काठमाडौ : शौचालय प्रयोग गरेपछि मानव मलमूत्रले भरिएको सेप्टिक ट्याङ्क खाली गर्नु अनिवार्य काम हो । सेप्टिक ट्याङ्क खाली गर्ने (रित्याउने) काम सेप्टिक ट्याङ्क सफाइकर्मीहरुले मात्र गर्न सक्छन् । पहिले पहिले हातले नै सफाइ गर्दै आएपनि अहिले भने विभिन्न खालका उपकरणको सहायताले सफाइ गरिन्छ । यद्यपि सेप्टिक ट्याङ्क सफाइकर्मीले भोगिरहेका चुनौती भने अनगिन्ती छन् ।

विसर्जन गर्ने स्थलको अभाव
सेप्टिक ट्याङ्क सफाइकर्मी/व्यवसायीले भोग्दै आएको यो पहिलो समस्या हो । कुनै पनि घरको शौचालयको सेप्टिक ट्याङ्कबाट मानव मलमूत्र झिकेर ल्याएपछि अब कहाँ बिसर्जन गर्ने भन्ने समस्याले सधैं सताउने गरेको सेप्टिक ट्याङ्क सफाइकर्मीहरु बताउँछन् । काठमाडौ उपत्यका लगायत अन्य शहरी क्षेत्रमा पनि दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु नहुँदा एक ठाउँमा जम्मा भएको मानव मलमूत्र खाली गरेर अर्को ठाउँमा स्थानान्तर गरे जस्तो काम मात्र भईरहेको छ ।
सुरक्षात्मक सामग्रीहरुको अभाव
मानव मलमूत्रले भरिएको सेप्टिक ट्याङ्क सफाइ गर्ने काम आफैमा जोखिमपूर्ण काम हो । झनै सफाइकर्मीहरुसँग सुरक्षात्मक सामग्रीहरु समेत नहुँदा थप स्वास्थ्य जोखिमको सामना गरिरहनु परेको छ । पर्याप्त साधन स्रोतको अभावमा सफाइकर्मी सुरक्षात्मक सामग्रीहरु (पन्जा, मास्क, गम्बुट, हेल्मेट) बिनै काम गर्न बाध्य छन् । यसले उनीहरुको स्वास्थ्यमा झनै खतरा उत्पन्न हुने जोखिम कायमै छ ।
दुर्घटना र मृत्युको जोखिम धेरै

सेप्टिक ट्याङ्कको फेदमा जमेको दिसाजन्य लेदो निकाल्नका लागि कहिलेकाही सेप्टिक ट्याङ्क भित्रै छिर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा ज्यानै जान सक्ने खतरा हुन्छ । सफाइकर्मी धन माझी भन्नहुन्छ ‘एक पटक म सेप्टिक ट्याङ्क भित्र अक्सिजन अभावमा निस्सासिएको थिएँ, सेप्टिक ट्याङ्क कम गहिराइको थियो र हतार हतार फुत्त बाहिर निस्कन सकें ।’ उहाँले यस क्षेत्रमा कतिबेला दुर्घटना हुने टुङ्गो नहुने र ज्यानै जान सक्ने सम्भावना हुने बताउनुभयो । यी बाहेक विजुलीको लाइन सर्ट भएर करेन्ट लाग्न सक्ने, सेप्टिक ट्याङ्को स्ल्याबहरु भाँचिएर खस्न सक्ने, हात खुट्टामा घाउ, चोट पटक लाग्ने लगायत थुप्रै दुर्घटना जोखिमहरु हुन्छन् ।
सामाजिक हेयको पेशा/व्यवसाय
सफाइक्षेत्रमा काम गर्ने भन्ने वित्तिकै समाजले गर्ने व्यवहार नै छुट्टै हुने उनीहरुको अभाव छ । आफ्नै घरको शौचालयको सेप्टिक टयाङ्क सफा गरेपछि पनि पैसा दिने क्रममा दुई तला माथिको झ्यालबाट मिल्काईदिने गरेको सफाइकर्मी धन माझीले बताउनुभयो । सफाइक्षेत्रमा विगत दुई दशकदेखि क्रियाशील सुनिल बस्नेतका अनुसार सामाजिक हेयकै कारण लुकेर काम गर्नुपर्ने अवस्था रहेको छ । ‘के काम गर्छौ ? भनेर कसैले सोध्यो र यो क्षेत्रमा भन्यो भने नाक खुम्च्याएर उता पट्टि फर्किन थाल्छ, हामीले लुकेर काम गर्नुपर्ने अवस्था छ’ उहाँले भन्नुभयो ।
छैन दुर्घटना तथा जीवन बीमा
सफाइ क्षेत्रमा काम गर्ने श्रमिकले दुर्घटना र मृत्युको जोखिम मोलेर काम गर्नुपर्ने भएपनि अहिलेसम्म दुर्घटना तथा जीवन बीमा नभएको सफाइकर्मी बताउँछन् । कथंकदाचित दुर्घटना भएर ठूलै घाउ चोटपटक लागे पनि आफैले उपचार गर्नुपर्छ । कथंकदाचित मृत्यु भईहालेमा पनि जीवन बीमा नभएका हुनाले आश्रित परिवारको विचल्ली हुने अवस्था छ । सफाइकर्मी धन माझी भन्नुहुन्छ ‘अरु केही नभएपनि दुर्घटना तथा जीवन बीमा र उपदानको व्यवस्था भएमा राम्रो हुन्थ्यो, यत्ति भए केटाकेटीलाई पनि केही आश हुन्थ्यो नि ।’
अस्वस्थकर मानवीय आचरण

शौचालयको सेप्टिक ट्याङ् भित्र कण्डम, प्याड, गुट्खाको खोल, खैनीको खोल जस्ता पदार्थहरु समेत हुने र ती मेसिनमा अड्किएर पटक पटक मेसिन बिग्रिने गरेको सफाइकर्मीहरुको अनुभव छ । मानिसको अस्वस्थकर आचरणका कारण आफूहरुले धेरै दुःख पाईरहेको पाईरहेको र कहिलेकाही त काम गर्दा गर्दै मेसिन बिग्रिएर काम नै अधुरो हुने गरेको उनीहरु बताउँछन् ।
संगठित नहुँदा समस्या झन बिकराल
काठमाडौ उपत्यकामा मात्र करिब ५० को हाराहारीमा सेप्टिक ट्याङ्क सफाइ सञ्चालकहरु छन् । उनीहरु मध्ये कुनै सँग एउटा ट्याङ्कर र कुनै सँग २ दुई वटा ट्याङ्कर रहेको उनीहरु बताउँछन् । तर संगठित नभएका कारण यत्ति नै संख्यामा छन् भन्ने एकीन तथ्याङ्क अहिलेसम्म कहीं कतै पनि उपलब्ध छैन ।
सेप्टिक ट्याङ्क सफाइ व्यवसायीहरुको लामो इतिहास भएपनि उनीहरु अहिलेसम्म संगठित भएका छैनन् । संगठित भएर काम गर्दा राज्यले झनै दुःख दिने बुझाइका कारण पनि संगठित हुन नमानेको सेप्टिक ट्याङ्क व्यवसायी सुनिल बस्नेत बताउनुहुन्छ । यस क्षेत्रमा कार्यरत व्यवसायी तथा सफाइकर्मी खुलेर सार्वजनिक नहुँदा उनीहरुका समस्याका बारेमा समेत खुलेर बहस हुन सकेको छैन ।
प्रविधियुक्त नहुँदा समस्यै समस्या

काठमाडौ उपत्यकामा सेप्टिक ट्याङ्क खाली गर्न प्रयोग गरिरहेका सबैजसो ट्याङ्करहरु उक्त प्रयोजनका लागि विकास गरिएको होइन । व्यवसायीले नै आवश्यकता अनुसार मिनी ट्रकमा ट्याङ्कर तथा अतिरिक्त उपकरणहरु (पानी तान्ने मेसिन, पाइप, तार ) लगायत जडान गरेर निर्माण गरिएका हुन् । यो जोडजाम गरेर बनाएको हुनाले काम गर्ने क्रममा धेरै दुःख दिने गरेको उनीहरुको अनुभव छ । पानी तान्ने मेसिनले दिसाजन्य लेदो तान्नुपर्दा विभिन्न विकारहरु अड्किने, बारम्बार तारहरु तानिरहनुपर्ने, बिजुलीको स्वीच अन र अफ गरिरहनुपर्ने भएकाले करेन्ट लाग्ने सम्भावना हुने जस्ता समस्याहरु आईरहने सफाइकर्मीहरु बताउँछन् ।
ट्राफिक प्रहरीको अनावश्यक रोकतोक
सफाइको काम २४ सै घण्टा खुला हुनुपर्ने भएपनि ट्राफिकले रोकेर हैरान बनाउने गरेको उनीहरुको अनुभव छ । गाडीको कम्पनीबाट उत्पादन भएको भन्दा बेग्लै तोडमोड गरेको भन्दै घण्टौं रोक्ने, केरकार गरेर दुःख दिने गरेको र सफाइ गर्न समयमा पुग्न नसकेको उनीहरु बताउँछन् । ‘यो क्षेत्र यस्तो छ कि, ट्राफिकले रोकेपछि चिट नकाटेको दिन हुँदैन, चिट काटेपछि त्यसको पैसा तिर्न, ब्लुबुक, लाइसेन्स लिन जान यत्ति गाह्रो छ कि, त्यसको कुरै नगरौं, जसका कारण हामीले आफ्नो काम निर्वाध तरिकाले गर्नै पाएका छैनौं ।’ सफाइ व्यवसायी सुनिल बस्नेतले भन्नुभयो ।
अनुगमन तथा नियमनको अभाव
सेप्टिक ट्याङ् सफाइ व्यवसायलाई नियमन र व्यवस्थापन गर्न अहिलेसम्म कुनै पनि प्रयास भएका छैनन् । यस क्षेत्रमा बजार सम्भावनाको अध्ययन नै नगरी ट्याङ्कर हालेर काम सुरु गर्ने नयाँ व्यवसायी धेरै आउने क्रममा रहेको र कालान्तरमा काम नभएपछि उनीहरुको लगानी फस्ने सम्भावना पनि धेरै छ । तसर्थ अख्तियारप्राप्त निकायले उनीहरुको नियमन तथा व्यवस्थापन गर्न उनीहरुको माग छ । ‘कसले गर्ने भन्ने कुरा त थाहा भएन, तर कम्तीमा अब सम्बन्धित निकायबाट इजाजत लिएर मात्र सेप्टिक ट्याङ्क सफाइ व्यवसाय गर्नुपर्ने प्रावधान ल्याउनै पर्ने भएको छ’ व्यवसायी सुनिल बस्नेतले भन्नुभयो ।


639 पटक हेरिएको 

