विद्यालय खानेपानी तथा सरसफाइ रनिङ शील्ड प्रतियोगिता

प्रथम पुरस्कार डाबर आधारभूत विद्यालयलाई

  वास खबर सम्वाददाता  3426 पटक हेरिएको
🔗
232
Shares

धनुषा : खेलकुदको क्षेत्रमा मात्र प्रचलित ‘रनिङ शील्ड प्रतियोगिता’ विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा समेत लागु गरिएको छ । युनिसेफ नेपालले पहिलो पटक मधेस प्रदेशको ६ वटा जिल्लामा यो अवधारणाको सुरुवात गरेको हो ।

युनिसेफले तीन तारा प्राप्त विद्यालयहरु बीच प्रतिस्पर्धा गराई पहिलो, दोस्रो, तेस्रो र चौथो रनिङ शील्ड तथा नगद पुरस्कार प्रदान गरेको हो । धनुषाको ढल्केबर स्थित विद्यालयको समीक्षा तथा पुरस्कार वितरण समारोहमा सप्तरी, सिरहा, धनुषा र महोत्तरीका तीन तारा प्राप्त ११ वटा सामुदायिक विद्यालय मध्ये पहिलो, दोस्रो, तेस्रो र चौथो हुन सफल विद्यालयलाई उक्त पुरस्कार वितरण गरिएको हो ।

तीन तारा प्राप्त विद्यालयहरु मध्येबाट पहिलो पुरस्कार सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं. १३ स्थित श्री आधारभूत विद्यालय लक्ष्मीपुर डाबरलाई वितरण गरिएको छ । लक्ष्मीपुर डाबरलाई शील्ड र नगद ४० हजार रुपैयाँ प्रदान गरिएको हो ।

यस्तै दोस्रो पुरस्कार सप्तरीको कन्चनरुप नगरपालिका ८ स्थित पब्लिक आधारभूत विद्यालयलाई प्रदान गरिएको छ । पब्लिकले शील्ड र रु. ३० हजार रुपैयाँ प्राप्त गरेको छ।

धनुषाको मिथिला नगरपालिका वडा नं. ७ को श्री राष्ट्रिय आधारभूत विद्यालय केम्लीपुरले तेस्रो तथा महोत्तरीको मनरासिस्वा नगरपालिका ६ स्थित श्री सरयू मुनिलाल माध्यमिक विद्यालयले चौथो पुरस्कार पाएका छन् । केम्लीपुरले शील्ड र २० हजार रुपैयाँ तथा सरयू मुनिलालले शील्ड र १० हजार रुपैयाँ पाएका छन् ।

विद्यालय परिवार र सरोकारवाला निकायहरुलाई समेत विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता कायम गर्न थप जिम्मेवार बनाउने हेतुले ‘रनिङ शील्ड’को अवधारणा समावेश गरिएको युनिसेफ नेपालका खानेपानी र सरसफाइ अधिकृत बोध नारायण श्रेष्ठले बताउनुभयो । उहाँले यो अवधारणा अनुसार प्रथम पुरस्कार प्राप्त विद्यालयले उक्त पुरस्कार सुरक्षित राख्ने प्रयत्न गर्नेछन् भने अन्य विद्यालयहरुले पनि प्रथम हुने कोशिश गर्नेछन् । यस्तो प्रतिस्पर्धाले विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था सुदृढ हुनेछ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

११ वटा विद्यालयले पाए ३ तारा

सप्तरीको कन्चनरुप नगरपालिका, सिरहाको धनगढीमाई नगरापालिका, धनुषाको मिथिला नगरपालिका र महोत्तरीको मनरा सिसवा नगरपालिका भित्रका २३ वटा विद्यालय मध्ये ११ वटा विद्यालयले तीन तारा पाएका छन् । युनिसेफ नेपालको आर्थिक सहयोगमा उदार करुणामयी स्वयंसेवक (एनसीभी) र रतौली युवा क्लव (आरवाईसी) द्वारा सञ्चालित ‘विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रम’ अन्तर्गत विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता संरचनाको सुधार भएपछि विद्यालयले गरेको स्वमूल्याङ्कनको आधारमा नगर शिक्षा समितिले प्रमाणीकरण गरी तीन तारा उपलब्ध गराईएको हो ।

यी हुन् तीन तारा प्राप्त विद्यालय

सिरहाको धनगढीमाई नगरपालिकामा सबै भन्दा धेरै ७ वटा विद्यालयमा ‘विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रम‘ सञ्चालन गरिएको थियो । धनगढीमाईका ७ वटा विद्यालय मध्ये ३ वटा विद्यालयले मात्र तीन तारा पाएका छन् । बाँकी ४ वटाले भने २ तारा पाएका छन् ।
१. तुल्सीराम सत्यभामाडेटेल मावि, विष्णुपुरकट्टी
२. आधारभूत विद्यालय, कैलासपुर भोर्लेनी
३. आधारभूत विद्यालय लक्ष्मीपुर, डाबर

सप्तरीका ३ विद्यालयलाई तीन तारा


यस्तै सप्तरीका ५ वटा सामुदायिक विद्यालय मध्ये ३ वटा विद्यालयले तीन तारा पाएका छन् ।
१. शंकर माध्यमिक विद्यालय, बरमझिया सुब्बाटो
२. श्री पब्लिक आधारभूत व्द्यिालय
३. श्री महेन्द्र जनता माध्यमिक विद्यालय, सीतलपुर

मिथिलामा पनि ३ तारा पाउने तीन विद्यालय

धनुषाको मिथिलामा ‘विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रम’ सञ्चालित ६ वटा सामुदायिक विद्यालय मध्ये ३ वटा विद्यालयले मात्र तीन तारा प्राप्त गरेका छन् ।
१. श्री आदर्श राष्ट्यि माध्यमिक विद्यालय, लालगढ
२. श्री महेन्द्र माध्यमिक विद्यालय, ढल्केबर
३. श्री राष्ट्रिय आधारभूत विद्यालय केम्लीपुर


मनरा सिसवाका २ वटा विद्यालय तीन तारे

महोत्तरीको मनरा सिसवा नगरपालिका भित्रका ५ वटा सामुदायिक विद्यालय मध्ये २ वटा विद्यालयले मात्र तीन तारा प्राप्त गरेका छन् ।
१. श्री सरयु मुनिलाल माध्यमिक विद्यालय सरपल्लो
२. श्री नेपाल राष्ट्रिय कुलदिप माध्यमिक विद्यालय, मनराकट्टि

कार्यक्रममा उदार करुणामयी स्वयंसेवक (एनसीभी) र रतौली युवा क्लव (आरवाईसी) का कर्मचारीहरुलाई समेत अनवरत सेवाको प्रसंशा गर्दै पुरस्कृत गरियो ।

विद्यालयका प्रधानाध्यापकहरु, बाल क्लवका सदस्यहरु, वास फोकल शिक्षक लगायतको उपस्थिति रहेको कार्यक्रममा मधेस प्रदेश, शिक्षा विकास निर्देशनालयका निर्देशक, विभिन्न पालिकाका शिक्षा संयोजक, पिपुल्स प्रमोट सेन्टर (पिपिसी) का अध्यक्ष कमलेश कुमार मण्डल, धनगढीमाई नगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी लगायतले शुभकामना एवं बधाई ज्ञापन गर्नुभयो ।

कार्यक्रम धनगढीमाई नगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीको प्रमुख आतिथ्य एवं उदार करुणामयी स्वयंसेवक (एनसीभी) का सञ्चालक समिति सदस्य कोमल सापकोटाको अध्यक्षतामा सम्पन्न भयो ।

यस अघि बारा र रौतहटका १३ वटा विद्यालयलाई पनि ३ तारा प्रदान गरिएको छ । बारा र रौतहटका २२ वटा सामुदायिक विद्यालयमा युनिसेफको आर्थिक सहयोगमा छायाँ नेपाल र पिपुल्स प्रमोट सेन्टर (पिपिसी) ले ‘विद्यालयमा खानेपानी तथा सरसफाइ कार्यक्रम’ सञ्चालन गरेको थियो ।

स्वमूल्याङ्कन र प्रमाणीकरण कसरी गरिन्छ ? यसबारे थाहा पाईराखौं

विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता कार्यविधिले विद्यालय खानेपानी, सरसफाइ र स्वच्छताको स्वमूल्याङकन, वर्गीकरण र प्रमाणीकरण विद्यालय आफैले गर्न सक्ने व्यवस्था गरिएको छ । कार्यविधिको परिच्छेद ५ मा यस सम्बन्धी प्रक्रियाको व्याख्या गरिएको छ ।

कार्यविधि अनुसार तोकिएको सूचकहरुको आधारमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले शैक्षिक सत्र सुरु भएको दुई महिना भित्र स्वमूल्याङ्कन गर्नुपर्दछ ।

– समितिले आफ्नो राय सहित स्वमूल्याङ्कन फाराम विद्यालय व्यवस्थापन समितिमा पेस गर्नुपर्नेछ ।
– विद्यालय व्यवस्थापन समितिले आफ्नो राय सहित स्वमूल्याङ्कन फाराम प्रमाणीकरणका लागि सम्बन्धित गाउँपालिका वा नगरपालिका स्तरीय शिक्षा समिति समक्ष पेश गर्नेपर्नेछ ।

– लगातार दुई पटकको बार्षिक समीक्षामा कुनै विद्यालयले तीन ताराको अवस्थालाई कायम राख्न सफल भएमा सम्बन्धित गाउँ/नगरपालिका स्तरीय शिक्षा समितिले त्यस्ता विद्यालयलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न सक्नेछ ।

प्रमाणीकरण गर्ने प्रक्रिया

समितिले शैक्षिक सत्र शुरु भएको दुई महिनाभित्र अनुसूचि १ अनुसारको सूचकहरुको आधारमा अनुसूची २ अनुसार स्वमूल्याङ्कन गरी राय सहित गाउँ वा नगर शिक्षा समितिमा प्रमाणीकरणका लागि विद्यालय व्यवस्थापन समिति समक्ष पेश गर्नुपर्नेछ ।

प्राप्त प्रतिवेदन विद्यालय व्यवस्थापन समितिले एक महिनाभित्र प्रमाणीकरणका लागि गाउँ वा नगर शिक्षा समिति समक्ष पठाउनुपर्नेछ । गाउँ वा नगर शिक्षा समितिले अनुगमन मूल्याङ्कन गरी तारा निर्धारणको प्रमाणीकरण गर्नेछ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार