जनकपुरधाम : सरिता मगर, सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं. १३ स्थित श्री आधारभूत विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । प्रधानाध्यापक मगर र उहाँका स्टाफहरु केही बर्ष पहिलेसम्म झाडीमा लुकिछिपी दिसापिसाब गर्न बाध्य थिए । शिक्षककै पहुँचमा शौचालय नभएपछि विद्यार्थीले चर्पीमा दिसा पिसाब गर्न पाउने त कुरै थिएन । त्यत्तिबेलाको अवस्था सम्झिदै प्रधानाध्यापक मगर भन्नुहुन्छ ‘स्कुलमा त दिसापिसाब नलागे नि हुन्थ्यो झैं लाग्थ्यो ।’
त्यसपछि विद्यालयमा शौचालय बन्यो तर पानीको अभावले पूरै दुर्गन्धित हुन्थ्यो । ढोका खोलेर भित्र जान समेत नसक्ने अवस्था आएपछि फेरि पहिलेकै अवस्था दोहोरियो । शिक्षक विद्यार्थी पुनः झाडीमै दिसापिसाब गर्न बाध्य भए ।
मधेश प्रदेशका अधिकांश विद्यालयको खानेपानी र सरसफाइको अवस्था श्री आधारभूत विद्यालयको भन्दा खासै फरक छैन । कतै चर्पी छ पानी छैन । पानी भए पनि त्यो सबै विद्यार्थीको पहुँचमा छैन । विद्यालयमा न खानेपानीको धारा छ न साबुन पानीले हात धुने स्थान । फोहोरमैला तथा महिनावारी व्यवस्थापनका लागि आवश्यक पूर्वाधार नहुँदा शिक्षक तथा विद्यार्थी विभिन्न समस्या झेल्न बाध्य छन् । यस्तो अवस्थाबाट केही विद्यालयले भने पार पाएका छन् ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
युनिसेफ नेपालको आर्थिक सहयोगमा मधेश प्रदेशको विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा रतौली युवा क्लब (RYC) र उदार करुणामयी स्वयंसेवक (NCV) ले सञ्चालन गरिरहेको ‘विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रम’ मार्फत खानेपानी र सरसफाइका संरचनाहरुको सुधार गरिएको हो ।
सम्बन्धित नगरपालिका तथा वडा कार्यालयको समन्वयमा कार्यक्रम सञ्चालनका लागि छनौट गरिएका विद्यालयहरुमा खानेपानीको व्यवस्था, उचाई अनुसारको हात धुने स्थान, पानी पिउने धारा, छात्र र छात्राका लागि छुट्टा छुट्टै शौचालयको व्यवस्था गरिएको छ ।
यस्तै दिसा र पिसाबका लागि छुट्टा छुट्टै शौचालय, अपाङ्गतामैत्री शौचालय, जल्ने फोहोरलाई जम्मा गरी जलाउने स्थान, महिनावारी हुँदा प्याड फेर्ने ठाउँ र जलाउने इन्सिनेरेटर पनि निर्माण गरिएको छ ।
कार्यक्रम सञ्चालित विद्यालयको आवश्यकताको आधारमा नयाँ निर्माण समेत गरिएको र बढी जसो विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता संरचनाको सुधार गरी सुचारु हुने अवस्था सिर्जना गरिएको एन.सी.भी.का कार्यक्रम व्यवस्थापक सागर शाही ठकुरीले बताउनुभयो ।
सुधारका गरिएका वासका संरचनाहरुको सुचारुपना र दिगोपनाका लागि हरेक विद्यालयमा बाल क्लव गठन गरी क्षमता अभिवृद्धि गरिएको छ भने मर्मत सम्भार कोषको पनि स्थापना गरिएको छ । कार्यक्रम व्यवस्थापक ठकुरीका अनुसार हरेक विद्यालयमा वास फोकल शिक्षक तोकिएको छ भने विद्यार्थी तथा शिक्षकहरुले समेत आचारसंहिता निर्माण गरी पालना गर्ने गरिएको छ ।


581 पटक हेरिएको 

