक हेरिएको

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइ अभियानलाई थप सशक्त बनाउन थालेको छ । खानेपानी र सरसफाइ सम्बन्धी छुट्टै शाखा स्थापना गरी खानेपानी र सरसफाइ क्षेत्रलाई विकासको अन्य क्षेत्र सरह महत्व दिदै आएको चाँगुनारायण नगरपालिकाले ‘पूर्ण सरसफाइ र व्यवहार परिवर्तन सम्बन्धी क्षमता विकास तालिम’ सञ्चालत गरिरहेको छ ।

हेर्नुहोस् यो भिडियो :

भोलिसम्म सञ्चालन हुने तालिममा सबै वडाका वास सहजकर्ताहरु र सबै वडाबाट एक एक जना जनप्रतिनिधीहरु सहभागी हुनुहुन्छ । खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा वास सहजकर्ता एवं जनप्रतिनिधीहरुको क्षमता विकास गराई सहजकर्ताहरु मार्फत वास क्षेत्रमा राखेको लक्ष्य प्राप्तिमा सघाउ पुर्‍याउने हेतुले तालिमको आयोजना गरिएको हो ।

तालिममा दिगो विकास लक्ष्य र सरसफाइ तथा स्वच्छताको अवधारणा, पूर्ण सरसफाइ, पूर्ण सरसफाइका सूचकहरु र नमूना समुदाय लगायत बिषयमा समाजशास्त्री भोजेन्द्र अर्यालले प्रशिक्षण गर्नुभएको छ ।

यस्तै नगरव्यापी समावेशी सरसफाइ घरायसी एवं संस्थागत शौचालयको प्रयोग तथा मानव मलमूत्रीय फोहोर व्यवस्थापन बारे ५०० बी सोलुसनका फूर्वा साङ्गे मोक्तान र पानीको परिचय, पानीका गुणहरु, खानेपानी सुरक्षा योजना पानी शुद्धिकरणका घरेलु विधि लगायत बिषयमा इको कन्सर्नका प्रमुख कार्यकारी अधिकृत कृष्णराम एण्डोले प्रशिक्षण गराउनुभयो ।

तालिमको उदघाटन शत्रमा नगरपालिकाका उप प्रमुख रमेश बुढाथोकीले नगरपालिका भित्र एकीकृत प्रणालीबाट फोहोर व्यवस्थापन गर्ने योजना रहे पनि फोहोर प्रति मानिसको दृष्टिकोणका कारण प्रशोधन केन्द्र निर्माण गर्न नसकेको बताउनुभयो ।

यस्तै नगर प्रवक्ता जनक खत्रीले ठोस फोहोरमैला बिसर्जनको काम काठमाडौ उपत्यकाका अरु नगरपालिकाले जसरी नै गर्दै आएको जानकारी गराउँदै अब आफ्नै नगरपालिकाभित्रै व्यवस्थापन गर्नुपर्छ भनेर नगरपालिकाको टिम लागिरहेको बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइ रणनीतिक योजना २०७५ पारित गरी कार्यान्वयन गरिरहेको छ । नगरपालिका भित्रका कतिपय वस्ती तथा वडाहरु सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने चरणमा पनि पुगिसकेको छ । पूर्ण सरसफाइ सम्बन्धी सम्पूर्ण क्रियाकलापहरु नगरव्यापी बनाउनकै लागि नगरपालिकाले हरेक वडामा वास सहजकर्ता नियुक्ति गरेको छ । यसरी पूर्ण सरसफाइ उन्मुख नगरपालिका बनाउन खानेपानी र सरसफाइको क्षेत्रमा विभिन्न संघसंस्थासँग सहकार्य गरिरहेको खानेपानी, सरसफाइ तथा स्वच्छता शाखा प्रमुख सुरेन्द्र लामिछानेले बताउनुभयो ।

सरसफाइ गुरुयोजना २०६८ निर्माण गरी लागु भएपछि देशमा सरसफाइको माहोल सिर्जना भएको थियो । २०७६ साल असोज १३ गते देशलाई खुलादिसामुक्त एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल घोषणा गरिए पनि अहिले पूर्ण सरसफाइका कार्यक्रमहरु ठप्प जस्तै छन् । तर चाँगुनारायण नगरपालिकाले भने यसलाई निरन्तरता दिईरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार