महालक्ष्मीमा सरसफाइ एपको शुभारम्भ, सरसफाइ संरचनाको तथ्याङ्क जिआईएस सिस्टममा रहने

  वास खबर सम्वाददाता  632 पटक हेरिएको

काठमाडौ : ललितपुरको महालक्ष्मी नगरपालिकाले सरसफाइ एपको शुभारम्भ गरेको छ । भौगोलिक सूचना प्रणाली Geographic information system (GIS) मा आधारित सरसफाइ एप नगर उपप्रमुख लक्ष्मी महर्जनले शुभारम्भ गर्नुभयो ।

नगरपालिकाले शुभारम्भ गरेको एपमा महालक्ष्मी नगरपालिका क्षेत्रभित्रको हरेक घरको शौचालय र सेप्टिक ट्याङ्कीको स्थिति, ढल प्रणालीमा जडान गरिएको घरपरिवारको विवरण अंकित हुनेछ । हरेक घरको सरसफाइ सम्बन्धी विवरण घर निर्माणको चरणदेखि नै समावेश हुनेछ । नगरपालिकाले घरको नक्सा पासको प्रक्रिया गत साउन देखि नै एप मार्फत गर्दै आएको छ ।

नगरपालिकाको सरसफाइका तथ्याङ्कहरु आईएमआईएस (IMIS) जिआईएस (GIS) बेसमा राखिने र यसले रियल टाईम डाटा उपलब्ध हुने इनोभेटिभ सोलुसन प्रा.लिका सुरेश थापाले बताउनुभयो । घरको नक्सा पास भएपछि सर्जिमिन मुचुल्का संकलनका लागि गएको प्राविधिकले नै सम्बन्धित ठाउँमै बसेर फोटो सहितका विवरणहरु भर्न सकिने र यसले कर्मचारीको कार्यभारलाई समेत कम गर्ने उहाँले बताउनुभयो ।

यस्तै प्लिन्थ लेभल र घर निर्माण सम्पन्न भएपछि पनि अन्य विवरण जस्तै सरसफाइको विवरण पनि भर्नुपर्ने उहाँले बताउनुभयो । यसबाट कुन घरमा कस्तो सरसफाइको सुविधा छ भन्ने अवगत हुनेछ।

महालक्ष्मी नगरपालिकाको भवन तथा बस्ती विकास शाखाका प्रमुख रबिन्द्र उप्रेतीले सरसफाइ एप प्रयोगमा ल्याउन सक्नु नगरपालिकाको महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो । उहाँले सरसफाइको तथ्याङ्क जस्तै यसलाई एकीकृत गरी दर्ता चलानी देखि हरेक शाखाले उपयोगमा ल्याउनुपर्ने बताउनुभयो ।


अमेरिका युरोप जस्ता विकसित राष्ट्हरु टेक्नोजीकै कारण विकासमा फड्को मारेको उदाहरण दिदै उहाँले टेक्नोलोजीको अधिकतम प्रयोग गर्नुपर्ने र यसले मानव संसाधनको प्रयोग घटाउन सकिने बताउनुभयो ।

उहाँ नयाँ घर निर्माणमा थ्री स्टेजको फिल्ड सुपरभिजन हुने र त्यस क्रममा स्थलगत नै अपलोड गरी सिस्टममा पुग्ने भएकाले अतिरिक्त समय निकालेर अपलोड गरिरहनु नपर्ने बताउनुभयो । शाखा प्रमुख उप्रेतीले एपको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले नगरपालिका भित्र निर्माण हुने सेफ्टी ट्याङ्कीको नियमन गर्न एपले सघाउ पुग्ने बताउनुभयो । उहाँले मापदण्ड पूरा गरेको सेफ्टी ट्याङ्की बनाउन प्राविधिक टोलीलाई तालिम दिनुपर्ने र सेवाग्राहीलाई पनि सचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सुरुमा एपको प्रयोगबाट नक्सा पासको प्रक्रिया अगाडि बढाउँदा निक्कै समस्या आएको स्मरण गर्दै उहाँले यसको प्रभावकारी कार्यान्वयनबाट सेवाग्राहीहरु पनि सन्तुष्ट रहेको बताउनुभयो ।


एन्फोको कार्यक्रम निर्देशक ई.राजेन्द्र श्रेष्ठले ढल प्रणाली जडान भएको क्षेत्रमा सेप्टिक ट्याङ्की बनाईरहनु नपर्ने बताउनुभयो । ‘सरकारले ढल निर्माणमा करोडौं खर्च गरिरहेको छ, त्यही क्षेत्रमा घर बनाउनेले पनि सेप्टिक ट्याङ्की निर्माण गरिहेको हुन्छ, यो दोहोरो खर्च हो’ उहाँले भन्नुभयो ।

ढल प्रणाली नभएको क्षेत्रमा मात्र सेप्टिक ट्याङ्की बनाउनुपर्ने र त्यो मापदण्ड पूरा भएको हुनुपर्ने उहाँको भनाइ छ ।


बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनको आर्थिक सहयोगमा सञ्चालित ‘नेपालमा दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी मापदण्ड कार्यान्वयन नमुना परियोजना’ अन्तर्गत इनोभेटिभ सोलुसन प्रा.लि.को प्राविधिक सहयोगमा वातावरण र जनस्वास्थ्य संस्था एन्फोले सरसफाइ एप निर्माण गरेको हो ।

सरसफाइ एप निर्माण गरी नगरपालिका भित्रको सरसफाइको स्थिति जिआईएस सिस्टममा भर्न सुरु गरेको महालक्ष्मी नगरपालिका नै पहिलो भएको कार्यक्रम निर्देशक श्रेष्ठले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार