भक्तपुर : व्यस्त शहर काठमाडौमा जहाँ गए पनि कोलाहलै मात्र । हप्ताको एक दिन पाउने बिदामा कतै शान्त ठाउँमा गएर बसौंन त भन्दा पनि त्यो खालको वातावरण छैन । राजधानीको भीडभाड र शहरीया वातावरणबाट निस्केर शान्त, रमणीय र गाउँले परिवेशमा रम्न चाहनुहुन्छ भने काठमाडौबाट नजिकैको दुरीमा खुलिरहेका होमस्टेहरु तपाईको गन्तव्य हुन सक्छन् ।
यी होमस्टेहरुमा पुगेपछि बल्ल थाहा पाउनु हुनेछ कि काठमाडौको नजिकै पनि यत्ति शान्त, रमणीय र गाउँले परिवेश रहेछन् भनेर । साँच्चिकै तपाई काठमाडौ उपत्यका भित्र बस्दा बस्दा उकुसमुकुस भएर केही खुला वातावरणमा निस्केर पुनर्ताजगी हुन चाहदै हुनुहुन्छ भने हामी लैजादैछौं ती होमस्टे सम्म ।
कहाँबाट कसरी जाने ?
भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं.७ मझुवामा खुलेको होमस्टे भंगेरीडाँडा तामाङ सामुदायिक होमस्टेको नामले परिचित छ । सामुदायिक होमस्टेमा ५ घर सम्मिलित छन् ।

पहिलो बाटो :
यदि तपाई काठमाडौमा हुनुहुन्छ र यी होमस्टेमा जान चाहनुहुन्छ भने भक्तपुरको सल्लाघारीबाट नगरकोट जाने बाटो हुँदै जानुपर्छ । कमलविनायक पार गरेपछि दुईवटा बाटो आउँछ । दायाँतिरबाट जान चाहनुहुन्छ भने भत्केको पाटीबाट जीतपुर, सुडाल, सुडाल गुम्बा, सरस्वतीथान हुँदै मझुवा मानेडाँडा पुग्नुहुन्छ । यसैको वरपर, माथिल्लो घर, तल्लो घर नै होमस्टे सञ्चालित छन् । यो बाटो भक्तपुरबाट ९ किलोमिटरको दुरीमा पर्दछ ।
दोस्रो बाटो :
भंगेरीडाँडा तामाङ सामुदायिक होमस्टेमा पुगिने अर्को बाटो पनि छ । यदि तपाई नगरकोट गईसक्नु भएको छ भने खरीपाटी, नगरकोट फेदी पार गरेपछि दायाँतिर जाने बाटो देख्नु नै भएको होला । उक्त बाटो हालको वडा नं. ७ को कार्यालय वा साबिकको बागेश्वरी गाविस जाने बाटो हो । अलिकति अगाडि बढेपछि मुहानपोखरी भन्ने स्थान आउँछ । उक्त बाटो नछोडि जानु भयो भने पनि मझुवा मानेडाँडा नै पुग्नुहुन्छ ।

यो बाटोमा अर्को विकल्प पनि छ । त्यो हो ‘हाईकिङ’ । मुहान पोखरी पुगेपछि आफ्नो सवारी साधन त्यही पार्किङ गरेर उकालो पदयात्रा गर्न सक्नुहुन्छ । मुहानपोखरी देखि देउराली सम्मको ४.२ किलोमिटर दुरी पदमार्गकै रुपमा विकास गरिएको छ ।
यदि तपाई होमस्टेसम्म मात्र पुग्न चाहनुहुन्छ भने मुहानपोखरी देखि २.२ किलोमिटर सीधै उकालो उक्लिएपछि पुग्नुहुन्छ । होमस्टे पुगेपछिको आनन्द शब्दमा बर्णन गरेर अपूरो नै हुन्छ ।
गाउँले परिवेश, पारिवारिक वातावरण, अर्गानिक खानाको स्वाद, न्यानो आतिथ्यता यहाँको होमस्टेका विशेषता हुन् । होमस्टे वरपर फुलिरहेका विभिन्न जातका फूल, सरसफाइ गरेर चिटिक्क पारिएका बगैंचा, सफा सुग्घर बेड, अट्याच बाथरुम, धारा खोल्न साथ कल कल झरिरहने पानीले होमस्टे प्रबर्द्वनमा झनै सघाउ पुगेको छ ।
होमस्टेका थप विशेषताबारे बुझ्न भंगेरीडाँडा तामाङ सामुदायिक होमस्टे अन्तर्गतको ‘विष्णुमाया होमस्टे’ का सञ्चालक कान्छा लामालाई भेटौं न त ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :


1124 पटक हेरिएको 

