
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले हरेक वडामा घरायसी प्याड निर्माण सम्बन्धी तालिम दिन थालेको छ । नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) शाखाले महिनावारी स्वच्छता व्यवस्थापनको लागि घरायसी प्याड बनाउने तालिम दिन थालेको हो ।
अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारी आयोजना गरिएको घरायसी प्याड बनाउने तालिम आज वडा नं. ६ मा सम्पन्न भयो । घरायसी प्याड निर्माण गर्ने सीप सिकाउने र यसको महत्वबारे बुझाउने हेतुले तालिम आयोजना गरिएको वास सहजकर्ता रमिला तामाङले बताउनुभयो । ‘कपडाको प्याड पुनः प्रयोग गर्न सकिन्छ । स्वास्थ्य तथा बातावरणीय हिसाबले पनि मेडिकल प्याडको तुलनामा यो लाभदायी छ । यिनै कुरा बुझाउन र सहभागीहरु मार्फत समुदायसम्म चेतना विस्तार गर्न तालिम दिईएको हो ।’ उहाँले भन्नुभयो ।

तालिममा चाँगुनारायण नगरपालिकाको वडा नं. ६ भित्र सञ्चालित हरेक सामुदायिक तथा संस्थागत विद्यालयका वास फोकल शिक्षक, बाल क्लवका एक जना छात्रा, टोल स्तरिय खानेपानी, सरसफाइ र स्वच्छता समिति (टोल वास सीसी) बाट एक-एक जना महिला र दुई जना महिला वडा सदस्यको सहभागिता थियो ।
तालिम वडा नंं ६ का अध्यक्ष धन बहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको हो । नगरपालिकाले ‘सफा सुग्घर घरआँगन, सफा स्वच्छ बाटो, पूर्ण सरसफाइ उन्मुख बन्दैछ चाँगुनारायणको माटो’ भन्ने मूल नाराका साथ ९ वटै वडामा पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेको छ ।




743 पटक हेरिएको 

